एनआरएनए र टीबीआई ग्रुप (बीबी होल्डिङ) बीच सम्झौता «

एनआरएनए र टीबीआई ग्रुप (बीबी होल्डिङ) बीच सम्झौता

गैरआवासीय नेपाली संघ (एनआरएनए) र टीबीआई ग्रुप (बीबी होल्डिङ) को ३ वटा प्रतिष्ठान बीबी होलिडेज प्रालि, धुलिखेल माउन्टेन रिसोर्ट तथा टीबीआर्ई पब्लिकेसन्सबीच गैरआवासीय नेपाली संघले जारी गरेको परिचयपत्र भएका सदस्यहरूलाई सुविधा दिने सम्बन्धमा बेग्ला–बेग्लै सहमति पत्रमा हस्ताक्षर भएको छ ।
एनआरएनए एवं टीबीआई ग्रुपका अध्यक्ष भवन भट्ट तथा गैरआवासीय नेपाली संघका उपाध्यक्ष सपिला राजभण्डारीको समुपस्थितिमा भएको सहमति पत्रअनुसार टीबीआई गु्रपका ३ वटा प्रतिष्ठानले गैरआवासीय नेपाली संघका पञ्जीकृत सदस्यहरूलाई विशेष छुट दिने भएका छन् ।
अब उपरान्त संघले प्रदान गरेको परिचयपत्र भएका व्यक्तिहरूले धुलिखेल माउन्टेन रिसोर्टको कोठामा २० प्रतिशत र खाना तथा पेय पदार्थमा १० प्रतिशत, टीबीआई पब्लिकेसन्सको प्रकाशनको विज्ञापनमा ३० प्रतिशत एवं ग्राहक बन्दा २० प्रतिशत छुट पाउने भएका छन् ।
साथै बीबी होलिडेजले त्यस्तो परिचयपत्र बाहकहरूलाई विशेष सहुलियती सेवा दिने भएको छ । संघले पञ्जीकृत सदस्यहरूका लागि रिएबल क्विक रेसपन्स (क्युआर कोड) सहितका कार्ड वितरण गरिरहेको छ ।
सहमतिपत्र हस्ताक्षर समारोहमा बोल्नु हुँदै संघका अध्यक्ष भवन भट्टले संघ र टीबीआई ग्रुपबीचको सहमतिबाट दुवै संस्था उद्देश्य प्राप्तिमा सहयोग मिल्ने धारणा राखेका थिए । उनले आफू अध्यक्ष रहेको दुवै संस्थाहरूबीच औपचारिक सहकार्य सुरु भएकोमा खुसी व्यक्त गरे । उनले भविष्यमा यीबाहेक सञ्चालनमा आउने बीबी होलिडेजका कम्पनीहरूबाट पनि यस्तै प्रकारको सहुलियत तथा सेवाहरू उपलब्ध गराइने जानकारी गराउने बताए ।
सो अवसरमा संघकी उपाध्यक्ष सपिला राजभण्डारीले संघले पञ्जीकृत सदस्यहरूलाई क्युआर कोडसहितको परिचयपत्र उपलब्ध गराउन थालेको र ती परिचयपत्र बाहकहरूले नेपाल र विदेशमा कार्यरत विभन्न फर्म तथा कम्पनीका वस्तु र सेवामा सहुलियत प्राप्त गर्दा संघको सदस्यता अभियानलाई समेत सहयोग पुग्ने जानकारी दिइन् ।
उनले सदस्यहरूलाई सुविधा प्रदान गर्ने अभियानको सोच पहिलेदेखि नै भएको तर विविधीकारणले गर्दा त्यसताका सुरुवात गर्न नसकेको तर यस कार्यकालमा एक उपसमिति बनाइ अभियानलाई तीव्रता दिएको बताइन् । उपपाध्यक्ष राजभण्डारीले हालसम्म ७८ वटा मुलुकमा संघको सञ्जाल स्थापित भइसकेको र हाल ७० हजार पञ्जीकृत सदस्यहरू रहेको बताइन् ।
उनले सबै पञ्जीकृत सदस्यहरूका लागि ग्लोबल परिपत्र उपलब्ध गराउने कार्य भइरहेको र कतिपय एनसीसीहरूका पञ्जीकृत सदस्यहरूले ग्लोबल परिपत्र प्राप्त गरिसकेका र अन्य एनसीसीहरूको परिचयपत्र तयारीका क्रममा रहेको जानकारी दिँदै यस कार्यबाट भविष्यमा पञ्जीकृत सदस्यहरूको संख्यामा उल्लेखनीय वृद्धि हुने विश्वास प्रकट गरिन् ।
सहमति पत्रमा संघको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडी र टीबीआई गु्रप (बीबी होलडिङ) का तर्फबाट प्रबन्ध निर्देशक शिशीर भट्टले हस्ताक्षर गरेका थिए । सहमतिपत्र हस्ताक्षर भएपछि उनीहरूले यस सहमतिबाट दुवै संस्थाबीचको सम्बन्ध विस्तार भएको र यसले गैरआवासीय नेपाली अभियानमा थप योगदान पुग्ने विचार प्रकट गर्दै खुसी व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्