प्रमज्यू, मलाई जागिर चाहिएन, उत्तर दिनुहोस् «

प्रमज्यू, मलाई जागिर चाहिएन, उत्तर दिनुहोस्

प्रधानमन्त्री केपी ओलीज्यू, तपाईंमाथिको आशा र विश्वास नागरिकले चुनावमा देखाए । ३ करोड व्यक्तिको आशा निराशामा परिवर्तन हुँदैन भन्ने अपेक्षामा बसेका छन् उनीहरू भन्ने कुरा त यहाँलाई राम्रैसँग अवगत छ । राज्य विकसित÷धनी भए मेरा सन्ततिले त्यसको फाइदा लिने अवश्य नै छन् । मलाई राज्यले रोजगारी दिएन र अब चाहिएन, केवल उत्तरको अपेक्षामा छु ।
आर्थिक गरिबीका कारण उपचार अभावमा ५६ वर्षको उमेरमा बुबाको निधन भयो । निधन हुनुभन्दा झन्डै चार वर्षअघिदेखि प्यारालाइसिसका कारण उहाँको देब्रे हात र देव्रे खुट्टा नचल्ने भएको थियो । बुबासँग साथी जानुभएको दाइले मलाई सुनाउनुभएअनुसार घरदेखि ४ घण्टा टाढा पर्ने औषधि पसलमा गई औषधि पसलेलाई बुबाले आफ्नो उपचार गरिदिन भन्नुभयो । औषधि पसलेले आफूले उक्त रोगको उपचार गर्न नसक्ने र उपचारका लागि पोखरा जानुपर्ने जानकारी दिए । पैसा भएको भए सो कुरा आफूले पनि जानेको भन्दै एउटा सुई जसै लाइदेऊ भनेर निकै अनुरोध गरेपछि थाहा छैन के सुई लाएर घर पठाइदिए औषधि पसलेले । म सात वर्षको हुँदा बुबाको निधन भएपछि निरक्षर आमाको अभिभावकत्वमा हुर्कें । बिहान–बेलुका र बिदाका दिन घाँस, दाउरा, खेतबारीको काम गर्दै घरदेखि झन्डै दुई घण्टाको दूरीमा पर्ने स्कुलमा गई स्कूलको अध्ययन पूरा गरें ।
क्याम्पस पढ्न पोखरा आएपछि म एक जना नेवार परिवारको घरमा ब्लक र जस्ताले बनेको कोठा भाडामा लिई सोही घरधनीको फर्ममा काम गर्दै आफ्नो अध्ययनलाई अगाडि बढाएँ । घरधनी निकै धनी हुनुहुन्थ्यो । प्रशस्त जग्गा–जमिन थियो, प्रशस्त सेयर लगानी पनि । झन्डै करोड रुपैयाँ पर्ने त गाडी चढ्नुहुन्थ्यो उहाँ । तारे होटलमा स्वीमिङ गर्न जाने र लामो बिदामा विभिन्न स्थान घुम्न जाने गर्दै उहाँहरूका बिदाका दिन बित्दथे । उक्त घरधनीका छोरा पनि म बराबर पढ्ने रहेछन् । महँगो फी तिर्ने स्कुलबाट एसएलसी पास गरेका उनी ११ कक्षा पनि महँगै शुल्क तिर्ने क्याम्पसमा भर्ना भएका रहेछन् । मेरो मासिक सम्पूर्ण खर्चजति त ती भाइको खाजा खर्च हुन्थ्यो होला । मैले लामो समय घरधनीको अफिसमा नै काम गर्दै फुर्सदको समयमा पढ्दै स्नातकसम्मको अध्ययन पूरा गरें ।
गत वर्ष लोकसेवामा नासुको परीक्षा घरबेटी भाइ र म दुवै जनाले दियौं । लिखितमा दुवै जनाको नाम निस्कियो, मेरो खुलातर्फ र घरबेटी भाइको जनजातितर्फ । अन्तर्वार्तापछि मेरो नाम वैकल्पिकमा प¥यो, भाइको भने निस्कियो । हाल उनी नियुक्ति पाएर जागिर गर्दै छन् । घरबेटी आन्टी भन्दै हुनुुहुन्थ्यो— उसको तलब त उसकै पकेट खर्चका लागि ठिक्क हुन्छ । फेरि–फेरि प्रयास गर्दै बस्नका लागि मलाई आर्थिक अभाव भयो ।
अब मलाई यो जुनीमा नेपाल सरकारको जागिर चाहिएन । म दुबई जाँदै छु रोजगारीका लागि, त्यहाँ मेरो जातका मान्छेलाई पनि समान रोजगारी मिल्छ रे । मिल्छ भने मेरा छोराछोरीलाई नेपालमै रोजगारीका लागि समान अवसर दिनुहोस् । प्रमज्यू, हजुरले भनेजस्तै ट्याक्सी ड्राइभरले हजुरलाई भोट दिए कि दिएनन् भनी सोधेका छन् । म यहाँलाई सोध्दै छु— उपचार अभावले अल्पायुमै मरेका मेरा गरिब बुबा वा गोठालो बनेर क्याम्पस पढेको मेरो के दोष ? जसका कारण मलाई राज्यले रोजगारीका लागि दोस्रो प्राथमिकतामा राखेको छ ?
सुरेश लम्साल
चापाकोट, स्याङ्जा

प्रतिक्रिया दिनुहोस्