Logo

खाद्य सम्प्रभुताको सुरक्षा र वर्तमान अवस्था

 

गाँस, बास र कपास हरेक मानिसको नैसर्गिक आवश्यकता हो । न्यूनतम मानवीय आवश्यकताको अभावमा मानवजीवनको अस्तित्व नै रहन सक्दैन । मानिस खाना, बास, कपडा, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता परिपूर्तिकै लागि प्राथमिकतासाथ काम गर्छ । त्यसमध्ये पनि खाद्यवस्तुको आवश्यकता पूरा गर्न मानिसले शारीरिक र मानसिक शक्ति बढी खर्च गर्नुपर्छ । त्यसैले भन्ने गरिन्छ, ‘केका लागि काम गर्ने ? यही पेटका लागि न हो ।’ यसबाट स्पष्ट हुन्छ— खाद्यान्न मानिसको पहिलो आवश्यकता हो र यसको अभावमा जीवन चल्नै सम्भव हुँदैन । खाद्यसुरक्षा यस्तो शब्द हो, जसलाई विश्वव्यापी रूपमा ग्रहण गरी लोकप्रियतासाथ प्रचलनमा ल्याइएको छ । विश्वका सरकारदेखि गैरसरकारी संस्थासम्म, अन्तर्राष्ट्रिय दातृसंस्था र गैरसरकारी संस्थासम्म, बहुराष्ट्रिय सहयोग नियोगदेखि विकसित, धनी र अनुदान सहयोग प्रदान गर्न सक्षम मुलुकसम्म सबैले खाद्यसुरक्षाको विषयलाई अगाडि सारेको पाइन्छ ।
खाद्य सुरक्षालाई मानवअधिकारको आधारभूत अङ्गका रूपमा लिइएको छ । विश्वमा तीव्र गतिमा वृद्धि भइरहेको जनसंख्याका लागि दैनिक आवश्यकता पूर्ति गर्न खाद्यान्नको उत्पादन त्यसै अनुपातमा बढाउँदै लैजानु आवश्यक हुन्छ । अहिलेकै अवस्थामा कतिपय मुलुक खाद्यान्नको अभावका कारण आफ्ना नागरिकको जीवन बचाउन असफल भइरहेको समाचार पनि सञ्चारमाध्यमबाट आउने गरेका छन् । प्रत्येक वर्ष भोकमरीबाट हजारौं मानिसले अकालै ज्यान गुमाउनुपरेको तीतो यथार्थ वर्तमान विश्वले भोगिरहेको छ ।
खाद्यविद्हरूले सम्पूर्ण खाद्य पदार्थलाई ६ वटा पोषण तत्वमा बाँडफाँड गरेका छन् । ती यस प्रकारका छन्— (क) कार्बोहाइड्रेड, (ख) फ्याट्स, (ग) भिटामिन, (घ) प्रोटिन, (ङ) खनिज पदार्थहरू र (च) लवण तथा पानी ।
विकासोन्मुख देशहरूमा बढिरहेको जनसंख्या वृद्धिलाई परम्परागत खाद्यपदार्थको उत्पादनले मात्र सन्तुलनमा राख्न सकिने हुनाले हालसम्म मुख्य खानाका रूपमा उपयोग नगरेका अरू पदार्थहरूलाई पनि उपयोगमा ल्याउन विज्ञान र प्रविधिले निकै सहयोग पुराएको छ । एकातिर बालकको शारीरिक एवं मानसिक स्थितिमा दु्रततर वृद्धि भइरहेको हुन्छ भने अर्कातिर आमाको दूध उत्पादनको परिणाममा ह्रास हुँदै जान्छ । तसर्थ बढ्दो शिशुका निमित्त दूधमा पाइने प्रोटिन, चिल्लो पदार्थ, भिटामिन र लवणहरूजस्ता पौष्टिक तत्वहरू आवश्यक मात्राभन्दा कम हुने हुनाले बालकलाई दूधका अतिरिक्त अन्य खाना खुवाउनु जरुरी हुन्छ । अन्यथा बालकको आँखाको तेज घट्नुका साथै रगत बिग्रने तथा तन्तुहरूको वृद्धि हुन र दाँत तथा हाड बलियो हुन नसक्ने हुनाले बालकको रोगनिरोधक क्षमता शिथिल हुन गई विभिन्न रोगबाट आक्रमण हुन सक्ने स्थिति सिर्जना हुने सम्भावना रहन्छ ।
हाम्रो शरीरलाई स्वस्थ राख्न प्रतिदिन २५ सयदेखि ३ हजार क्यालोरी खाद्यपदार्थ आवश्यक पर्छ, तर कडा परिश्रम गर्ने नेपालीहरूका लागि प्रत्येक लिन ४ हजार क्यालोरी खाद्यपदार्थको आवश्यकता पर्छ । दैनिक व्यवहारमा २ हजार क्यालोरीभन्दा बढी खाद्यपदार्थ उपभोग गरिएको पाइएको छैन । प्रतिव्यक्तिले उपभोग गर्नैपर्ने त्यो २ हजार क्यालोरी खाद्यपदार्थ जनसंख्या वृद्धिले गर्दा घट्दै जाने क्रम देखिन्छ । यही कारणले गर्दा खाद्यान्न आयात नगरी सुख छैन । हाम्रो शरीरमा आवश्यक मात्रामा प्रोटिनको अपर्याप्त आपूर्तिबाट खासगरी आवश्यक एमिनोएसिडका विभिन्न प्रकृति र आज संसारभर देखा परिरहेको कुपोषणको समस्या नै बिनाशंका प्रमुख रूपमा देखा पर्छ । प्रोटिनको कमीबाट देखा पर्ने लक्षणहरूमा तौलको कमी, कुनै बेला थाकेको महसुस हुनु, घट्दो रोग प्रतिरोध शक्ति, स्वास्थ्य लाभ गर्न कठिन र बच्चाहरूमा ढिलो एवं कम वृद्धि हुनु आदि हुन् । लगातार प्रोटिनको कमीबाट रक्तप्रोटिन (हेमोग्लोबिन सहित) तथा कलेजोको क्षति आदि परिणाम हुन्छन् । प्रोटिनले शरीरको वृद्धिका साथै शक्ति प्रदान र शारीरिक प्रक्रिया सञ्चालन पनि गर्छ । प्रोटिनको कमीबाट रक्त सञ्चालन र पाचन क्रियामा पनि नकारात्मक असर पर्छ । अतः कुपोषण र विविध रोगबाट बच्न आवश्यक प्रोटिन आपूर्तिमा हामीले विशेष ध्यान पुराउनु आवश्यक छ ।
नेपालमा उत्पादित बालीमा धानबाट चामल, मकैबाट पीठो, गहुँबाट मैदा÷पीठो, कोदोबाट पीठोको उत्पादनदरको विश्लेषण गर्दा पनि हामीसँग खाद्यान्नको न्यूनता होइन, बचत हुनुपर्ने देखिन्छ । निकासीजन्य र सोझै उपभोग गरिने खानेकुरा चिउरा, चाउचाउ, बिस्कुट, बेकरीजस्ता तयारी खाद्यपदार्थको उत्पादनमा पनि खाद्यान्नको प्रयोग हुन्छ । ग्रामीण र सहरी क्षेत्रमा घरायसी तथा औद्योगिक रूपमा रक्सी पार्न, पशुआहारका रूपमा प्रयोग गर्न र यज्ञयज्ञादिमा चरुका रूपमा होम गर्न पनि ठूलै परिमाणमा खाद्यान्न खेर फालिन्छ । यस्ता विविध कारणले खाद्य असुरक्षाको अवस्था आएको हो कि भन्ने आभास मिल्छ । तर, चामलको परिमाणमा आउने कमीलाई मात्र आधार मानेर खाद्यसुरक्षा तथा असुरक्षाको निर्णय गर्नु भने व्यावहारिक मान्न सकिन्न । यसप्रकार, खेतीबाट उत्पादन भएको कोरा कृषिउत्पादनलाई प्रशोधन गरी उपभोग्य खाद्यवस्तु तयार गर्दा प्राप्त हुने प्रतिलब्धिले पनि नेपालको खाद्यान्नको यथार्थ स्थिति थाहा पाउन सकिन्छ ।
खाद्यसुरक्षा र असुरक्षाका महत्वपूर्ण पक्षहरू एकैसाथ गाँसिएर आउँछन् । यस्ता सवालका पछाडि गाँसिएर आउने कारणलाई अलग्याएर हेर्न पनि मिल्दैन । खाद्यसुरक्षा भनेको पर्याप्त खाद्यान्न उत्पादन वा उपलब्ध भएको समयमा भविष्यमा वृद्धि हुने जनसंख्या, खाँचो र विपद्काली अवस्थाका लागि आवश्यक पर्ने परिमाणमा खाद्यान्नको सञ्चय गरी सहज प्राप्ति र समुचित वितरण गर्न सक्ने क्षमताको विकास गर्नु हो । यसैको ठीक विपरीत अवस्थालाई भने खाद्य असुरक्षाको अवस्थाका रूपमा बुझ्नुपर्ने हुन्छ ।
खाद्य असुरक्षाका विभिन्न पक्षलाई अध्ययन गर्दा यसका कारणको भयावह चित्र प्रकट हुन सक्छ । खाद्य असुरक्षाबाट समाज र मुलुक भोकमरीको त्रासदीपूर्ण चपेटामा धकेलिन्छ । विशेष गरी अफ्रिकाका सुडान, इथियोपिया, सोमालियालगायत विश्वका अति कम विकसित मुलुकका जनता खान नपाएर भोकभोकै मरेका र कुपोषणका सिकार भएका समाचार प्रकाशमा आइरहन्छन् । त्यस्तै, समस्या हाम्रो मुलुकका केही विकट पहाडी र हिमाली जिल्लाका खास क्षेत्रमा कहिलेकाहीँ देखा पर्ने गरेको छ । अल्पकालीन रूपमा देखिने त्यस्तो समस्याको निराकरण गर्ने प्रयास पनि हुँदै आएको देखिन्छ । नेपालका कुल जनसंख्यामध्ये करिब २५ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन् । भौगोलिक क्षेत्रअनुसार पहाड र तराईमा क्रमशः ४१ र ४२ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन् भने नेपालको हिमाली भेगमा जनसंख्याको ५६ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको पाइन्छ । तर, मानिसको प्रतिव्यक्ति आम्दानी भने साह्रै न्यून छ । सन् १९९८ मा विश्व बैंकले दिएको रेकर्डअनुसार नेपालीको प्रतिव्यक्ति आम्दानी ४ सय १० डलर मात्र छ । जनसंख्या जुन रूपमा बढिरहेको छ त्यही रूपमा खाद्यान्न बढ्न सकेको छैन । एकातिर खाद्यान्न संकट उत्पन्न हुँदै गएको छ भने अर्कातिर मुलुकमा अप्रत्याशित रूपमा हुने घटनाहरू जस्तो : युद्ध, महामारी, भूकम्प, अतिवृष्टि, अनावृष्टि, आन्तरिक कलह आदिले गर्दा संक्रमणकालीन खाद्यान्नको समस्या सिर्जना भएको छ ।
खाद्य असुरक्षाको आर्थिक प्रभाव बहुक्षेत्रीय किसिमको हुन्छ । खाद्यान्नको अभावमा मानिस जीवनमरणको स्थितिमा पुग्ने हुँदा उसले आर्थिक विकासको राष्ट्रिय अभियानमा अपेक्षित योगदान दिन सक्तैन । उसमा उत्पादकत्व कम हुन्छ, बेरोजगारीको स्थिति हुन्छ र समग्र अर्थतन्त्रमा नकारात्मक स्थिति सिर्जना हुन्छ । जब खाद्यान्न अभावको स्थिति हुन्छ तब राज्यले अन्य विकास–निर्माणका कार्यलाई स्थगित गरेर भए पनि खाद्यान्न आपूर्तिको व्यवस्था मिलाउनुपर्ने हुन्छ । खाद्यान्न आयात गर्न ठूलो धनराशि खर्च गर्नुपर्ने हुन्छ । खाद्यान्न अभाव हुने क्षेत्रमा ढुवानी अनुदानमा खाद्यान्न पुराउनुपर्ने हुन्छ । यसले गर्दा राष्ट्रको ठूलो धनराशि खर्च हुन पुग्छ । अर्कातिर खाद्यान्न अभावका कारण कुपोषण तथा त्यसबाट उत्पन्न हुने महामारीको नियन्त्रण गर्नुपर्ने अवस्था आइपरेमा आर्थिक समस्या अझ थपिन गई देशको अर्थतन्त्रले गति लिन नसक्ने मात्र होइन, सबै हिसाबले आर्थिक दुष्चक्रमा राष्ट्र भासिन्छ, टाट पल्टेको घोषणा गर्नुपर्नेसम्मको अवस्था आइपर्न सक्छ । अतः खाद्यान्न असुरक्षाको प्रभाव वा यसको परिणाम आर्थिक दृष्टिले पनि भयावह हुन सक्छ ।
खाद्यान्न असुरक्षाको अर्को प्रभाव सांस्कृतिक पनि हुन्छ । यसो हेर्दा यो त्यति प्रभावकारी भएजस्तो नदेखिए पनि जब मानिस बाँच्नका लागि आवश्यक पर्ने खानेकुरा पाउन सक्दैन तब ऊ विविध आपराधिक कार्य गर्नेतर्फ उन्मुख हुन्छ, जस्तै : धर्म, संस्कृति, चालचलन, परम्पराको लोप गर्ने आदि ।
खाद्य असुरक्षाको प्रभाव बालबालिका, अशक्त र वृद्धहरूमा बढी मात्रामा पर्छ । बालक जन्मनासाथ उसलाई शारीरिक तथा मानसिक विकासका लागि आवश्यक पर्ने पौष्टिक आहारको आवश्यकता पर्छ । त्यसको अभावमा कुपोषणको सिकार भई उसमा शारीरिक तथा मानसिक विकृति देखा पर्न सक्छन् । त्यसैगरी अशक्त व्यक्तिले अन्य कुनै काम गर्न नसक्ने र आफूलाई आवश्यक पर्ने खाद्य वस्तु जुटाउन नसकी मृत्युको मुखमा समेत पर्न सक्ने हुन्छन् ।
(लेखक भक्तपुर बहुमुखी क्याम्पसका अर्थशास्त्रका सह–प्राध्यापक हुन् ।)

प्रतिक्रिया दिनुहोस्