एमाले–माओवादी एकतामा ‘ब्रेक थ्रु’

» एकता संयोजन समितिको बैठक आज |
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया निणार्यक बिन्दुमा पुगको छ । एकता गर्न सहमत भएको सात महिनापछि दुई दलबीच औपचारिक एकता हुन लागेको हो ।
गत असोज १७ गते प्रतिनिधिसभा र प्रदेसशभा निर्वाचनका लागि गठबन्धन घोषणा गर्दा नै दुई दलबीच एकता गर्ने सहमति जुटेको थियो । बुधबार बिहान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहालबीचको छलफलले एकताका गर्ने गरी सहमति जुटाएको हो । स्रोतका अनुसार दुई पार्टीबीच मदन भण्डारीको २५ औं स्मृति दिवसको दिन (आज) बिहीबार सम्भवतः एकता घोषणा हुनेछ । आज एकता नभए ६ गते एकता घोषणा हुनसक्ने बताइएको छ । दुई नेताबीच आजै बिहान १० बजेका लागि एकता संयोजन समितिको बैठकसमेत बोलाउने सहमति भएको छ । एमाले उपमहासचिव विष्णु पौडेलका अनुसार दुई नेताबीचको छलफलबाट टुंगो लागेका विषयलाई एकता संयोजन समितिको बैठकले अन्तिम रूप दिने र एकताको मिति समेत तोक्नेछ ।
स्रोतका अनुसार जेठ ७ गते सरकारको नीति तथा कार्यक्रम आउने भएकाले त्यो भन्दा अघि नै एकताको घोषणा गर्ने सहमति भएको भएको छ । एमाले र माओवादीको सम्बन्ध पछिल्लो समय चिसिएको विश्लेषण भइरहेका थिए । तर दुई नेताको भेटले एकअर्कासँगका आंशका मेटाएको बताइएको छ । पछिल्लो समय दुई पार्टीबीच सरकार सञ्चालन, भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण र प्रधानमन्त्री ओलीको अघिल्लो साता सोमबार आएको ट्वीटले दूरी बढाएको थियो ।
पार्टी एकता संयोजन समितिको गत वैशाख ४ गते बसेको बैठकले पार्टी एकता विवादित विषयमा अन्तिम टुंगो लगाउने जिम्मा दुई पार्टीका अध्यक्षलाई दिएको थियो ।
सोही अनुरूप दुई पार्टीका अध्यक्षबीच पटक पटक गोप्य वार्ता भएको थियो । गत वैशाख २० गते बसेको दुई अध्यक्षबीचको गोप्य वार्ताले पार्टी एकताका विवादित विषयलाई टुंगोमा पुर्याएको बताइए पनि दाहालले भने कुनै सहमति नभएको बताउँदै आएका थिए । बुधबारको बैठकले विवादित विषयमा हल खोजेको स्रोतको दाबी छ । संगठनात्मक स्वरुप, कार्यनीति चुनाव चिन्ह र जनयुद्धलाई कसरी हेर्ने भन्ने बारेमा दुई पार्टीबीच मतदभेद थियो । दुई नेताबीच केन्द्रीय समितिमा करिब बराबरी हैसियतमा दुवै दलका नेता समावेश गरिने सहमति भएको छ । यसैगरी एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य चिन्ह हुने भएको छ ।
यसैगरी राजनीतिक प्रतिवेदनमा राजनीतिक परिवर्तनमा माओवादी जनयुद्धलाई समावेश गर्ने सहमति जुटेको बताइन्छ ।