चीनद्वारा आयात भन्सारमा कटौती «

चीनद्वारा आयात भन्सारमा कटौती

खर्च बढाउन र आर्थिक वृद्धिलाई टेवा दिनका लागि चीनले ह्विस्कीदेखि लिएर लत्ताकपडासम्मका १ सय ८७ उपभोक्ता सामानको आयातमा भन्सार कटौती गर्ने भएको छ ।
औषधी, खाद्यान्न, स्वास्थ्य सेवा र लत्ताकपडालगायतका यी सामग्रीमा भन्सार औसात १७.३ बाट कटौती गरेर ७.७ प्रतिशत कायम गर्न लागिएको वित्त मन्त्रालयले जनाएको छ ।
यो कटौती डिसेम्बरको सुरुदेखि कार्यान्वयनमा आउनेछ ।
यो कदमले उपभोक्तालाई विदेश भ्रमणमा खर्च गर्नुको सट्टा स्वदेशमै बढी खर्च गर्नका लागि प्रोत्साहन गर्ने लक्ष्य लिएको छ ।
यसलाई उपभोक्ता सञ्चालित अर्थतन्त्र सिर्जना गर्ने कदमको अंशका रूपमा हेरिएको छ । साथै, यसलाई विश्व अर्थात् विशेष गरी अमेरिकालाई चीनले आफ्नो अर्थतन्त्रलाई खुला गर्न लागेको संकेतका रूपमा पनि हेरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको पक्षपातपूर्ण व्यापार अभ्यासका बारेमा गुनासो गर्दै आएका छन् र उनले चीनसँग रहँदै आएको अमेरिकी घाटा घटाउने इच्छा पनि व्यक्त गरेका छन् ।
विशेष गरी केही संख्याका खाद्य सुरक्षासम्बन्धी काण्डपछि चीनमा विदेशी ब्रान्डको मागमा वृद्धि भइरहेको छ ।
एचएसबीसीका प्रमुख व्यापार अर्थशास्त्री डग लिपोल्डटले आयात भन्सारमा गरिएको कटौती सकारात्मक भएको र यो सरकारको चालू प्रयासको अंश भएको बताएका छन् ।
“लुगा, दुग्ध उत्पादन, खाद्यान्न र अन्य उपभोग्य वस्तुको आयातमा गरिएको भन्सार कटौतीको उद्देश्य आन्तरिक आपूर्तिकर्तालाई प्रतिस्पर्धी बनाउनु पनि हो । यसले चिनियाँ अर्थतन्त्र र उपभोक्तालाई दीर्घकालीन अवधिमा लाभ दिनेछ,” उनको भनाइ थियो ।
“यदि सरकारले सेवाको उदारीकरणतर्फ ध्यान दियो भने यसले चिनियाँ म्यानुफ्याक्चरलाई पनि सहयोग गर्नेछ । यसमा लेखा, दूरसञ्चार र सूचना प्रविधिका क्षेत्र पर्नेछन्,” उनले भने ।
“विकसित अर्थतन्त्रका व्यापार साझेदारले यो कदमलाई सही दिशाका रूपमा हेर्नेछन् ।”
चीनको यो कदमलाई स्कच ह्विस्की उत्पादकले पनि स्वागत गरेका छन् । उनीहरूको उत्पादनमा भन्सार १० प्रतिशतबाट ५ प्रतिशतमा झर्नेछ ।
स्कच ह्विस्की एसोसिएसनका रोजमेरी गालाघेरले स्पिरिटका लागि चीन महवपूर्ण बजार भएको बताएकी छन् ।
अर्थतन्त्रको वृद्धि भएसँगै चीनमा स्कच ह्विस्कीको माग चालू वर्षको सुरु ६ महिनाको अवधिमा उकालो लागेको छ । प्रत्यक्ष निर्यातमा ४५ प्रतिशतको वृद्धि भई २ करोड ७० लाख पाउन्ड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्