सगरमाथा आरोहण उत्साहजनक

मौसम अनुकूल हुँदा चालू सिजनमा सगरमाथा आरोहणमा उत्साहजनक सफलता प्राप्त भएको छ । आरोहण सुरु भएको एक सातामै २ सय ७७ भन्दा बढी आरोहीले सगरमाथाको शिखर चुमिसकेका छन् । ५ सय आरोही अझै शिखर पुग्ने अभिलाषामा विभिन्न क्याम्पमा छन् ।
चालू सिजनमा सबैभन्दा बुधबार एकै दिन ९४ जनाले आरोहण गरेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । यसवर्षको आरोहणमा मौसमको साथ रहेकोले ४ सय भन्दा बढी सगरमाथा आरोहणमा जाने अनुमान रहेको श्रेष्ठको भनाइ छ । अनुमति लिनेहरु ३ सय ४६ जना रहे पनि गाइडसहित सगरमाथा आरोहण गर्न अझै ५ सय जना लाइनमा छन् ।
यसवर्ष गत आइतबारदेखि सगरमाथा आरोहण सुरु भएको हो । जसमा आइतबार ८ जना, सोमबार २९, मंगलबार भने आरोहण हुन सकेको थिएन भने बुधबार ९४ जनाले आरोहण गरेका थिए । बिहीबार ६५ जनाले सफल आरोहण गरेका थिए । यस्तै, शुक्रबार १८ जनाले सगरमाथाको आरोहण गरेका थिए भने शनिबार पनि ३ दर्जनभन्दा बढीले आरोहण गरेका छन् । यो सिजनमा ३ सय ४६ जनाले आरोहण अनुमति लिएका छन् ।
विदेशी ३४ समूहका ३ सय २६ जनाले आरोहणका लागि अनुमति लिएर आरोहणतर्फ लागेका छन् । यस्तै, ४ समूहका २० जना नेपालीले पनि आरोहणका लागि अनुमति लिएर आरोहणतर्फ लागेका थिए । जेठ १५ सम्म रहने आरोहणबाट अहिले १ सयभन्दा बढी बेसक्याम्पबाट फर्किसकेका छन् । नेपालमा आरोहणका लागि आउने पर्यटकहरु कम्तीमा ४५ दिनदेखि ७५ दिन सम्म बस्ने गरेका छन् ।
गतवर्ष सन् २०१७ मा ३ सय ६७ जनाले आरोहण अनुमति लिएका थिए । जसमा १ सय ७३ जनाले विश्वकै सर्वोच्च शिखर ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको सफल आरोहण गरेका थिए । सन् २०१४ र २०१५ मा अनुमति लगेको भएपनि भूकम्प तथा हुदहुदका कारण आरोहण रोकिएको थियो ।
कारोबारकर्मी श्रेष्ठ शिखरमा |