ऐतिहासिक निर्वाचनको पहिलो चरण शान्तिपूर्ण र उत्साहजनक «

ऐतिहासिक निर्वाचनको पहिलो चरण शान्तिपूर्ण र उत्साहजनक

केही छुटफुट घटनाबाहेक पहिलो चरणमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण तथा उत्साहजनक रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । ३२ जिल्लामा भएको निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मत खसेको आयोगको अनुमान छ ।
आयोगको केन्द्रीय कार्यालयमा आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले यो प्रारम्भिक जानकारी रहेको भन्दै कतिपय ठाउँको जानकारी आउन बाँकी रहेको बताए ।
६ वटा प्रदेशका ३२ जिल्लाका ३७ प्रतिनिधि सभा सदस्य र ७४ प्रदेशसभा गरी यो निर्वाचनबाट १११ जना जनप्रतिनिधि चुनिनेछन् । पहिलो चरणको यो निर्वाचनमा जम्मा ७०२ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । जसमध्ये ५९१ जना उम्मेदवारले हार व्यहोर्नुपर्ने निश्चित छ । यद्यपि मतगणना भने दोस्रो चरणमा मंसिर २१ को निर्वाचन पछिमात्रै हुने निर्वाचन आयोगले यसअघि नै जनाइसकेकाले परिणाम पनि त्यसपछि नै आउनेछ । चुनावमा कसले जित्यो भन्ने थाहा पाउन कम्तीमा ११ दिन कुर्नुपर्नेछ । दोस्रो चरणमा ४५ जिल्लामा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।
पहिलो चरणको निर्वाचनका लागि दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्रमार्फत मतदान गर्ने व्यवस्था निर्वाचन आयोगले मिलाएको थियो । हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको हो । मतदान सकिएका अधिकांश मतदान केन्द्रबाट मतपेटिका शिल गरी सदरमुकाम पठाइएको छ । हेलिकोप्टर प्रयोग गर्नुपर्ने उच्च हिमाली क्षेत्रका मतपेटिका भने सोमबारमात्रै सदरमुकाम ल्याइने निर्वाचन आयोगले जनाएको छ ।
मुलुकमा पछिल्लोपटक प्रतिनिधिसभाको निर्वाचन २०५६ सालमा १८ वर्षअघि भएको भए पनि प्रदेशसभाको लागि निर्वाचन भएको भने पहिलो पटक हो । त्यसबेलाको संरचना अहिलेभन्दा फरक थियो ।
विभिन्न जिल्लामा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको कारोबार संवाददाताहरुले जनाएका छन् । रुकुम संवाददाता मेगराज खड्काका अनुसार रुकुम पूर्वमा ६५ र पश्चिममा ६६ प्रतिशत मत खसेको छ ।
उता, पूर्वको संखुवासभामा पनि ६६ प्रतिशत मतदान भएको छ । १ लाख ५ हजार ८५ मतदाता रहेको जिल्लाका १ सय ५३ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको जिल्ला मुख्य निर्वाचन अधिकृत राउतले जानकारी दिएका छन् ।
सदरमुकाम खाँदबारीबाट ५० कोस दूरीमा रहेको किमाथांका, चेपुवा पावाखोला पाथीभरा, हटियालगायत क्षेत्रबाट मतपेटिका सुरक्षित रूपमा ल्याउन हेलिकप्टर प्रयोग गरिने प्रमुख जिल्ला अधिकारी शिवराज जोशीको भनाइ छ ।
गोरखा संवाददाता अनुपमा खनालका अनुसार जिल्लामा करिब ६२ प्रतिशत भोट खसेको छ । गोरखाका २ सय ८२ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । गोरखामा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाका गरी करिब ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
मतदान सकिएपछि आइतबार नै मतपेटिका संकलनको क्रम सुरु भएको छ । सडक सञ्जालमा नजोडिएका र भौगोलिक रुपले विकट ठाउँका मतपेटिका ओसारपोसारमा हेलिकोप्टर प्रयोग गरिन्छ
लोकतान्त्रिक गठबन्धनबाट गोरखा–१ प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले आरुघाट गाउँपालिकास्थित भीमोदय माध्यमिक विद्यालय मतदान केन्द्रबाट भोट खसाले । उनका मुख्य प्रतिस्पर्धी बाम गठबन्धनबाट गोरखा १ का उम्मेदवार माओवादी केन्द्रका नेता हरिराज अधिकारीले गण्डकी गाउँपालिका ५ दर्बुङस्थित भगवती मावि मतदान केन्द्रबाट मतदान गरे ।
यस्तै, जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पालुङटार नगरपालिका १ खोप्लाङस्थित अन्नपूर्ण मावि मतदान केन्द्रबाट भोट हाले । वाम गठबन्धनबाट गोरखा २ का उम्मेदवार माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका ८ जौबारीको परोपकार आदर्श मावि मतदान केन्द्रबाट भोट हालेका छन् ।
गोरखाको ३ वटा मतदान केन्द्रमा महिला कर्मचारीले चुनाव गराएका छन् । निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत गोरखा नगरपालिका वडा नम्बर ८ को सरस्वती मावि आहाले मतदान केन्द्रमा महिला तथा बालबालिका कार्यालयकी प्रमुख शुसिला वाग्ले, द वल्र्ड क्यापिटल स्कुलको ख केन्द्रमा गोरखा अस्पतालकी डाक्टर अनामिका कर्ण र क्षेत्र नम्बर १ मा पर्ने बालमन्दिर मावि छहरे मतदान केन्द्रमा गोरखा दरबार हेरचाह अड्डाकी प्रमुख मञ्जुसिंह भण्डारी नेतृत्वको टिमले चुनाव गराएको हो । ती मतदान केन्द्रमा मतदान अधिकृत बाहेकका अरु ७ जना कर्मचारी र सुरक्षाकर्मी पनि महिलामात्रै खटाइएको थियो ।
उता, बाजुरामा छिटफुटबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न
भएको छ । जिल्लामा ७६.२० प्रतिशत मत खसेको संवाददाता पदम सिंहले जनाएका छन् । प्रतिनिधि सभा एक र प्रदेश सभा दुई रहेको जिल्लामा ६९ हजार आठ सय ३४ जना मतदाता रहेका थिए । जिल्लामा सुरक्षाको दृष्टिले राम्रो र व्यवथा मिलाए बमोजिम नै भएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए ।
त्यस्तै बैतडीमा पनि शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको संवाददाता नरी बडूले जनाएका छन् ।
म्याग्दीमा पनि शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा मतदान भएको संवाददाता सन्तोष गौतमले जनाएका छन् ।
धादिङमा पनि समयमै मतदान सम्पन्न भएको छ । संवाददाता राजेन्द्र बस्नेतका अनुसार विभिन्न ठाउँबाट मतपेटिका संकलन गर्ने क्रम जारी छ ।
उता, जुम्लामा ५९ प्रतिशत मत खसेको संवाददाता सागर परियारले जनाएका छन् । ५९ हजार ५८ जना मतादातामध्ये ३५ हजार १ सय २४ जनाले मतदान गरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए ।
बागलुङमा पनि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको संवाददाता त्रिलोचन रिजालले जनाएका छन् । जिल्लाभर कुल १ सय ९९ मतदान केन्द्र रहेको र सबै केन्द्रहरुमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए । जिल्लावाट प्रतिनिधि सभाका लागि दुई र प्रदेश सभाका लागि चार प्रतिधिनि चयन हुनेछन् । जिल्लाभर कुल १ लाख ६७ हजार २ सय ९२ मतदाता रहेकोमा करिब ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत प्रकाश प्रसाद अधिकारीले बताए । सोमबार बिहानसम्ममा जिल्लाभरका सम्पूर्ण मतपेटिका सुरक्षित रूपमा बागलुङ बजार आइपुग्ने अधिकारीले बताए ।
हुम्लामा पनि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म शान्तिपूर्ण वातावरणमा जिल्लामा निर्वाचन सम्पन्न भएको राससले जनाएको छ । प्रदेशसभा र प्रतिनिधिसभाको क्षेत्र नं १ मा ५२ मतदान केन्द्रमा २७ हजार ४३५ मतदाता रहेका थिए ।
चंखेल गाउँपालिका–३ को रारा आधारभूत विद्यालय नेखालाको मतदान केन्द्रमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)का कार्यकर्तालगायतले मतदान बहिष्कार गरेका छन् । सो केन्द्रमा ११९ मतदाता रहेका थिए ।
थापागाउँको कैलाश माध्यामिक विद्यालयको ताँजाकोटको केन्द्रमा भने अहिले ८ः३० बजेसम्म निर्वाचन सकिने मा मतदाता संख्या ९४३ रहेको र उक्त केन्द्रमा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताए ।
पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, रूकुम (पूर्वी भाग), रोल्पा, रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडीमा निर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्