गैरआवासीय नेपाली संघका पंजिकृत सदस्यहरुलाई नेपाल मेडिसिटि अस्पतालमा सहुलियत

गैरआवासीय नेपाली संघ र नेपाल मेडिसिटि अस्पताल वीच सेवा शुल्कमा छुटदिने बारे सहमती भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट एवं गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक तथा नेपाल मेडिसिटिका अध्यक्ष डा. उपेन्द्र महतो र गैरआवासीय नेपाली संघका उपाध्यक्ष सपीला राजभण्डारीको उस्थितिमा बिहीबार भएको सहमति पत्र अनुसार नेपाल मेडिसिटि अस्पतालले गैरआवासीय नेपाली संघका पंजिकृत सदस्यहरु एवं नीजको परिवारलाई आफ्नो सेवा शुल्कमा केही छुट दिने भएको छ । गैरआवासीय नेपाली संघले पंजिकृत सदस्यहरुलाई क्यू आर कोड सहितका कार्ड उपलब्ध गराएको छ ।
सहमतिपत्र हस्ताक्षर समारोहमा बोल्दै संघका अध्यक्ष भवन भट्टले सहमति पत्रले संघको मेडिसिटिसंग सुरुवात देखी चलेको सम्बन्धलाई औपचारिकता दिने काम गरेको बताए । उनले नेपाललाई पर्यटन र स्वास्थ्यको केन्द्र बनाउन सकिने धारणा राख्दै संघका सदस्यहरुलाई सहुलियत दिने सम्झौताके सुरु नै गैरआवासीय नेपाली अभियानका प्रवर्तकको प्रतिष्ठान बाट सुरु भएकोमा खुशी व्यक्त पनि गरे ।
यस्तै, समारोहमा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले मेडिसिटि गैरआवासीय नेपाली जस्तै एक नेपाललाई स्वास्थ्य मुलुक बनाउने अभियानमा मेडिसिटि लागेको र संगसंगै अघि जानु पर्ने धारणा राखे । उनले अन्तर्राष्ट्रिय स्तरको सेवा नेपालमा नै उपलब्ध गराउने र अन्य स्वास्थ्य संस्थाहरुलाई पनि सेवा स्तर सुधार गर्न सघाउने उद्देश्यले नेपाल मेडिसिटि स्थापन गरिएको बताए । संस्थापक अध्यक्ष महोतोले स्वास्थ्य प्रतिष्ठानमा विरामी भएपछि होइन स्वस्थ रहँदा नै आएर आफू स्वस्थ भएको प्रमाण लिन र पछि लाग्न सक्ने रोगबाट बच्न अपिल गर्दै गैरआवासीय नेपालीहरुले नेपालमा नै स्वास्थ्य सेवा लिन सक्ने प्रतिष्ठान बनाउन पाएकोमा खुशी व्यक्त गरे । नेपालका अरु स्वास्थ्य सेवा प्रतिष्ठान संग प्रतिस्पर्धा गर्न नभई सबैको सेवाको स्तरमा सुधार गर्न आफूले मेडिसिटि स्थापना गरेको पनि उउनले बताए । साथै उनले यस्ता संस्था धेरै विकास भए नेपाल स्वास्थ्य सेवाको केन्द्र बन्न सक्ने धारणा राख्नु भयो ।
समारोहमा बोल्दै संघकी उपाध्यक्ष सपिला राजभण्डारीले संघले पंजिकृत सदस्यहरुलाई क्यू आर कोड सहितको परिचय पत्र उपलब्ध गराउन थालेको र ती परिचयपत्र बाहकहरुले नेपाल र विदेशमा कार्यरत विभन्न फर्म तथा कम्पनीका वस्तु र सेवामा सहुलियत प्राप्त गर्दा संघको सदस्यता अभियानलाई समेत सहयोग पुग्ने कुरा बताइन् । परिचयपत्र बाहकहरुलाई सहुलियत दिने पहिलो सम्झौंता संस्थापक अध्यक्षले स्थापना गरेको संस्थाबाट सुरु गर्न पाएकोमा खुशी व्यक्त गर्दै उनले आगामी दिनमा अरु फर्म तथा कम्पनीसंग पनि यस्तै प्रकारको सहमति गरिने बताइन् ।
सहमति पत्रमा संघको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडी र नेपाल मेडिसिटिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले हस्ताक्षर गरेका थिए ।