बन्ला त नेपाल उत्कृष्ट गन्तव्य ?

मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भइरहेको छ । यसअन्तर्गत हिजो (आइतबार) ३२ जिल्लामा निर्वाचन सम्पन्न भएको छ भने यही २१ गते ४५ जिल्लामा दोस्रो चरणको निर्वाचन हुँदैछ ।
पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेपनि दोस्रो चरणका लागि सबैजसो राजनीतिक दलहरू आफ्नो घोषणापत्र लिएर गाउँसहर घुम्दै आएका छन् । यसपटकको चुनावमा सबै राजनीतिक दलहरूले पर्यटनलाई देशको अर्थतन्त्रको बलियो आधारका रूपमा लिएका छन् ।
देशभर चुनावी सरगर्मी बढिरहेका बेला पर्यटन क्षेत्रमा पनि यसको प्रभावले नछुने कुरै भएन । पर्यटन व्यवसायीहरू राजनीतिक स्थायित्व पर्यटन क्षेत्रमा देखिएका समस्याहरूका विषयमा व्यवहारिक र प्रभावकारी कानुनको खाँचो रहेको बताइरहेका छन् ।
विभिन्न राजनीतिक दलहरूले आ–आफ्ना दलका घोषणापत्र सार्वजनिक गरिरहेका छन् । यस्तोमा सधैं जसो राजनीतिक दलको आँखाबाट ओझेलमा पर्दै आएको पर्यटन क्षेत्रलाई पछिल्लो समयमा भने राजनीतिक दलले समेट्न थालेको छ ।
यो पटक विभिन्न राजनीतिक दलहरूको घोषणापत्रमा जिडिपीमा २.९ प्रतिशत योगदान गर्दै आएको पर्यटन क्षेत्रमा गुणात्मक परिवर्तन गरी ठूलो संख्यामा पर्यटक भित्र्याउने लक्ष्य राजनीतिक दलहरूले लिएका छन् ।
दलहरूले आफ्नो घोषणापत्रमा पर्यटन प्रवद्र्धनका महत्वाकांक्षी योजना अघि सारेका हुन् । नेपाली कांग्रेस, वाम गठबन्धन, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा प्रजातान्त्रिक र नयाँ शक्ति पार्टीले आफ्नो चुनावी घोषणपत्रमार्फत यस्ता विषयलाई अघि सारेका छन् ।
वाम गठबन्धनले आउँदो १० वर्षभित्रमा वार्षिक ५० लाख र नेपाली कांग्रेसले ३२ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएका छन् ।
नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पूर्व–पश्चिम हिमाली क्षेत्रमा ‘बृहत् पर्यटकीय पदमार्ग’ निर्माणदेखि पुरातात्विक एवं सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्य जैविक विविधतालाई पर्यटनसँग जोडी आवश्यक पूर्वाधार निर्माणमा सबै दलको जोड छ ।
नेपाली कांग्रेसले आगामी १० वर्षमा ३२ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाललाई आन्तरिक पर्यटन, छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय पर्यटकको गन्तव्यस्थल बनाउनका लागि पर्यटकीय पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई वर्षमा पाँच दिन घुमघाम बिदा, २५ हजार नगद प्रोत्साहन दिइने कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ । कांग्रेसले नयाँ गन्तव्यमा होटल तथा होमस्टेमा लगानी प्रोत्साहन गर्ने, पवित्र धार्मिकस्थल लुम्बिनी, जनकपुर, पशुपतिनाथ, मुक्तिनाथ, खप्तड क्षेत्रजस्ता धार्मिक, पुरातात्विक तथा पर्यटकीयस्थलमा पूर्वाधार विकासमा जोड दिएको छ ।
पर्यटन विस्तारका लागि नेपालसँग मिल्दोजुल्दो संस्कृति भएका दक्षिण पूर्वी एसियाली देशहरूबाट मध्यमवर्गीय पर्यटक आकर्षण गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेमा समेत कांग्रेसले जोड दिएको छ ।
वाम गठबन्धनले आगामी १० वर्षमा ५० लाख पर्यटक भित्र्याउने गरी प्रचारप्रसार, बजार प्रवद्र्धन, पूर्वाधार निर्माणलाई विशेष प्राथमिकताका साथ अघि बढाउने घोषणपत्रमा उल्लेख गरेको छ ।
घोषणापत्रमा अन्तर्राष्ट्रिय सम्पर्कका लागि हवाई र जलमार्ग निर्माणलाई जोड दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विस्तार तथा स्तरोन्नति र आगामी पाँच वर्षभित्र निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने जनाइएको छ ।
त्यस्तै, दुई वर्षभित्र भैरहवा र तीन वर्षभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने, सबै आन्तरिक विमानस्थललाई आधुनिक सुविधासम्पन्न बनाइने लक्ष्य गठबन्धनले लिएको छ ।
नेपाल वायु सेवा निगमको विमान संख्या बढाई निजी क्षेत्रका हवाई सेवालाई प्रोत्साहन गर्नुका साथै कोशी, गण्डकी र कर्णाली नदीमा आन्तरिक र बाह्य जलमार्गका सम्भाव्यता अध्ययन गरिने तथा उच्च बाँधयुक्त जलाशयमा जलमार्गको विकास गरिने वामको घोषणपत्रमा उल्लेख छ ।
‘हिमाली पर्यटकीय पदमार्ग’ प्राथमिकता
पर्वतारोहण, पदयात्रा तथा हिमाल अवलोकनलाई थप आकर्षक र सुरक्षित बनाउने, पर्यटनको विकासका लागि ताप्लेजुङदेखि दार्चुलासम्म जोड्ने गरी ‘हिमाली पर्यटकीय पदमार्ग’ निर्माण गरिने योजना छ । उक्त घोषणापत्रमा लुम्बिनी, पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथ, हलेसीलगायत महत्वपूर्ण पर्यटकीय गन्तव्यको विकास गरिने उल्लेख छ ।
पर्यटन क्षेत्रलाई समेटेर नयाँ शक्तिले काठमाडौंदेखि सगरमाथासम्म केवल कार निर्माणदेखि पूर्व–पश्चिम हिमाली भेगलाई ‘बृहत् हिमाली पदमार्ग’ बनाउने घोषणापत्रमा उल्लेख गरेको छ । दिपायल–खप्तड–रारा, सुर्खेत–जुम्ला, थवाङ हुँदै पोखरा, जोमसोम, विदुर–केरुङ, उदयपुर–ओखलढुंगा–धनकुटा–खाँदबारी केवलकार निर्माण गर्ने नयाँ शक्तिको लक्ष्य छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय पूर्वाधार विकासमा जोड दिएको छ ।
नेपाललाई शैक्षिक पर्यटनको केन्द्रबिन्दु बनाउन अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको समन्वयमा नेपालको पर्यटन क्षेत्रमा उच्च दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाहरू विकास गर्ने नीति घोषणापत्रमा उल्लेख गरिएको छ ।
यता राप्रपा प्रजातान्त्रिकले पर्यटकको संख्या बढाउने तथा नेपाल वायु सेवा निगमको संरचना र व्यवस्थापनमा सुधार गरी थप तीन वटा वाइड बडी विमान आगामी पाँच वर्षभित्र ल्याउने घोषणापत्रमा उल्लेख छ ।
राजनीतिक दलले घोषणापत्रमा उल्लेख गरेका विषयलाई कार्यान्वयनमा ल्याउने हो भने पर्यटन क्षेत्रको प्रवद्र्धन र देशको अर्थतन्त्रमा ठूलो योगदान हुने पर्यटन व्यवसायीहरूको भनाइ छ ।
यो वर्ष १० लाख पर्यटक पुग्दै
सन् २०१७ मा हालसम्मकै धेरै पर्यटक आउने भएका छन् । १० महिनाको पर्यटक आगमनदरमा आएको वृद्धिको तथ्यांक हेर्दा २०१७ को अन्त्यसम्म १० लाख पर्यटक नेपाल भित्रिने देखिएको छ । हालसम्म सवैभन्दा धेरै पर्यटक सन् २०१२ मा ८ लाख ३ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
अध्यगमन विभागको तथ्यांकअनुसार १० महिनामा ७ लाख ५७ हजार ४ सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१६ को १० महिनामा ६ लाख ७ हजार ५ सय ५६ पर्यटकमात्रै नेपाल भ्रमणमा आएका थिए । गत वर्ष को भन्दा १ लाख ४९ हजार ८ सय ९२ पर्यटकले बढी हो ।
सन् २०१६ मा ७ लाख ५३ हजार २ पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुन संख्यालाई सन् २०१७ को १० महिनमै ४ हजार बढी हो । चालू वर्षको १० महिनामध्ये सबैभन्दा बढी अक्टोवरमा विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । जसमा १ लाख १२ हजार ४ सय ९२ पर्यटक नेपाल भ्रमणमा आएका छन् । १० महिनामा सवैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् ।
“सन् २०१७ मा सबैभन्दा धेरै पर्यटक आउने पक्का भएको छ,” होटल संघ नेपालका महासचिव विनायक शाहले भने । अहिलेको आगमनदर हेर्दा १० लाखको हाराहारी पुग्ने देखिएको शाह बताउँछन् । नेपालका अहिलेको होटलको क्षमता भनेको १५ लाख पर्यटक धान्ने रहेको शाहले जानकारी दिए ।
भारतबाटमात्रै १ लाख ३३ हजार २९ पर्यटक नेपाल भ्रमणमा आएका छन् । जुन संख्या चीनको भन्दा ४९ हजार ६ सय ८७ पर्यटकले बढी हो । त्यस्तैगरी चीनबाट ८३ हजार ३ सय ४२ पर्यटक नेपाल भ्रमणमा आएका छन् । त्यस्तै तेस्रोमा अमेरिकाबाट नेपाल भ्रमणमा आएका छन् ।
अमेरिकाबाट मात्रै १० महिनामा ६५ हजार २ सय ४ पर्यटक नेपाल भ्रमणमा आएका छन् । चौथोमा श्रीलंकाबाट ४१ हजार १ सय २६ पर्यटक नेपाल भ्रमणमा आएका छन् । त्यस्तैगरी बेलायतबाट ४० हजार ३ सय ४४ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।