Logo

स्थानीयको सक्रियतामा पुल

स्थानीय बासिन्दाको सक्रियतामा गोरखाको अबुवा–मनकामना सडकअन्तर्गत लुदीखोलामा मोटरेबल पुल निर्माण भएको छ ।
अबुवा–मनकामना सडक खनेको २२ वर्षमा स्थानीयकै सक्रियतामा बनेको मोटरेबल पुलको प्रदेश नं ४ का भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले उद्घाटन गरे । करिब ४० मिटर लामो एक लेनको पुल १ करोड ७३ लाख १० हजार रुपैयाँको लागतमा निर्माण भएको निर्माण समितिका सचिव रामप्रसाद पोखरेलले बताए । डोलिडारको स्थानीय सडक पुल कार्यक्रमको प्राविधिक सहयोगमा जीएम एन्ड पुष्पाञ्जली जेभीले निर्माण सुरु गरेको ६ महिनामै काम सम्पन्न भएको पुल निर्माण समितिले जनाएको छ । साविकको बक्राङ गाविस १, २ र ३ नं वडाका बासिन्दाले चन्दा संकलन गरेर पुल निर्माणको काम थालेकोमा अन्य संघसंस्थाबाट पनि सहयोग मिलेको पोखरेलले बताए । निर्माण समितिका अनुसार स्थानीय जागृति मिसन चर्चमार्फत विदेशी नागरिक डेभिड र सेलीले ७४ लाख ९७ हजार ७९२ रुपैयाँ, सिटी लाइट चर्चले ५९ लाख ८२ हजार ८२६ रुपैयाँ र साउथ अफ्रिकाको चर्चबाट ३ लाख ७५ हजार ५७७ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
यस्तै, साविकको जिल्ला विकास समितिले १६ लाख ५४ हजार १०३, साविकको बक्राङ गाविसको १ लाख ५० हजार र रामलक्ष्मण सामुदायिक वनको १ लाख ७३ हजार रुपैयाँ खर्च भएको छ । गोरखा नगरपालिका र सहिद लखन गाउँपालिका जोड्ने लुदीखोलामा मोटरेबल पुल बनेपछि सहिद लखन गाउँपालिकाअन्तर्गत बक्राङ, मनकामना लगायतका क्षेत्रका कृषि उपजहरू अबुवा बजारसम्म ल्याएर बेच्न सजिलो हुने स्थानीयले बताएका छन् । सहिद लखन गाउँपालिका मनकामनाका इश्वर दुवाडीले वर्षायाममा आउजाउ गर्न सजिलो हुने बताए । उनले भने, “यो खोलामा पुल नहुँदा वर्षायाममा खोला वारिपारि गाडी बसेर हामी आफैं खोला तर्नुपथ्र्यो । अब सिधै गाडीमै आउजाउ गर्न सकिने भयो ।” मनकामनाकी सरस्वती अर्यालले भनिन्, “मनकामना, बक्राङका मान्छे बिरामी हुँदा उपचारका लागि गोरखा बजार, खैरेनी, लैजान स्ट्रेचरमा बिरामी ओसार्न पथ्र्यो अब त एम्बुलेन्स चल्ने भो ।” बक्राङका रत्नबहादुर थापाले किसानले उत्पादन गरेका चिजले अब बजार पाउन सजिलो हुने बताए । उनले भने, “बक्राङतिर आजभोलि दूध उत्पादन धेरै हुन्छ, तरकारीखेती पनि थालेका छन् । अब खैरेनी बजारमा बेच्न जान सजिलो भयो । बजारको सामान गाउँमा पु¥याउन पनि सजिलो भयो ।” अबुवाबाट १४.६ किमि कच्ची सडक यात्रा गरेपछि मनकामना मन्दिरसम्म पुग्न सकिने भएकाले मोटरेबल पुल बनेसँगै मन्दिर जाने भक्तजनलाई पनि सजिलो हुने पुल निर्माण समितिका अध्यक्ष रामबहादुर परियारले बताए ।

प्रतिक्रिया दिनुहोस्