विकासको गतिमा बर्दिवास «

विकासको गतिमा बर्दिवास

महेन्द्र राजमार्गमा पर्ने महोत्तरीको बर्दिवास बजार यतिबेला विकासको पर्याय बनेको छ । बर्दिवास–सिन्धुली–काठमाडौं जोड्ने बीपी राजमार्ग सञ्चालन भएपछि बर्दिवास परिवर्तन हुँदै गएको हो । पछिल्लो समय बर्दिवासमा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, खानेपानी, यातायातलगायतका क्षेत्रमा परिवर्तन आएको स्थानीयले पनि अनुभूति गरिरहेका छन् ।

बढ्दै विद्यालय
५ वर्ष पहिले संख्यात्मक हिसाबले थोरै विद्यालय रहेको बर्दिवास नगरपालिकाभित्र अहिले ५२ वटा सामुदायिक र २४ वटा संस्थागत विद्यायल सञ्चालित छन् । बीपी राजमार्ग सञ्चालन भएपछि राजनीतिक पहुँचमा पनि वृद्धि भएका कारण बर्दिवासमा तीव्र गतिमा शैक्षिक रूपान्तरण भएको देउराली मावि बर्दिवासका प्रधानाध्यापक केदार कोइरालाले बताए । बर्दिवासमा प्रदेश नं २ स्तरीय मेडिकल कलेज, ब्यवस्थित कृषि कलेज र पोलिटेक्निकल कलेजका लागि सरकारले स्वीकृति दिइसकेको छ ।
केहीवर्ष पहिले बर्दिवासका स्थानीयलाई उच्च शिक्षा हासिल गर्न काठमाडौं, हेटौंडा, विराटनगरलगायतका सहर जानुपर्ने बाध्यता थियो । अहिले औपचारिक शिक्षासँगै प्राविधिक धारको पढाइ सुरु भएपछि पूर्वको सुनसरीदेखि पश्चिम रोल्पासम्मका विद्यार्थी पशु विज्ञान अध्ययन गर्न बर्दिवास आउने गरेको जनता मावि गौरीडाँडाका प्रधानाध्यापक नेत्र रम्तेलले बताए ।
बर्दिवासमै उच्च शिक्षाको सुविधा भएका कारण यहाँका विद्यार्थीलाई जानुपर्ने बाध्यता हटेको छ । एक सामुदायिक र एक संथागत क्याम्पसमा स्नातक तहसम्मको अध्यापन गराइन्छ । अहिले नगर क्षेत्रभित्र १० कक्षामाथि पढाइ हुने १० भन्दा बढी विद्यालय छन् । सीटीईभीटीबाट मान्यता प्राप्त इन्स्टिच्युटहरूले पनि विभिन्न प्राविधिक धारका विषय सञ्चालन गरिरहेका छन् ।

स्वास्थ्यमा पहुँच
पहिले बर्दिवासमा विशेषज्ञसहितको स्वास्थ्य उपचार सेवा थिएन । सामान्यतया रुघा, खोकी, ज्वरो, निमोनिया, टाइफाइट, झाडापखालाबाहेकका स्वास्थ्य उपचार सेवा चाहिएमा बर्दिवासभन्दा बाहिर गएर स्वास्थ्य सेवा लिनुपर्ने स्थानीयको बाध्यता थियो । बर्दिवासमा विकासको गतिसँगै स्वास्थ्य उपचार सेवामा पनि क्रमिक रूपले सुधार हुदै गएको देखिन्छ ।
अहिलेको अवस्था हेर्ने हो भने बर्दिवासका नागरिकले अस्पतालहरूमा विशेषज्ञसहितको स्वास्थ्य सेवा पाइरहेका छन् । सप्तरीबाट स्वास्थ्य सेवा लिन बर्दिवास आई जटिल मधुमेह रोगबाट उपचार पाएर ठीक भएकी १५ वर्षीय खुश्वु झाले बर्दिवासमै सफल उपचार पाएर काठमाडौं जानुपर्ने झन्झटबाट मुक्त भएकोमा उनका बुबा दधिराम झाले खुशी व्यक्त गरे ।
बर्दिवासमा अहिले एमबीबीएस, एमडी गरेका विभिन्न रोगका विशेषज्ञ डाक्टर उपलब्ध भएका कारण उपचारका लागि आएका बिरामीमा न्युरोे, मुटु, र शल्यक्रिया गर्नुपर्ने ५ प्रतिशत बिरामीबाहेक सबै रोगका बिरामी बर्दिवासमै स्वास्थ्य उपचार सेवा पाउने सिटिकेयर अस्पताल बर्दिवासका प्रमुख डा. हुलास अग्रवालले बताए ।

बजार व्यवस्थापन र रोजगारी
बर्दिवासको मुख्य बजार नै जनकपुर थियो । ५ वर्ष पहिलेसम्म बजार सानो थियो, बुधबार र शनिबार तरकारी बजार लाग्थ्यो, घरमा कुनै कार्य गर्दा चाहिने लत्ताकपडादेखि खाद्यन्नसमेत लिन ३४ किमि टाढा जनकपुर जाने गथ्र्यांै बर्दिवासकी स्थानीय निकिता खनाल अहिले बर्दिवासको मुहार पत्याउनै नसक्ने गरी फेरिएको बताउँछिन् । बर्दिवास नगरक्षेत्र भित्रै अहिले इँट्टा भट्टा, क्रसर उद्योग र विभिन्न घरेलु तथा साना उद्योग सञ्चालनमा छन् । बजार क्षेत्रमा ठूलाठूला हार्डवयर, किराना तथा लत्ताकपडाका पसलहरूले ग्राहकको आवश्यक्ता पूरा गर्न सकेकोमा स्थानीय बर्दिवास बजारमै निर्भर हुन थालेका छन् ।
बर्दिवासमा २ नम्बर प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गर्न सक्ने क्षमता भएका ठूला होटलहरूले आफ्ना सेवा सुविधा थप विस्तार गर्ने तयारी गरिरहेका छन् । बर्दिवासमै पहिलो पटक अत्याधुनिक उपकरणसहितको विशिष्ट व्यक्ति बस्ने कोठा पनि आफ्नो होटलले एक महिनाभित्रै सञ्चालन गर्ने होटल विनायक बर्दिवासका सञ्चालक विष्णु खड्काले बताए । अहिले उक्त होटलले ३५ जना व्यक्तिलाई रोजगारी दिएको छ ।

कृषिमा आत्मनिर्भर
यहाँको मुख्य बाली धान, गहु, तरकारीखेती, माछा पालन, पशु पालन, उखुखेतीलगायतका पेशाको उत्पादनले बर्दिवासलाई धानेको पाइन्छ । पहिलेको तुलनामा अहिले बर्दिवासका किसानहरू कृषि पेशालाई आधुनिक र अर्गानिक ढंगको खेती प्रणालीतर्फ ढाल्ने र व्यवसाय सफल बनाउने होडमा कृषि पेशालाई अंगाल्न युवासमेत इच्छुक देखिन थालेको बर्दिवास–३ पाटुका अगुवा कृषक दीलिप थापाले बताए ।
यहाँ उत्पादित कृषि उपभोग्य सामग्रीले बर्दिवासलाई मात्रै आत्मनिर्भर बनाएको छैन । यहाँ उत्पादित तरकारी, खाद्यन्न, दूधलगायतका उपभोग्य वस्तु बर्दिवास बाहिर सिन्धुली, सर्लाहीमा समेत निर्यात गर्ने गरेको थापाले बताए । सिँचाइको राम्रो व्यवस्था मिलाउन सके बर्दिवासबाट अझै धेरै उत्पादित उपभोग्य वस्तु निर्यात गर्न सकिने किसानहरूको विश्वास छ । अहिले बर्दिवासको किसाननगर, पशुपतिनगर, विजलपुरालगायतको ठाउँमा सिँचाइको राम्रो सुविधा पुग्न नसकेको किसानको गुनासो छ ।

समृद्ध बर्दिवासका आधार
बर्दिवासको किसाननगर, पशुपतिनगर, विजलपुरालगायतका ठाउँमा सिँचाइ असुविधा भएकाले नगरपालिकाले सिँचाइको व्यवस्था गर्ने योजना बनाइसकेको जनाएको छ । कृषिमा भूउपयोग नीति लागू गरिने, कृषिका फार्म निर्माण गर्ने, कृषि उपभोग्य वस्तु संकलन केन्द्र बनाउने ५ वर्षे योजना रहेको मेयर विदुर कार्कीले बताए ।
स्वास्थ्यमा सबै नागरिकले सबैखाले उपचार बर्दिवासमै पाउनसक्ने गरी आफूले योजना बनाएको कार्कीको भनाइ छ । योग शिविर स्थापना गरी सञ्चालन गरिने र नागरिकलाई स्वस्थ रहन सचेत गराउने, आयुर्वेद उपचारलाई बढी प्राथमिकतामा राखी दिगो स्वास्थ्य नीति लागू गरी आफूले काम गर्ने कार्कीले बताए ।
अस्तव्यस्त हिसाबले चलेका विद्यालयलाई यसै वर्षबाट व्यवस्थित गर्न आफू लागिपरेको भन्दै व्यावसायिक तवरले चलेका विद्यालयहरूलाई सेवामूलक विद्यालय बनाउने योजना रहेको कार्कीले सुनाए । शैक्षिक हवको केन्द्र बर्दिवासलाई बनाउने नीतिअनुसार बर्दिवासलाई अबको ५ वर्षमा शैक्षिक सहर बनाएरै छाड्ने उनको दाबी छ ।
महोत्तरीका सांसद तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल बर्दिवास व्यापारिक र शैक्षिक ग्रिनसिटिका रूपमा स्थापित गराउने काम भइरहेको बताउँछन् । मन्त्री पोखरेलले सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणअन्तर्गत रहेको राष्ट्रिय कार्यक्रमका आधारमा बर्दिवासलाई समृद्ध बनाउने कामहरू भइरहेकाले सरकारले पहिचानको सहर बनाउने निर्णय गरिसकेको बताउँदै बर्दिवासको जनजीवनका आवश्यक्ता पूरा भएपछि यसले वास्तविक पहिचान पाउने बताए ।
जडिबुटी उत्पादनको सम्भाव्यता अध्ययन, आयुर्वेदसम्बन्धी अध्ययन अनुसन्धान गर्ने, तालिम केन्द्र स्थापना गर्ने र विज्ञान प्रविधिको दृष्टिकोणमा पनि केके थप काम गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान भइरहेको पोखरेल बताउँछन् ।

बढ्दो लोकप्रियता
बर्दिवास–सिन्धुली काठमाडौँ राजमार्ग सञ्चालनपछि बर्दिवासलाई तराई बन्दको प्रभाव नपर्ने भएकाले पनि लोकप्रिय बन्दै गएको स्थानीय बताउँछन् । अन्य ठाउँमा बन्दको प्रभाव पर्दा बर्दिवासमा बजार, कलकारखाना, स्कुल, कलेज, सवारीसाधन सबै क्षेत्र सुचारु हुनसक्नु यहाँको विशेषता हो भन्नछन् बर्दिवास उद्योग वाणिज्य संघका महासचिव भवनाथ खतिवडा । शैक्षिक, व्यापारिक, पर्यटकीय सबै कोणबाट बर्दिवास दुई नम्बर प्रदेशकै समृद्ध सहर भएको खतिवडाको दाबी छ ।
जयनगर–जनकपुर बर्दिवास रेल्वे स्टेसन बर्दिवासमा बन्ने भएपछि यसको चर्चा अझै चुलिएको छ ।
सुनिता बराल

प्रतिक्रिया दिनुहोस्