Logo

नेपाल भियतनाम सीधा हवाई सम्पर्क, लगानी विस्तारमा जोड

निजी क्षेत्रले नेपाल तथा समाजवादी गणतन्त्र भियतनामबीच सीधा हवाई सम्पर्क तथा लगानी विस्तारमा जोड दिएको छ ।
नेपाल तथा समाजवादी गणतन्त्र भियतनामबीच दौत्य सम्बन्ध स्थापना भएको ४३ वर्ष पुगेको अवसरमा मंंगलबार नेपाल भियतनाम भेम्बर अफ कमर्सद्वारा आयोजित ‘द्विपक्षीय व्यापार तथा पर्यटन अवसर’ विषयक कार्यक्रममा बोल्दै विशेष अतिथि नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत डा. राजेशकाजी श्रेष्ठले दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको ४३ वर्ष पुगेकोमा शुभकामना व्यक्त गर्दै दुई देशबीच सीधा हवाई सम्पर्क स्थापना, लगानी विस्तार तथा पर्यटन विस्तारमा कन्सुलेटले पहल गर्दै आइरहेको बताए । साथै उनले प्रतिनिधि मण्डलको आदान–प्रदान, नेपाली व्यवसायीहरूलाई मेलाहरूमा सहभागिता गराई आर्थिक, व्यापारिक सम्बन्ध विस्तार गर्दै आएको कुरा बताए ।
कार्यक्रममा द्विदेशीय चेम्बरकाका अध्यक्ष दीपक मल्होत्राले स्वागत मन्तव्य दिँदै दुई देशबीचको आर्थिक, व्यापारिक तथा पर्यटन वृद्धिका लागि संघले विविध कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको कुरा बताए । भियतनामले छोटो अवधिमा उत्पादन तथा उद्योगमा धेरै विकास गरेको र नेपालले पनि आर्थिक वृद्धिका लागि उत्पादकत्व वृद्धिमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नायव कार्यकारी निर्देशक सुयस खनालले दुई देशबीच विद्यामान व्यापारिक अवस्था तथा संभावनाहरू तथा नेपाल टुरिजम बोर्डका अफिसियटिङ सीईओ नन्दिनी थापाले दुई देशबीच पर्यटन विकासका संभावनाबारे मन्तव्य प्रस्तुत गरे ।
प्रमुखअतिथि परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले आर्थिक कूटनीतिको माध्यमबाट नेपाल सरकारले विभिन्न मुलुकहरूसँग व्यापार, वाणिज्य, पर्यटन, प्रविधि हस्तान्तरण आदि क्षेत्रको विस्तारका लागि कार्य गर्दै आएको कुरा बताएका थिए । साथै नेपालमा लगानी वृद्धि गर्ने तथा आर्थिक समृद्धिका लागि सरकार लागि परेको पनि जानकारी गराए । यस कार्यमा निजी क्षेत्रको समेत ठूलो भूमिका हुने हुँदा सल्लाह सुभाव लिई सहकार्य गर्ने कुरासमेत बताए ।

 

प्रतिक्रिया दिनुहोस्