सेयर बजारमा २१ अंकको सुधार «

सेयर बजारमा २१ अंकको सुधार

सेयर बजारमा सुधार आउने क्रमले यो साताको पहिलो दिन आइतबार पनि निरन्तरता पाएको छ । गत साताभर करिब ४ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आइतबार २१ अंकले बढेको हो ।
आइतबार नेप्से परिसुचकसँगै कारोबार रकममा पनि केही सुधार आएको छ । आइतबार प्रदेशसभा तथा प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भएसंगै सेयर लगानीकर्ताको मनोबल सकारात्मक भएको हो । चुनावपछि सेयर बजारको दिशा निर्धारण हुने अपेक्षा गरेका सेयर लगानीकर्ता आइतबार नै उत्साहित देखिएका हुन् ।
आइतबार कारोबार सुरु भएदेखि निरन्तर बढेको नेप्से परिसूचक बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा १४९३.२० अंकमा रहेको नेप्से परिसूचक २१.०५ अंकले वढेर १५३४.३४ अंकमा पुगेको हो । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि करिब ५ अंकले बढेको छ ।
आइतबार नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचक बढेका छन् । नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ १८.७, होटल १.४५, विकास बैंक १८.९७, जलविद्युत् ६८.५, वित्त २.७६, बिमा ८२.१२, उत्पादनमूलक ८.१८, अन्य १३.५९ र लघुवित्त समूह २८.५२ अंकले वढेका छन । तर, व्यापार समूह भने ६.३४ अंकले घटेको छ । आइतबार नेप्सेमा १ सय ५५ कम्पनीको ५ हजार ७ सय १० कारोबारवाट ५९ करोड ७५ लाख रुपैयाँ बराबरका १० लाख ८३ हजार ५ सय ८८ कित्ता सेयर किनबेच भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्