रुकुमका तीन मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी सबै महिला

१ सय ११ मतदान केन्द्र रहेको रुकुम पश्चिमका ३ वटा मतदान केन्द्रहरुमा सुरक्षाकर्मीदेखि कर्मचारीसम्म सबै महिलामात्र खटिएका छन् । सदरमुकाम मुसिकोट नगरपालिकाभित्रका सरस्वती मावि सल्ले, शिव आधारभूत विद्यालय पिपलनेटा र यमुना नन्द नमुना मावि सेरीगाँउ मतदान केन्द्रमा सबै कर्मचारी र सुरक्षाकर्मी महिलामात्र खटिएका हुन् ।
सरस्वती मावि सल्लेको क मतदान केन्द्रमा अनिता दण्डख्या मतखान अधिकृत छिन् भने शिव आधारभूत प्राविको मतदान अधिकृतमा हृदयकली पौडेल छिन् । यस्तै यमुनानन्द माविको ख मतदान केन्द्रमा दिक्षा पोख्रेल मतदान अधिकृत छिन् । तीनवटै मतदान केन्द्रमा ८÷८ जना कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिम जिल्ला निर्वाचन अधिकारी कमलमणि देवकोटाले जानकारी दिए । उनका अनुसार महिलाले पनि जिम्मेवारी बहन गर्न सक्छन् भन्ने विश्वासका साथ महिला कर्मचारी मात्र मतदान केन्द्रमा खटाएको छ ।
आज हुने प्रतिनिधि सभा र प्रदेश सभा निवार्चनको सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिमले जनाएको छ । नयाँ तथा पुराना अधिकांश मतादता परिचयपत्र वितरण गरिएको बताइएको छ । जिल्लाको शान्ति सुरक्षा व्यवस्थित बनाइएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।