एआईमा आधारित बैंक, एआई नै सीईओ «

एआईमा आधारित बैंक, एआई नै सीईओ

चीनको संघाईस्थित जिउजियाङ रोडस्थित चाइना कनस्ट्रक्सन बैंकको शाखा कार्यालयमा नयाँ कामदार सियाओ लङ नियुक्त भएकी छिन् । सियाओ काममा कहिल्यै ढिला हुँदिनन् । संघाई शाखामा आउने ग्राहकहरूलाई सेता दाँत टल्काउँदै उनले भन्ने गर्छिन्, “वेलकम टु चाइना कन्स्ट्रक्सन बैंक । ह्वाट क्यान आइ हेल्प यु विद टुडे ?”
संघाई बैंकमा आउने ग्राहकलाई स्वागत गर्ने सिआयो वास्तविक मानव नभएर कृत्रिम मानव हुन् । उनी मान्छे नै नभएको चीनको पहिलो बैंक शाखामा क्रियाशील एक रोबोट हुन् । बैंकको एक अभिभावकजस्तै उनी ग्राहकहरूसँग कुराकानी गर्छिन्, बैंकका कार्ड लिन्छिन्, बैंक खाता जाँच गरी आवश्यक आधारभूत सवालहरूको जानकारी दिन्छिन् । उनीसँगको संक्षिप्त एवं तीव्र कुराकानीपछि ग्राहकहरू विद्युतीय ढोकाबाट भित्र प्रवेश गर्छन् । यो प्रवेशद्वारमा उनीहरूको अनुहार र बोक्ने परिचयपत्रको विद्युतीय उपकरणको माध्यमबाट जाँच पहिचान (स्क्यान) हुन्छ । एकपटक छिरिसकेका ग्राहकको हकमा भने ढोका खोल्न अनुहार नै काफी हुन्छ ।
बैंकभित्र पनि बैंकले उपलब्ध गराउने सेवाका लागि कोही मान्छे फेला पर्दैन । सबै रोबोटहरूले नै सेवा उपलब्ध गराउँछ । खाता खोल्नपर्ने भो, रकम स्थानान्तरण गराउनुपर्ने भो वा विदेशी मुद्रा लिनुपर्ने जस्ता सेवाका लागि स्वचालित मेसिन अटोमेटेड टेलर मेसिन (एटीएम)ले काम गर्छ । भित्र अर्को एक रोबोट प्रतिक्षा गरिरहेको हुन्छ । त्यहाँ भर्चुअल रियालिटी रूम छ । ग्राहकहरूले मानिससँग कुरा गर्न चाहेमा जान सक्छन् । रोबोटले चलाएको बैंकमा सेक्युरिटी क्यामराहरू व्यापक जडान गरिएका छन् । लबीमा मात्रै ८ क्यामरा जडान गरिएको देखियो । कुनै ठाउँमा धेरैबेर अल्मलिएर बसेको वा क्यामरा तान्न खोजे त्यहाँ आँखाबाट ओझेल बसिरहेका मानव सुरक्षा गार्ड उपस्थित भइहाल्छन् ।
बैंकले अनलाइन सेवा दिइरहेकाले शाखा कार्यालयमा त्यसै पनि कमै मान्छे आउँछन् । कुनै काम गर्न अनलाइन सेवाबाट ३० सेकेन्डमात्र खर्च हुन्छ । कुनै काम परेर जानुपर्ने भयो भने लाइन लाग्नु पर्ने छैन । कृत्रिम बौद्धिकता (एआर्ई)मा आधारित रोबोटको विकासमा चीनले ठूलो लगानी लगाइरहेको छ । चीनले रोबोटहरूको प्रयोग विभिन्न ठाउँमा गरिरहेको छ । चीनमा भोजनालय वा रेस्टुरेन्टहरूमा वेटर र गार्डको काम पनि रोबोटले गर्न थालेको छ ।
इ–कमर्सको विशाल कम्पनी जेडी डटकमका प्रमुख कार्यकारीले हालै खुद्रा उद्योगमा क्रियाशील कामदारहरूको विस्थापन रोबोटहरूले गर्ने पूर्वानुमान गरेका छन् । यसो हुँदा सन् २०२० सम्म मान्छे बिनाको चीनको खुद्रा क्षेत्रको आकार तीन गुणाले विस्तार भई ७.५ अर्ब पाउन्ड स्टर्लिङ अर्थात् ६५ अर्ब युयान बराबरको हुने आईरिसर्चले जनाएको छ । औद्योगिक क्षेत्रका भान्सा कोठा होस् वा रेस्टुरेन्टका भान्सा कोठा होस्, दुवै भान्सा कोठाहरूमा रोबोटहरूको प्रयोग भइरहेका छन् । गत वर्ष समग्र रूपमा स्वचालित कारखानाको एक भिडियो चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
चीनमा उदीयमान रोबोट उद्योग बेइजिङ अर्थतन्त्रको महत्वाकांक्षाको एक अंग बन्न पुगेको छ । बेइजिंगको रोबोटिक उद्योग विकासको योजना पाँच वर्षे कार्यक्रम अनुसार तय गरिएको छ । यो योजना अनुसार सन् २०२० सम्ममा कम्तीमा १ लाख औद्योगिक रोबोटको उत्पादन गर्ने लक्ष्य तय गरिएको छ । आंशिक रूपमा देशको कमजोर उत्पादनमूलक क्षेत्रलाई पुनःजीवित बनाउने लक्ष्य पनि हो । भसार कलेजमा भूविज्ञान एवं भूगोल विभागका प्रोफेसर झाउ भन्छन्, “एआर्ई एवं रोबोटको युगमा चीन स्पष्ट रूपमा विश्वको उदीयमान नेताको रूपमा अगुवाइ गर्न खोजेको देखिन्छ ।” चीनले यसो गर्नुको पछाडि ज्यालामा वृद्धि भइरहेको छ । जसले गर्दा चीनमा सस्तो श्रमको अभाव भइ आएको छ । रोबोटतिर चीनको झुकाव हुनु भनेको मूल्य शृखंलामा भइरहेको परिवर्तन रहको उनले जनाए ।
महँगो श्रमलाई विस्थापित गर्नुपर्ने भएर स्वचालित एवं रोबोट स्वाभाविक क्षेत्र बनेर आएको छ । बढी क्षमतावान भइ रोबोटले सस्तो उत्पादन गराउन राम्रो बाटो देखिएको छ । अन्तर्राष्ट्रिय रोबोट महासंघका अनुसार चीन विश्वको रोबोटिक बजारमा ३० अर्ब अमेरिकी डलरबराबरको हिस्सा रहेको छ । यो रोबोटिक बजारको सबैभन्दा ठूलो हिस्सा हो । ताइवानको उत्पादक कम्पनी फक्सकनले यन्त्रश्रमलाई ल्याएर हजारौंको संख्यामा मानव श्रमलाई विस्थापित गर्ने योजना सार्वजनिक गरेको छ । जनाइएअनुसार ४० हजार कारखाना रोबोट तैनाथ गर्दै कम्पनीले सन् २०२० मा ३० प्रतिशतलाई स्वचालनमा लाने जनाएको छ । रोबोट युगको उदयको सम्बन्ध अनुहार पहिचान र एआर्ईमा सार्वजनिक र निजी लगानीको विषय पनि जोडिएको छ ।
चीनका शेन्झेन, संघाइ र बेइजिङका स्थानीय पदाधिकारीहरूले अनुहार पहिचानको विधिलाई उपयोग गरिरहेका छन् । कुनै मानिसले गैरकानुनी तरिकाले बाटो काटेमा त्यस्ताको फोटो खिच्ने, त्यसलाई सार्वजनिक गर्ने र त्यसका लागि जरिवाना गराउने कामसम्मका लागि रोबोट र एआर्ईको प्रयोग स्थानीय तहका पदाधिकारीहरूबाट भइरहेको छ । यसैबीच केएफसीको हाङझउ शाखाका ग्राहकहरूले आफ्नो अनुहार पहिचानका आधारमा भुक्तानी गर्छन् । टेनसेन्ट लगायतका चीनको खुद्रा व्यापार कम्पनीहरू पनि क्यासियर बिनाको स्टोर सञ्चालन गर्ने विषयमा परीक्षण गरिरहेका छन् । तर उद्योगको वृद्धिको पागलपनले केही चासोका कारणहरू पनि दर्शाइरहेको छ ।
अक्सफोर्ड युनिभर्सिटीमा फ्युचर अफ ह्युमानिटी इन्स्टिच्युटका अनुन्धानकर्ता जेफ्री डिङ भन्छन्, “परिमाणका लागि गुणस्तरीयताको त्याग गर्ने जोखिम छ । एआर्ई र रोबोटले बढ्दो सामाजिक र सम्पत्तिको विभाजनलाई कस्तो दुरावस्थामा पु¥याउने हो, त्यसबारेको चिन्ता र चासो बढाएको छ । उनका अनुसार गोपनियताको उल्लंघन चीनमा बढ्दै गएको छ । चाइना इकोनोमिक लाइफ सर्भे नामक एक राष्ट्रिय सर्वेक्षण संस्थाले गरेको अध्ययनअनुसार ८० प्रतिशत चिनियाँ उपभोक्ताले एआर्ईको विकासले आफूहरूको गोपनियतामा गम्भीर खतरा उत्पन्न भएको बताए ।
चीनका विभन्न ठाउँमा प्रयोग भएका रोबोटले थुपार्न खोजेको समस्याजस्ता चाइना कन्स्ट्रक्सन बैंककी सियाओ लङ कुनै पनि मानिसका लागि समस्या भने उत्पन्न गरेकी छैनन् । “इफ यु ह्याव एनी क्वेस्चन जस्ट आस्क मी भनेर सियाओले ग्राहक अगाडि मुस्कुराउने र आँखा झिम्काउने गर्छिन् । भविष्यमा क्यारियर के हुने भन्ने चिन्ता भने उनलाई छैन ।

प्रतिक्रिया दिनुहोस्