वीरगन्जलाई सुरक्षित राख्न १५ लाख सहयाेग

आर्थिक नगरी वीरगन्जलाई सुरक्षित राख्नका लागि जडान गरिने सीसीटिभी क्यामेराका लागि वीरगन्ज महानगरपालिकाले १५ लाख सहयोग गरेको छ । महानगरको सुरक्षा र सरसफाइका लागि वीरगन्ज उद्योग वाणिज्य संघलाई १५ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो । वीरगन्ज महानगपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख (मेयर) विजयकुमार सरावगीले वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मालाई १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । वीरगन्जको सुरक्षा तथा सरसफाइलाई नियमित अनुगमनका लागि वीरगन्ज महानगरलाई सीसीटिभी क्यामेराको पूर्ण निगरानीमा राख्ने योजनाअनुसार उद्योग वाणिज्य संघलाई महानगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको हो । वीरगन्ज महानगरपालिका उद्योग वाणिज्य संघ र विभिन्न औद्योगिक घारानाहरुको आर्थिक सहयोगमा क्रमिक रूपमा वीरगन्जको सबै स्थानहरुमा सीसीटिभी क्यामेरा जडान गर्ने योजना रहेको महानगरले जनाएको छ ।