उर्थुमा पक्कीपुल निर्माण हुँदै

जुम्लाको पूर्वमा पर्ने पातारासी गाउँपालिकाका विभिन्न वडा जोड्ने उर्थुचौतारा पक्की पुल निर्माणकार्य तीव्र गतिमा अघि बढेको छ । गाउँपालिकाभित्रका सबै वडा सडक सञ्जालमा जोडिए पनि उर्थुको पक्की पुल वर्षौंदेखि नबन्दा विगतदेखि हालसम्म घण्टौं पदैल हिँड्ने र पिठ्युँमा भारी बोक्नु पर्ने बाध्यता छ ।
तर स्थानीय सरकार आएपछि निर्माणका लागि ताकेता दिएपछि हाल निमार्णकार्य तीव्र गतिमा बढिरहेको गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताए । उनका अनुसार, पक्की पुल समयमै निर्माण नहुँदा गाउँपालिकाले उपहार स्वरुप पाएको एम्बुलेन्सले पनि सबै वडामा सेवा दिन सकेको छैन । पुल नभएकै कारण एम्बुलेन्सले पातारासी गाउँपालिकाको पूर्वीक्षेत्र डिल्लीचौर तिरमात्रै सेवा दिइरहेको छ भने पश्चिमतिरका, बाँङखोला, उर्थुचौतारा, घोडेसिन, राजीकोटलगायत अन्य बस्तीका नागरिक अहिले पनि पिठ्यँुमा बिमारी र भारी बोक्नु पर्ने स्थिति छ । पुल निर्माणकार्यको ९० प्रतिशत काम सकिएको छ ।
पातारासी गाउँपलिकाका सबै वडामा लगभग सडक पुगिसकेको छ । स्थानीय तहले पहिलो प्राथमिकता नै सडक विस्तारमा दिएकाले प्रायः वडामा सडक पुगेका छन् । सडक पुगेर पनि सुलभ सेवा अझै नपाउनु पक्की पुल समयमै निर्माण नहुनु नै हो ।
तर अब उर्थुको पक्की पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको खण्डमा पातारासी गाउँपालिका पनि चक्रपथमा जोडिने छ । स्थानीय सरकारले प्रत्येक बस्तीमा सडक पुराएको छ । भारी बोक्ने समस्या, हटोस्, बिरामीले एम्बुलेन्सबाट सेवा पाउन, बिरामीलाई मृत्युको मुखमा कुराई खोला पारिबाट खोलावारिको एम्बुलेन्स टुलुटुलु हेर्ने समस्या अब चाँडै निराकरण हुने देखिएको छ ।
जुम्ला सदरमुकामबाट जाने, राजीकोट, बाङखोला, घोडेसिन, पेरे, लोर्पा, डिल्लीचौर, लासी, छुमचालगायतका बस्तीमा स्थानीय तहले सडक पुराइसकेको छ । पुल निर्माण हुने बित्तिकै पातारासी गाउँपालिका स्थानीयको वर्षौंदेखि गाडी चढ्ने रहर पूरा हुने भएको छ । स्थानीय सरकारले गाउँगाउँमा सडक पुराए पनि पक्की पुल अधुरै रहेकाले अहिलेसम्म कुनै सवारीसाधन गाउँमा पुगेका छैनन् । पक्की पुल निर्माण नभएकै कारण भारतीय दुतावासबाट दिएको एम्बुलेन्सले एकतर्फीमात्र सेवा दिएको छ भने तीन साता अघि मात्रै खोला वारि एम्बुलेन्स पर्खिँदा एकजनाको ज्यान गएको थियो ।