यार्सा टिप्न भोलिबाट वन खोलिने «

यार्सा टिप्न भोलिबाट वन खोलिने

मुगु –मुगुका विभिन्न वनमा पाइने बहुमूल्य बुटी यार्सागुन्वु संकलनका लागि यो वर्ष जेठ ५ गतेबाट प्रवेश खुल्ला गरिने भएको छ । मुगम–कार्मारोङ गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकले यही जेठ ५ गतेबाट यार्सा संकलन गर्नका लागि संकलकहरूलाई वन प्रवेश खुल्ला गर्ने निर्णय गरेको हो ।
मुगम–कामारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार यार्सागुम्बा संकलनका लागि मुगु जिल्लावासीलाई प्रतिव्यक्ति १५ सय र जिल्ला बाहिरका संकलकहरूलाई प्रतिव्यक्ति २ हजार प्रवेश शुल्क तोकिएको छ । यसरी संकलन भएको शुल्क गाउँपालिका, व्यवस्थापन र यार्सा पाईने वडालाई भाग लगाइनेछ । प्रवेश शुल्कवापत संकलित शुल्क गाउँपालिकाले ३० प्रतिशत, व्यवस्थापन खर्च ३० प्रतिशत र सम्बन्धित वडा नं. २ लाई ४० प्रतिशत रकम दिने गरि विभाजन गरिने भएको छ । झन्डै १ करोड रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य छ भने यार्सा टिप्ने पाटनमा जाने स्थानीय तथा बाहिरी जिल्लाबाट आउनेहरूको सुरक्षाका लागि सशस्त्र प्रहरी ४२ जना र नेपाल प्रहरी ३५ जना रहेका छन् ।
उच्च हिमाली पाटनहरूमा पाईने यार्सागुम्वा संकलनकाका लागि कणाली प्रदेशका १० जिल्ला लगायत बाजुरा, जाजरकोट, अछाम, बाँके, बर्दिया, कैलाली, काभे्रपलान्चोक, सिन्धुपाल्चोक, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, जुम्ला, हुम्ला, कालिकोट लगायतबाट हजारौ संकलक र खरिदकर्ताहरू मुगु जिल्लामा आउने गर्छन् ।
यार्सा सिजन सुरु भएसँगै पाटन जानका लागि मानिसहरूको हिजोआज निकै चहलपहल बढन थालेको छ । पाटननिर जाने यार्सा संकलकहरू दैनिक ४/५ सय हुनेछन् । पाटनमा चाहिने झोल खानेकुरा, न्याना कपडा, पाल, म्याट्रेस, औषधि यो बेला बढी मात्रामा बिक्री हुने भएकाले व्यापारीहरूले यी सामान अधिक मात्रामा स्टक राखेका छन् ।
दानबहादुर बुढा

दुई दिनमा ४० लाख राजस्व संकलन
डोल्पा-डोल्पाका विभिन्न पाटनमा यार्सागुन्बु संकलन गर्न जानेहरूबाट दुई दिनमा ४० लाख १९ हजार ९ सय रुपैयाँ राजस्व संकलन भएको छ । डोल्पाका एक दर्जनभन्दा बढी पाटनहरूमा यार्सा संकलकहरू प्रवेश गरेका छन् । सेफोक्सुन्डो राष्ट्रिय निकुन्जभित्र पर्ने पाटन मंगलबारदेखि खुल्ला भइसकेको छ भने आधा दर्जन सामुदायीक वन यही १० गतेबाट खुला गरिँदै छ ।
डोल्पाको सुलिगार्ड पोस्ट, तोइजम पोष्ट र धो पोष्टबाट गरी मंगलबार क वर्गका १ हजार ६३ जना, ख वर्गका ६ सय १४ जना र ग वर्गका ८ सय ३५ जना यार्सा संकलकहरू प्रवेश गरेको गरेका छन भन् भने दोस्रो दिन क वर्गका ८४ जना, ख वर्गका २७ जना र ग वर्गका ८४ जना यार्सा संकलक पाटनमा प्रवेश गरेको शेफोक्सुन्डो राष्ट्रिय निकुन्ज सुलिगार्ड डोल्पाका सहायक संरक्षण अधिकृत प्रकाश उप्रतीले जानकारी दिए ।
गत वर्ष झै यो वर्ष पनि वन क्षेत्रमा पर्ने समुदायलाई क वर्ग, जिल्लाभित्रका समुदायलाई ख वर्ग र जिल्ला बाहिरका समुदायलाई ग वर्गमा विभाजन गरिएको छ । क वर्गका समुदायसँग १ हजार, ख वर्गका समुदायसँग २५ सय र ग वर्गका समुदायसँग ३५ सय रुपैयाँ प्रवेश लिने व्यवस्था गरिएको छ । यार्सा संकलकहरूलाई एक महिनाको समय अवधि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्