१० महिनामा ११५ किशोरी आमा «

१० महिनामा ११५ किशोरी आमा

जिल्लामा २० वटा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । ती संस्थाहरूको तथ्यांकलाई पनि हेर्ने हो भने २० वर्ष पूरा नगरी आमा बन्नेहरूको तथ्यांक भयावह देखिन्छ । यसरी सानै उमेरमा आमा बन्नेको संख्या हेर्दा जिल्लामा बाल विवाह समस्याकै रुपमा रहेको देखिन्छ । तर हालसम्म जिल्लामा बालविवाहको उजुरी भने कुनै पनि निकायमा आउने गरेको छैन ।

सिन्धुलीमा २० वर्ष नपुगी आमा बन्नेको संख्या बढ्दै गइरहेको पाइएको छ । बाल विवाहका कारण किशोरीमै आमा हुनेको संख्या बढ्दै गएको हो ।
वर्षेनी २० वर्षमुनिका किशोरी प्रसूति हुन स्वास्थ्य संस्थामा आउनेको संख्या बढ्दो क्रममा रहेको जिल्ला अस्पताल सिन्धुलीको तथ्यांकले देखिएको छ । यस चालू वर्षको १० महिनामा मात्रै १ सय १५ जना किशोरी आमा बनेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
जिल्ला अस्पताल सिन्धुलीको प्रसूति कक्षको तथ्यांकले २० वर्षमुनि आमा बन्नेहरूको संंख्या बढी मात्रामा रहेको जनाएको छ । नेपालको कानुनले २० वर्ष नपुगी विवाह गर्न नपाइने भने पनि जिल्लामा २० वर्षमुनी आमा बन्नेहरू अत्यधिक मात्रामा रहेको उल्लेख गरिएको छ ।
जिल्ला अस्पतालको तथ्यांकमा २०७४ सालको साउन महिनादेखि २०७५ वैशाख पहिलो हप्तासम्ममा १ सय १५ जना किशोरीहरू आमा बनेको देखिएको छ । उक्त तथ्यांकमा श्रावण महिनामा १५ जना, भदौमा १७, असोजमा १६, कार्तिकमा १०, मंसिरमा १३, पुसमा ११, माघदेखि वैशाख पहिलो हप्तासम्ममा ३३ जना किशोरीहरू प्रसूति सेवा लिन अस्पताल आएको देखिएको हो ।
यो त जिल्लामा सञ्चालित एक मात्र प्रसुति केन्द्रको विवरण हो । जिल्लामा २० वटा बर्थिङ सेन्टरहरू सञ्चालनमा रहेका छन् । ती संस्थाहरूको तथ्यांकलाई पनि हेर्ने हो भने २० वर्ष पूरा नगरी आमा बन्नेहरूको तथ्यांक भयावह रहेको अस्पताले जनाएको छ ।
यसरी सानै उमेरमा आमा बन्नेको संख्या हेर्दा जिल्लामा बाल विवाह समस्याकै रुपमा रहेको देखिन्छ । तर हालसम्म जिल्लामा बालविवाहको उजुरी भने कुनै पनि निकायमा आउने गरेको छैन । अस्पतालको तथ्यांकका आधारमा जिल्लामा बालविवाह गर्नेको संख्या पनि ठूलो रहेको देखिएको छ ।
बालविवाह अन्त्यका लागि लामो समयदेखि जिल्लामा विभिन्न कार्यक्रम भइरहेका छन् । तर, पनि बालविवाहमा कमी आउन सकेको छैन । सरकारी तथा गैरसरकारी निकायबाट पनि बालविवाह विरुद्धका अभियान सञ्चालन भइरहेका छन् । बालविवाह विरुद्ध काम गर्ने संघसंस्थाले बालविवाह न्यूनीकरण भएको दाबी गरिरहे पनि अवस्था उस्तै रहेको अस्पतालको तथ्यांकबाट प्रष्ट हुन आउँछ ।
बालविवाह अन्यकै लागि भनेर विभिन्न संघसंस्थाले करोडौँ रकम खर्चे पनि वाल विवाह समस्याका रुपमा अझै पनि रहेको छ । कम उमेरमा विवाह गरेर किशोरी आमा बन्नुमा अन्धविश्वास र सामाजिक परम्परा प्रमुख कारणका रुपमा देखिएको छ । सामाजिक संस्कार तथा मूल्य मान्यताका कारण यसमा प्रत्यक्ष असर परेको सरोकारवालाहरू बताउँछन् । यस्तो गलत संस्कारको अन्त्यका लागि जनचेतनाको आवश्यकता रहेको उहिरूको भनाइ छ ।
कृञ्जला पुलामी

प्रतिक्रिया दिनुहोस्