पारस र शोभा वर्ष खेलाडी, सन्दीप उत्कृष्ट युवा खेलाडी «

पारस र शोभा वर्ष खेलाडी, सन्दीप उत्कृष्ट युवा खेलाडी

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का यस वर्षको उत्कृष्ट खेलाडी बनेका छन् । काठमाडौंमा बिहीबार आयोजित पल्सर स्पोर्टस् अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले अवार्ड जितेका हुन् । खड्का नेपाललाई वान डे इन्टरनेसनल मान्यता दिलाउने कप्तान हुन् ।
यस वर्षको उत्कृष्ट खेलाडी अवार्डका लागि क्रिकेटकै सन्दीप लामिछानेसँगै ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्र बहादुर श्रेष्ठ, गल्फका टंक बहादुर कार्की मनोनयनमा परेका थिए ।
बिहीबार भद्रकालीस्थिति नेपाल आर्मी अफिसर्स क्लबमा भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७४ कार्यक्रममा ब्याडमिन्टनकी शोभा गौचन महिलातर्फ उत्कृष्ट खेलाडी बनिन् भने सन्दीप लामिछाने उत्कृष्ट युवा खेलाडी बन्दा क्रिकेटका जगत टमाटा उत्कृष्ट प्रशिक्षक बने भने टेबलटेनिसका स्यान्टु श्रेष्ठले पिपुल च्वाइस अवार्ड जिते ।
इन्डियन प्रिमियर लिग र क्यारेवियन प्रिमियर लिगको टिममा आबद्ध हुने स्पिनर लामिछाने पहिलो नेपाली क्रिकेटर पनि हुन् । आईसिसि विश्व ११ मा समेत छानिएका सन्दीप हाल आईपिएल खेल्न दिल्ली डेयरडेभिल्ससँग आबद्ध छन् ।
शोभासँगै प्रतिस्पर्धामा बक्सिङकी विमला श्रेष्ठ, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्री भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठ थिइन् । उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पार्न सफल शोभा योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा दीपेश धामीसँगै मिक्स डबल्सको उपाधि विजेता हुनुका साथै योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिजमा दीपेश धामीसँगै मिक्स डबल्समा उपविजेता बनेकी थिइन् । उनी घरेलु प्रतियोगिता जेष्ट ब्याडमिन्टन प्रतियोगितामा मिक्स डबल्सको विजेता समेत हुन् ।
यसैगरी करण केसीलाई स्पेशल अवार्ड र पूर्वफुटबलर अशोक केसीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपल्स च्वाइस अवार्ड तथा वर्षका उत्कृष्ट प्रशिक्षकले एक–एक थान पल्सर मोटरसाइकल पाए भने अन्य विधाका विजेताले ५० हजार रुपैयाँ सहित गिफ्ट ह्याम्परहरू प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्