Logo

नेपालमा पर्यटन सर्किटको सान्दर्भिकता

भनिन्छ, पर्यटन सपनाको व्यापार हो । त्यसैले त पर्यटन क्षेत्रको विकास र विस्तारका लागि नयाँ–नयाँ अवधारणाहरू आइरहेका छन् । पहिला नयाँ–नयाँ कुराको विकास गर्ने, कुनै एक स्थानविशेषको छनोट गरी त्यस स्थानमा पर्यटकीय पूर्वाधारहरूको निर्माण गर्ने र पर्यटकहरू आकर्षित गर्ने प्रचलन थियो । यस्तो कुरा बिस्तारै पुरानो हुँदै गयो भने पर्यटकको रुचिको विषय पनि हुन छाड्यो । अहिले प्रकृतिप्रद्धत्त सम्पदा, ऐतिहासिक महत्वका सम्पदा, देशका मूर्त–अमूर्त संस्कृतिको बहुआयामिक प्रयोग/उपयोग गरी पर्यटक आकर्षित गर्ने प्रचलन आइरहेको छ । यसै क्रममा सर्किट अवधारणाले बिस्तारै महत्व पाउँदै आएको देखिन्छ । पछिल्लो समयमा बौद्ध, रामायण, हिन्दू सर्किटको अवधारणाले नेपाल तथा भारतमा चर्चा पाउन थालेको छ ।

के हो पर्यटन सर्किट ?
एउटै विषयवस्तुसँग सम्बन्ध राख्ने दुईभन्दा बढी स्थानलाई समेटेर तय गरिएको मार्ग/रुट जसलाई सम्बन्धित सरकारले औपचारिक रूपमा मान्यता दिएको हुन्छ र मुख्य उद्देश्य त्यस्ता क्षेत्रलाई पर्यटनसँग आबद्ध गरी आर्थिक विकास र रोजगारी सिर्जनाको प्रमुख क्षेत्रका रूपमा पर्यटनको विकास गर्नु हो । सर्किटमा आबद्ध हुने स्थानहरू विशेष महत्व बोकेका र दूरीगत हिसाबले टाढा रहेका हुन्छन्, जसका लागि व्यवस्थित प्रवेश तथा निकास बिन्दुहरू तय गरिएको हुन्छ । जहाँ प्रवेश गर्ने पर्यटकहरू एकपछि अर्को स्थानको भ्रमण/अवलोकन गर्न उत्प्रेरित र उत्साहितसमेत हुन सक्छन्, यस्ता सर्किटहरू एउटा मुख्य विषयलाई केन्द्रमा राखेर तय गरिने भए पनि विभिन्न विषय/क्षेत्रसँग अन्तरसम्बन्धित भने अवश्य हुन्छन् । यस्ता स्थान जोड्नको लागि हवाई, स्थल तथा जलमार्गको विशेष व्यवस्था गरिएको हुन्छ ।

किन चाहिन्छ यस्तो सर्किट ?
पर्यटन क्षेत्रलाई आर्थिक विकास र रोजगारी सिर्जनाको इन्जिनका रूपमा विकास गर्ने उद्धेश्यबाट यस्ता सर्किटहरू प्रेरित हुन्छन् । विशेष महत्व बोकेका त्यस्ता स्थानको पर्यटकीय सम्भावनालाई योजनाबद्ध एवं राष्ट्रिय प्राथमिकताका साथ विकास गर्नु, स्थानीय नागरिकको आय आर्जनका अवसरहरूको सिर्जनामार्फत जीवनस्तर सुधार गर्नु मात्र नभै प्राचीन संस्कृति, सभ्यता बोकेका स्थानहरूको हकमा त्यस्ता सभ्यता र संस्कृतिलाई जीवन्त राख्न पनि यस्ता सर्किटहरूको विकास र विस्तार गर्नु जरुरी छ । त्यसैगरी त्यस्ता स्थानहरूको दिगो रूपमा पर्यटकीय आकर्षक गन्तव्यका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको पूर्वाधारहरूको निर्माण गर्न पनि सर्किट अवधारणाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यो अवधारणाले समुदायमा आधारित एवं गरिब केन्द्रित पर्यटनलाई आत्मसात् गर्ने भएकाले स्थानीय जनतालाई पर्यटनको आर्थिक, सामाजिक महत्वका बारेमा सुसूचित पनि गराउँछ ।

नेपालमा सर्किट पर्यटन
औपचारिक रूपमा सरकारले नेपालभित्र कुनै त्यस्तो सर्किट घोषणा नगरेको भए पनि विभिन्न मार्गहरू जस्तै अन्नपूर्ण, मनास्लु, लामटाङलगायतका थुप्रै ट्रेकिङ रुट यही सर्किट पर्यटनका रूपमा लिन सकिन्छ । केही समयदेखि निजी क्षेत्रबाट पोखराको फेवा ताल, रारा ताल, फोक्सुन्डो ताल लगायतका तालहरूको भ्रमणका लागि प्याकेज टुरको अभ्यास हुँदै आएको छ, जसलाई ताल सर्किटका रूपमा लिन सकिन्छ । हिन्दू धर्मावलम्बीहरूमा चार धाम दर्शन पनि अनौपचारिक धार्मिक सर्किटको उत्तम अभ्यास हो ।
पछिल्लो समय रामायण सर्किट, बुद्ध सर्किट, हिन्दू सर्किटका सम्बन्धमा बहस हुन थालेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीले औपचारिक रूपमा रामायण सर्किटको उद्घाटन भएपश्चात् यसले चर्चा पाइरहेको छ ।

के हो रामायण सर्किट ?
भारत सरकारले ‘स्वदेश दर्शन अभियान’ अन्तर्गत विभिन्न विषयवस्तु विशेषलाई आधार मानेर १५ वटा विषयगत सर्किटको अवधारणा अगाडि सारेको छ । यसमध्ये भगवान् रामसँग जोडिएको पवित्र भूमिहरू समेटेर तय गरिएको एक सर्किट रामायण सर्किट हो । भारतले अगाडि ल्याएका अन्य सर्किटमा बुद्ध, हिमालयन, कृष्ण, ग्रामीण, तटीय, वन्यजन्तु, ऐतिहासिक सम्पदा, इस्लाम धर्म, इको सर्किट आदि रहेका छन् । भगवान् रामको जीवनकालसँग जोडिएका ६ राज्यका १५ स्थान समेटिने यस सर्किटमा भगवान् रामले विवाह गरेको नेपालको मिथिला क्षेत्र समेत औपचारिक रूपमा समावेश भएको छ । बृहत् रूपमा यसले हनुमान पुगेको स्थान इन्डोनेसियाको बाली तथा रावण तथा अशोक वाटिकासँग जोडिएको श्रीलंकासमेत समावेश हुन सक्ने देखिन्छ । भारतमा राम भगवान्को जन्मस्थल उत्तर प्रदेशको अयोध्या, विहार राज्यमा रहेको सीतामणि तथा राम लक्ष्मणको प्रारम्भिक शिक्षादीक्षा भएको बक्सर, अहिल्याको उद्धार गरेको ठाउँ रदरभंग, पश्चिम वंगालको नन्दीग्राम, उडिसा राज्यको महेन्द्रगिरी, छत्तीसगढको जगदलपुर, तेलंगना राज्यको भद्राचलम जहाँ सीता हरण भएको तथा जटायु मारिएको थियो, शिवलाई पूजा गर्नुका साथै रावणसँग युद्धको तयारी गरेको ठाउँ तमिलनाडुको रामेश्वरम, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक तथा नागपुर र मध्येप्रदेशस्थित चित्रकुट यस सर्किटमा समावेश गरिएको छ ।

महत्वपूर्ण अन्य सर्किट
शान्तिका अग्रदूत भगवान् गौतमबुद्धसँग जोडिएका स्थानहरूलाई एकआपसमा जोड्ने गरी बुद्ध सर्किटको विकास र विस्तार भइरहेको छ । भगवान् बुद्धको जन्मस्थल लुम्बिनीका साथै भारतको बोधगया, सारनाथ, नालन्दा, राजगिर, कुशीनगर, कपिलवस्तु, वैशाली, श्रवस्ती तथा कौशाम्बीसमेतलाई समेटिने बुद्ध सर्किट नेपाल तथा भारतीय पर्यटन क्षेत्रका लागि कोसेढुंगा सावित हुने देखिन्छ ।
नेपालका पशुपतिनाथ, मुक्तिनाथलगायतका शिवधाम तथा भारतका विभिन्न पवित्र तीर्थस्थलहरू जोडिने गरी हिन्दू सर्किट विश्वभरिका हिन्दू धर्मावलम्बीका लागि जीवनमा एकपटक पुग्नैपर्ने स्थानका रूपमा विकसित हुने देखिन्छ ।
भारत सरकारले विभिन्न हिमाललाई समेटेर हिमालय सर्किटको अवधारणा पनि अगाडि सारेको छ । विश्वका १४ मध्ये ८ अग्ला हिमाल नेपालमा रहेको सन्दर्भमा ती र अन्य हिमालहरूलाई समावेश गरेर हिमालय सर्किटको निर्माण गर्ने जुन हिमाल आरोहीहरूका लागि मात्र नभै हिमरेखा आसपास भै ट्रेकिङ गर्ने पर्यटकहरूको लागि पनि उत्तिकै महत्वपूर्ण सावित हुन सकोस् ।
पोखराको फेवा ताल, मुगुको रारा ताल, डोल्पाको शे फोक्सुन्डो ताल, मनाङको तिलिचो ताललगायतका आ–आफ्नै विशेषतायुक्त तालहरू समेटेर ताल सर्किटको निर्माण गर्न सकिन्छ । त्यसै गरी विभिन्न राष्ट्रिय निकुञ्ज तथा आरक्षहरू समेटेर वन्यजन्तु सर्किटको विकास गर्ने । रामसार सूचीमा सूचीकृतलगायतका अन्य जैविक विविधतायुक्त विशेष क्षेत्रहरूलाई समावेश गर्दै इको सर्किटको विकास गर्न सकिन्छ । लोपोन्मुख जातजाति तथा उनीहरूको संस्कृतिलाई केन्द्रमा राखेर अलग्गै सर्किटको निर्माण गर्न सकिन्छ, जुन पर्यटकीय दृष्टिबाट मात्र नभई अध्ययन अनुसन्धानका दृष्टिले पनि उपयुक्त हुने देखिन्छ ।
नेपाल तथा अंग्रेजबीच भएका विभिन्न युद्ध/लडाइँ भएका स्थान तथा त्यसक्रममा गरिएका सन्धि–सम्झौता भएका स्थानहरू, नेपाल एकीकरणका क्रमका महत्वपूर्ण घटनाहरूसँग सम्बन्धित क्षेत्रहरू गोरखा, नुवाकोट, भक्तपुर, पाल्पालगायतका स्थानहरूको अलग्गै सर्किट निर्माण गर्न सक्ने, लोकतन्त्रका खातिर भएका विगतका सबै खाले आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका स्थान, योद्धाहरूको योगदानको सम्मानस्वरुप एउटा सर्किटका रूपमा विकास गर्न सकिन्छ । यसमा सहिदहरू, आन्दोलनका अगुवाइ गर्ने व्यक्ति/क्षेत्रहरू, जस्तै— विराटनगर जुट मिल्स, जुन्दरीजल जेल, सिन्धुपाल्चोकको पिस्कर, दासढुंगा आदिलाई केन्द्रमा राख्न सकिन्छ ।
स्थानीय सर्किटहरूको विकास र विस्तारले आन्तरिक पर्यटन प्रवद्र्धनमा थप टेवा दिन सक्छ । कास्की जिल्लाका सात तालहरू समेटेर, काठमाडांै उपत्यकाभित्रका विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरूको अलग्गै सर्किट, उपत्यकाका प्रमुख चार गणेश जोडेर एक सर्किटको विकास गर्न सकिन्छ भने स्वयम्भु, बौद्धलगायतका सम्पदा समेट्ने गरी स्थानीय बौद्ध सर्किटको विकास गर्न सकिन्छ । पर्यटन मन्त्रीले सबै प्रदेशहरूको सन्तुलन कायम हुने गरी १ सयवटा नयाँ गन्तव्य स्थानहरूको पहिचान एवं पर्यटकीय हिसाबले विकास गरिने प्रतिबद्धता जनाएअनुसार तोकिने गन्तव्यहरूमध्ये एउटै प्रकृतिका स्थानहरू समेटिने गरी विभिन्न विषयवस्तु केन्द्रित सर्किट विकास गर्न सकिने नै देखिन्छ ।

के गर्ने ?
सर्किट अवधारणा आत्मसात् गर्दैमा यसले पर्यटन क्षेत्रमा उथलपुथल ल्याइहाल्ने भन्ने हुँदैन । यसका लागि दीर्घकालिन सोचसहित ठूलो लगानीको आवश्यकता पर्छ । सर्किटअन्तर्गत पर्ने स्थानहरूलाई हवाई तथा स्थलगत मार्गबाट सहज पहुँचको व्यवस्थाका लागि पूर्वाधार निर्माण, पर्यटक सुविधाका लागि होटल, बैंक तथा वित्तीय संस्था, पार्किङ स्थल, सपिङ मल, खानेपानी तथा सरसफाइको उचित व्यवस्था, प्राथमिक स्वास्थ्योपचारसहितको स्वास्थ्य सुविधा, आपत्कालीन उद्धारको भरपर्दो प्रबन्ध, पर्यटकीय सूचना केन्द्रहरू, सर्वसुलभ रूपमा इन्टरनेट सुविधा, पर्यटकीय सुरक्षाका लागि सिसिटिभीलगायतका अत्याधुनिक उपकरणहरूको व्यवस्थाको उचित प्रबन्ध मिलाउनु जरुरी देखिन्छ ।
यी पूर्वाधारहरूको निर्माणका लागि आवश्यकताअनुसार गुरुयोजना निर्माण, जग्गा प्राप्ति र विकास, बस्ती स्थानान्तरण एवं पुनर्वासको प्रबन्ध, सरल एवं पारदर्शी सार्वजनिक खरिद प्रक्रिया, लगानी तथा सञ्चालनको उपयुक्त मोडल छनोट, स्थानीय समुदायको सहभागिता पूर्वसर्तका रूपमा रहन्छन् ।
रामायण तथा बौद्ध सर्किटका लागि भारत सरकारले अर्बौ लगानी गरिरहेको र पूर्वाधार निर्माण युद्धस्तरमा भइरहेको सन्दर्भमा नेपाल ती सर्किटमा समावेश हुनुले मात्र कुनै अर्थ नराख्ने भएकाले स्पष्ट कार्ययोजनासहित पूर्वाधार निर्माणमा लाग्न ढिला भइसकेको छ ।
(लेखक पर्यटन मन्त्रालयमा कार्यरत छन् ।)

प्रतिक्रिया दिनुहोस्