पर्यटन, जलविद्युत् र कृषिबाट क्रान्ति गर्ने कास्कीका उम्मेदवारको उद्घोष «

पर्यटन, जलविद्युत् र कृषिबाट क्रान्ति गर्ने कास्कीका उम्मेदवारको उद्घोष

संघ र प्रदेशको दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै आउँदा कास्कीमा पनि विभिन्न राजनीतिक पार्टी तथा स्वतन्त्र उम्मेदवारहरूले आफ्नो पक्षमा मत पार्न जनताको घरदैलोमा पुग्न व्यस्त भएका छन् । कास्कीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा, राप्रपालगायतका १७ दलका ९९ जनाले उम्मेदवारी दिएका छन् । कास्कीमा संघ र प्रदेशको निर्वाचन यही मंसिर २१ गते हुने भएको छ भने मुख्य प्रतिस्पर्धा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन र नेपाली कांग्रेसबीच हुने पक्का भएको छ । उद्यपि साना दल तथा स्वतन्त्र उम्मेदवारले पनि आफूहरूको जित हुने दाबी गरिरहेका छन् । यसै सन्दर्भमा कारोबारकर्मी दिननाथ बरालले कास्कीका प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूसँग गरेको कुराकानीको सार :

तीन वर्षमै देशकै समृद्ध प्रदेश

खगराज अधिकारी
प्रतिनिधिसभा सदस्यका एमाले उम्मेदवार
कास्की क्षेत्र नम्बर १

स्थायी सरकार, शान्ति र अमनचयन स्थापनाका लागि वाम गठबन्धनसहित आफ्नो पार्टीको प्रतिनिधित्व गर्दै मेरो उम्मेदवारी हो । यसलाई मैले व्यक्तिको भन्दा पनि पार्टीको चुनावका रूपमा लिएको छु । म स्वास्थ्यमन्त्री हुँदा आफूले काम गर्दागर्दै अधुरा रहेका काम पूरा गर्ने प्रतिबद्धताका साथ प्रतिनिधिसभा सदस्यमा मेरो उम्मेदवारी दिएको हँु । विगतको मेरो कामको मूल्यांकन गरेर जनताले मलाई पूर्ण विश्वास गर्नेछन् भन्नेमा ढुक्क छु । एक हिसाबले मेरो जित सुनिश्चित भएको छ ।
प्रदेश नम्बर ४ को चौतर्फी विकासको धेरै सम्भावना छ । यहाँको जलविद्युत्, प्राकृतिक सौन्दर्यता, मनोरम वातावरण, संसारलाई आकर्षण गर्ने अन्नपूर्ण, माछापुच्छ«े, नीलगिरि, मनास्लुजस्ता हिमश्रृंखला तथा प्राकृतिक स्थलहरूले सायद जो–कोहीलाई लोभ्याउँछन् । ढोरपाटन, सेतीनदी, मादी नदी, सिक्लेसको गुरुङ बस्ती, धार्मिक, सांस्कृतिक क्षेत्रमा धनी, विभिन्न जातजातिको संस्कृति, त्यस्तै यहाँको तालतलैयाले गर्दा यहाँ पर्यटनको अथाह सम्भावना छ । अब हामीले यसको सही ढंगले सदुपयोग गरी पर्यटनको प्याकेजिङ गरेर विश्व बजारमा बिक्री गर्न बाँकी छ । त्यो काम हाम्रो जितपछि हुनेछ । जब हामीले यहाँ भएका सम्भावनाको खोजी गरी यहाँका स्रोतसाधनको अधिक प्रयोग गर्छौं तब यहाँ आर्थिक, विकास र समृद्धिले फट्को मार्न कुनै समय कुर्नु पर्दैन । तीन वर्षमै आर्थिक विकास र समृद्धि गराएर देशकै समृद्ध प्रदेश बनाउन सक्छौं ।
यहाँ जलविद्युत्सहित शिक्षा, स्वास्थ्य, खेलकुदको पनि उत्तिकै सम्भावना छ । यी सबै कुराको सही ढंगले पूरा गर्न हामीलाई कम्तीमा पनि पाँच बर्ष लाग्छ । यो एमालेसहितको वाम गठबन्धनले पूरा गरिछाड्छ ।

वाम गठबन्धन लोकतन्त्रको पक्षमा छैन

यज्ञबहादुर थापा
प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेस उम्मेदवार
कास्की क्षेत्र नम्बर १

प्रजातन्त्र स्थापनाको लडाइँमा लामो समय अनवरत लडेको मान्छु हुँ । कास्की क्षेत्र नम्बर १ का जनतालाई यो कुरा थाहा छ । नेपाली कांग्रेसका तर्फबाट संविधानमा धेरै कुरा गरेको थिइनँ, मात्र नयाँ संविधान ल्याउँछौं भन्ने वचन दिएको थिएँ । आज त्यो सपना पूरा गरी जारी संविधानलाई कार्यान्वयन गर्नका लागि प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा पुनः जनताको घरदैलोमा पुग्दै छु । हामी विजयीको नजिक छौं ।
२०७० सालको निर्वाचनमा निर्वाचित भएपछि केही विकास–निर्माणको कामको सुरुवात भएको छ, जसमा भगवती टावर सडक निर्माणलगायतको क्षेत्रमा १४ करोडको बजेट विनियोजन गराएका थियौं । पहिलो संविधान निर्माणमा कम्युनिस्टहरूको बाहुल्यता रह्यो, दोस्रो संविधान निर्माणमा हाम्रो पार्टीलाई विश्वास गरेर मलाई विजयी गराएका हुन्, मैले जनतालाई कहिल्यै ठूला र गर्न नसक्ने सपना बाँडिनँ । संविधान निर्माण गर्न हाम्रो भ्ूमिका रह्यो ।
एकैपटकमा विकासमा कायपलट हुँदैन । विकासको केही कामको सुरुवात मैले गरेको छु, जुन काम पूरा गर्न पनि पुनः निर्वाचनमा होमिएको हुँ । बहुलवाद र शासकीय स्वरूप फेर्ने कुरा वाम गठबन्धनले ल्याएको छ । वाम गठबन्धनले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने देखिन्छ, त्यस्तै वाम गठबन्धनको नियत लोकतन्त्रको पक्षमा छैन ।
पोखरालाई प्रदेश नम्बर ४ को राजधानी बनाउने कुरामा सायद कुनै विकल्प छैन । पर्यटन, प्राकृतिक, कृषि तथा धार्मिक पर्यटनको पर्याप्त सम्भावना रहेको प्रदेश ४ मा जलविद्युत्को समेत उत्तिकै सम्भावना छ । धार्मिक पर्यटनको कुरा गर्दा नवलपरासीको वर्दघाटदेखि गोरखाको मनकामना, मुक्तिनाथको बेनी भएर लुम्बिनीबाट भारतको मानसरोवरसम्म जोड्न सकिन्छ । सात तालको सहर भनेका छौं, तर तालको अवस्था राम्रो छैन । ती सबैको संरक्षण र संवद्र्धन गर्नुपर्ने आवश्यकता छ ।
यहाँका तालतलैया, हिमश्रृंखलाले उत्तिकै पर्यटनको सम्भावनालाई उजागर गरेको छ । यी सबैको राम्रोसँग सदुपयोग गर्न सकेको खण्डमा यहाँको विकास सम्भव छ । हाम्रा खोलानालामा पैसा बगेर गएको छ, जसलाई हामीले प्रयोग गर्न सकेका छैनौं । यहाँ विकासको धेरै सम्भावना छ ।
हामी पोखरामा अन्तर्राष्ट्रिय सभागृह बनाउने अभियानमा रहेका छौं । पोखरामा बसपार्क र चिडियाखानालाई व्यवस्थित पार्न पनि हामी लाग्नेछौं । जनतालाई झूटा आश्वासन दिन जान्दैनौं । विकास भनेको एक प्रक्रिया हो । सडक सञ्जाल विस्तार गर्ने पनि हाम्रो चुनावी एजेन्डाभित्र परेको छ । 

औद्योगिक, कृषि क्रान्ति आजको आवश्यकता

रवीन्द्र अधिकारी
प्रतिनिधिसभा सदस्यका एमाले उम्मेदवार
कास्की क्षेत्र नम्बर २

हामीले संविधान निर्माण ग¥यौं । जनताले आफ्नो संविधान आफैं बनाए । एक हिसाबले अब राजनीतिक लडाइँ सकिएको छ । अब हाम्रा अगाडि आर्थिक विकास, समृद्धिको मुद्दा आएको छ, त्यसका लागि आर्थिक क्रान्ति आजको मुख्य आवश्यकता हो ।
औद्योगिक क्रान्ति, कृषि क्रान्ति, पूर्वाधार विकास आजको आवश्यकता हो । सडक यातयातलगायतका पूर्वाधार आजको आवश्यकता हो । पर्यटन पूर्वाधार, हवाई मार्ग, रोजगारी सिर्जना, उद्यमशीलताको विकास, दक्ष जनशक्ति उत्पादन, वैदेशिक पुँजी र प्रविधि भिœयाएर यो देशलाई न्याय र समानतामा आधारित समृद्ध देश बनाउने हाम्रो मुख्य एजेन्डा हो । त्यसका लागि राजनीतिक स्थायीत्व आवश्यक पर्छ, जसका कारण हामी वाम एकता गरेर अघि बढेका हौं ।
पाँच वर्ष सरकार चलाउँदा साधारण कामको सुरुवात गर्नेछौं । हाम्रो ध्यान यति बेला राष्ट्रिय ध्यानमा केन्द्रित भएको छ । आफू निर्वाचित भएको क्षेत्रलाई विकसित र समृद्ध बनाउने लक्ष्य छ ।
प्रदेश नम्बर ४ सम्भावना नै सम्भावनाले भरिपूर्ण क्षेत्र हो । हाल देशमा उत्पादन भएको विद्युत्को ५० प्रतिशत उत्पादन यहीँ हुन्छ भने करिब ५० प्रतिशतजसो पर्यटकको गन्तव्य प्रदेश नम्बर ४ मै छ । कृषि र उद्यमशीलताको विकासको पनि उत्तिकै सम्भावना रहेको यस क्षेत्रमा मुख्य गरी पर्यटन, कृषि र औद्योगिक विकासमा हामीले ध्यान दिने हो । प्रदेश नम्बर ४ को विकासको पूर्वाधारका लागि पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको निर्माणकार्य अघि बढाएका छौं । काम धमाधम भएको छ । उत्तर र दक्षिण जोड्ने बाटो निर्माण भएको छ । यस क्षेत्रमा मध्यपहाडी लोकमार्ग जोडिएको छ । अन्य योजना अघि बढेका छन् । शिक्षा, स्वास्थ्य, साहित्य र कलाको पनि यहाँ उत्तिकै सम्भावना छ ।
प्रतिव्यक्ति आम्दानी सबैभन्दा बढी हुने स्मार्ट प्रदेश बनाउने अभियानमा छौं । पोखरा र लेकसाइडलाई मात्र पर्यटकीय क्षेत्रका रूपमा नलिई अन्य क्षेत्रलाई जोड्ने कम्तीमा एकदेखि डेढ घण्टासम्ममा पुग्ने सडक सञ्जाल विस्तार पनि हामी गर्नेछौं । यी सबै योजना पूरा गर्न मेरो उम्मेदवारी हो । यदि मैले यो क्षेत्रबाट जितेमा यहाँको सम्भावनाको खोजी गरी आर्थिक विकास र समृद्धिको बाटोमा लैजानेछु ।

पोखरा क्षेत्रको सौन्दर्यता दिनानुदिन घट्दो छ 

देवराज चालिसे
प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेस उम्मेदवार
कास्की क्षेत्र नम्बर २

 

विकासका लागि राजनीति नगरौं, कुरामा भन्दा व्यवहारमा जनताले पत्याउने कुरा गरौं, म त्यो भन्न चाहन्छु । हामीले अहिलेसम्म जनतालाई ठूला–ठूला सपना बाँड्यौं, तर आधुनिक सहर स्थापनाका लागि खै के ग¥यौं ? कसले कहाँ के गरेका छन् ? लोकतन्त्रमा उदासीनता भएकाले अब गफ गरेका भरमा जनताले कसैलाई पत्याउँदैनन् । विकासका लागि दृष्टिकोण, अल्पकालीन–दृर्घकालीन, लोभी–पापी नभई जनताका लागि समय दिने— यी सबै समस्या समाधानका लागि मेरो उम्मेदवारी हो ।
शान्ति, राष्ट्रिय स्थायित्व, समृद्धिका लागि राष्ट्रिय मुद्दामा हामी होमिएका छौं । प्रदेश नम्बर ४ को प्राकृतिक सौन्दर्यता तथा मानव संसाधनलाई सही ढंगले पुँजीको परिचालन गर्न सकेको खण्डमा यहाँको पर्यटनबाट आर्थिक समृद्धि र विकास सम्भव छ । यहाँ भएको प्राकृतिक तथा सांस्कृतिक स्रोतसाधनको प्रयोगका लागि उचित ढंगले पुँजी परिचालन गर्नुपर्छ । विगतमा यस्ता विकास–निर्माणका कुरामा ध्यान पुगेन, अब हाम्रो पालामा यस्ता विकास–निर्माणमा जोड दिने गरी दरिलो ढंगले अघि बढेका छौं ।
सडक सञ्जाल, पर्यटनमैत्री लगानी, नयाँ पर्यटकीय गन्तव्यहरूको खोजी र प्रवद्र्धन, पोखरालाई चीनदेखि भारतसम्म जोड्ने सडक तथा हवाई मार्गको सहज पहुँच पु¥याउनु पनि हाम्रो मुख्य मुद्दा हो । जलस्रोतमा राजनीति गर्नु भएन, जनताको सम्पत्तिका रूपमा रहेका सयौं खोलानालाको पानी त्यसै बगेर गएको छ । निष्क्रिय श्रमलाई उत्पादनमा जोड्नुपर्छ । प्रविधिको विकास, लगानीको बजार, बजारको ग्यारेन्टी तथा स्वदेशमा काम गर्ने वातावरण राज्यले मिलाउनुपर्छ । जनतालाई रोजगारीका लागि विदेश पठाउनुभन्दा आत्मनिर्भर हुने गरी प्राविधिक शिक्षा, सीप तथा दक्ष जनशक्ति उत्पादनमा हामी जोड दिनेछौं । नीतिको अभावले गर्दा पोखरा क्षेत्रको सौन्दर्यता दिनानुदिन घट्दो क्रममा छ । पोखराको सुन्दरता कायम राख्न उचित नीति आवश्यक छ । बाटाको मापदण्ड, पार्किङ व्यवस्थापन, व्यवस्थित पार्क, हाम्रो सौन्दर्यताजस्ता कुरामा हामी आफंैले दिएको मापदण्डमा पछि फेरि आफैंले भत्काउनेसम्मका काम यहाँ हुने गरेका छन् । अब त्यसो हुन नदिन पनि हामीलाई जनताले भोट दिनेमा हामी पूर्ण विश्वस्त छौं ।

 समृद्ध नेपाल बनाउन मेरो उम्मेदवारी

जगत विश्वकर्मा
प्रतिनिधिसभा सदस्यका एमाले उम्मेदवार, वाम गठबन्धन
कास्की क्षेत्र नम्बर ३

सर्वप्रथम त म प्रतिनिधिसभा सदस्य पदमा म वाम गठबन्धनका तर्फबाट उठ्दै छु । वाम गठबन्धनले जुन संकल्प लिएर हामीलाई उम्मेदवारीका रूपमा उठाए, त्यसका लागि हामी जनताको घरदैलोमा दुईतिहाइ मत माग्दै हिँडेका छौं । जारी संविधानलाई कार्यान्वयन गर्न, राष्ट्रिय स्वाधीनतालाई मजबुत पार्न, सामाजिक न्यायमा आधारित समतामुलक समाज निर्माण गर्न, आर्थिक समृद्धिसहितको सुखी नेपाली र समृद्ध नेपाल बनाउन मेरो उम्मेदवारी हो ।
वाम गठबन्धन सिंगो नेपाललाई समृद्ध गर्ने मुख्य एजेन्डाका साथ आएकाले हाम्रो जिल्लालाई विकास गरी हामो निर्वाचन क्षेत्र, गाउँ, वडामा पूर्वाधार विकास गरेर सबै जनतालाई सुखी तुल्याउने हाम्रो यो सार्थक अभियान ठहर्छ । प्रदेश नम्बर ४ को अब बन्ने राजधानी पनि सायद पोखराको विकल्प हँुदैन, प्रत्येक जन–जनले अघोषित रूपमा यही चाहेका छन् । पर्यटनको राजधानी कास्की जिल्ला क्षेत्र नम्बर ३ अन्य क्षेत्रको तुलनामा अझ बढी पर्यटनको सम्भावना भएको क्षेत्र हो । कास्कीमा मनोरम हिमश्रृंखला, खोलानाला, विभिन्न जनजातिको बहुल्यता, पर्यटन, कृषि, लेकको भूभाग, चरन क्षेत्र, जडीबुटीका हिसाबले धनी जिल्ला भएकाले यहाँको सम्भावनालाई हामीले उचित हिसाबले प्रयोग गर्न सकेको खण्डमा आर्थिक समृद्धि र विकास गर्न कुनै कठिनाइ हुँदैन । हामी यहाँ भएका स्रोतसाधनको प्रयोग गरेर, कृषि, पर्यटन, ऊर्जामा भएका सम्भावनाको खोजी गरेर अनि त्यसलाई अधिक रूपमा परिचान गरेर त्यसका लागि नेतृत्वदायी भूमिका खेल्न सक्छौं । जनताको विश्वास लिएकाले वाम गठबन्धनको संकल्पमा लागेकाले मेरो जित शतप्रतिशत सुनिश्चित भएको छ ।
म एउटा पार्टीको उम्मेदवार मात्र नभई स्थानीय जनताको सारथि भएको नाताले पनि मप्रति जनता अझ नजिक भएको मैले महसुस गरेको छु । गोर्खा, मनाङलगायतका दुर्गम क्षेत्रमा वडा, गाउँ, इलाका, अञ्चल, केन्द्रसम्म काम गरेको अनुभवले पनि मलाई धेरै कुराको ज्ञान छ । सुशासन तथा भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने तथा सबैमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने काममा मेरो निजी जीवनमा हालसम्म कुनै पनि दाग नलागेकाले पनि भोलिका दिनमा यस्तै हिसाबले काम गर्ने ईच्छा भएकाले जनताले मलाई यसपालि पत्याउनेमा पूर्ण विश्वस्त छु । 

पाच वर्षमा पोखराको मुहार फेर्न सकिन्छ

शुक्रराज शर्मा
प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेस उम्मेदवार
कास्की क्षेत्र नम्बर ३

लामो समयदेखि परिचित भएकाले मैले मेरा करिब ८५ प्रतिशत मतदातालाई राम्रोसँग चिनेको छु । विगत ५२ वर्षदेखि जनताको हरेक दुःखसुखमा साथ दिँदै आएको छु । सबैको सहानुभूतिले गर्दा पनि मैले जित्ने सुनिश्चित भएको छ । म आफैं सरल स्वभावको व्यक्ति हुँ । विकासको मुद्दामा कास्कीमा हामी कुनै राजनीति गर्न खोज्दैनौं । त्यो विगतले पनि देखाएको छ ।
पार्टी फरक भए पनि विकासको साझा मुद्दामा हामी जहिले पनि एक छौं र भोलि पनि एक हुनेछौं । प्रजातन्त्रवादीविनाको अगुवाइ भए देशमा दुर्घटना हुन्छ, त्यसैले प्रजातन्त्रवादीको नेतृत्वमा देशको आर्थिक विकास र समृद्धि पनि सम्भव छ । जारी संविधान कार्यान्वयनसहितको आर्थिक विकास र समृद्धि हासिल गर्न पनि मेरोे उम्मेदवारी हो ।
प्रदेश नम्बर ४ मा प्राकृतिक सम्पदा धेरै छन्, उपयोग गर्न सके यसलाई देशकै नमुना प्रदेश बनाउन सकिन्छ । यहाँको स्रोतसाधन, जडीबुटीको अधिकतम प्रयोग गर्न सकिन्छ । संसारका लाखौं हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूलाई धार्मिक पर्यटनमार्फत मुक्तिनाथ, पन्चासे मन्दिरलगायतका क्षेत्रमा पर्यटकका रूपमा लैजान सकिन्छ । कास्कीलाई हाम्रो पार्टीले देशको मात्र नभई संसारकै नमुना पर्यटकीय गन्तव्यका रूपमा परिचित गराउन सकिन्छ । पाँच वर्षमा यहाँको मुहार फेर्न सकिन्छ, घरघरमा प्राविधिक शिक्षा, व्यक्तिव्यक्तिमा सम्पन्नता, दृढ विश्वासका साथ हाम्रो संकल्प पूरा गर्न जनताले हामीलाई यसपालि पक्कै विजयी गराउने पूर्ण आशामा हामी छौं । धेरै वर्ष जनताले राजनीतिमा त्याग गरे । अब देशमा आर्थिक विकास र समृद्धिमा गाउँगाउँ–टोलटोलबाट लाग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्