अढाइ करोड नक्कली नोटसहित चलचित्र निर्माता पक्राउ

प्रहरीले साढे २ करोड रुपैयाँभन्दा बढी नक्कली नेपाली नोट सहित ६ जनालाई पक्राउ गरेको छ । नक्कली नोट बनाउने कारखानामा छापा मारी महानगरीय प्रहरी परिसर काठमाडौंले २ करोड ६० लाख ६३ हजार नक्कली नोटसहित चलचित्र निर्माता माधव वाग्ले, महेन्द्र बोगटी, सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी र विकेस नापितलाई पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये वाग्ले प्रिन्सेस मुभिज प्रालीका सञ्चालक हुन् । उनी चलचित्र लुट, लुट–२, छड्के, रेसम फिलिली सहितका निर्माता तथा वितरक रहेको अनुसन्धानबाट खुलेको छ । उनको कोठाबाट मात्रै प्रहरीले १ हजार दरका २ करोड ५२ लाख नक्कली नोट बरामद गरेको जनाएको छ । यस्तै, सुवेदी बागबजारस्थित नवज्योती प्रिन्टिङ प्रेसका सञ्चालक हुन् । उनैको प्रेसमा नोट छाप्ने गरिएको पनि पुष्टि भएको छ । प्रहरीले गोंगवु, बागबजार र ललितपुरको धापाखेलबाट नक्कली नोट बरामद गरेको जनाएको छ । तर, अभियुक्तहरु गोंगवु तथा आसपासका स्थानबाट पक्राउ परेका हुन् ।
मंगलबार दिउँसो नयाँबसपार्क स्थित मित्रनगरको सुमधुर क्याफेमा खाजाको विल तिर्नेक्रममा बोगटीले नक्कली नोट दिएपछि गिरोहको नक्कली नोटको धन्दा बाहिर आएको थियो । नक्कली नोट दिएको थाहा पाएपछि क्याफे सञ्चालकले प्रहरीलाई खबर गरेपछि त्यसको रहस्य खुलेको थियो । प्रहरी तत्काल क्याफे पुगेर बोगटीको साथबाट १ लाख २० हजार नक्कली नोट बरामद गरेको थियो । त्यसपछि बोगटीकै सूचनाका आधारमा नोट छाप्ने कारखाना र मूख्य गिरोहसम्म प्रहरी पुग्न सफल भएको थियो । गिरोहले नक्कली नोट, चलचित्रमा लगानी, जुवातास, लागूऔषध खरिद लगायत अपराधमा प्रयोग गर्नेगरेको परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए ।