सिजन धार्मिक पर्यटकको «

सिजन धार्मिक पर्यटकको

काठमाडौंः नेपालमा खासगरी साउन र भदौलाई पर्यटन क्षेत्रमा लागि ‘अफसिजन’ मानिन्छ । तरपनि धार्मिक पर्यटनले यो सिजनलाई जसोतसो धानेको छ । साउन लागेसँगै नेपालमा चाडपर्वको सुरुवात हुन्छ । नेपाल भ्रमणमा आउने कुल पर्यटकको ११ प्रतिशत हिस्सा धार्मिक पर्यटकको छ । बर्सेनि धार्मिक पर्यटकको संख्या बढ्दो छ ।

मुख्यगरी जुलाई र अगष्ट अर्थात् वर्षात्को समयमा भारतबाट नेपालमा हजारौंको संख्यामा धार्मिक पर्यटकहरू नेपाल भित्रिने गरेका छन् । सन् २०१६ मा जम्मा पर्यटक संख्याको ११ प्रतिशत पर्यटक धार्मिक रहेको तथ्यांक छ ।

सन् २०१६ मा ८२ हजार ८३० धार्मिक पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०१६ मा ७ लाख ५३ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१२ मा १ लाख ९ हजार ८ सय ८५ धार्मिक पर्यटक नेपाल भ्रमणमा आएका थिए भने सन् २०१३ मा ४० हजार ६ सय ७८ धार्मिक पर्यटक आएका थिए ।

सन् २०१४ मा बढेर ९८ हजार ७ सय ६५ पर्यटक आएका थिए । तर सन् २०१५ मा भूकम्प तथा नकाबन्दीका कारण १४ हजार ९ सय ९६ धार्मिक पर्यटक मात्र नेपाल आएका थिए । नेपाल सन् १९५० देखि पर्वतारोहणका लागि विश्वमा ख्यातिप्राप्त मुख्य गन्तव्य हो । यससँगै साहसिक पर्यटनका लागि नेपाल चिनिँदै आएको हो ।

देशभित्र साहसिकसँगै अब धार्मिक पर्यटनको सम्भावना रहेकोले सोही अनुसारको प्रवद्र्धनमा लागेका छौं,” नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी भन्छन् ।

सही ढंगले बजार व्यवस्थापन र सम्भाव्य तीर्थालुहरूलाई आकर्षित गर्नका लागि उचित कार्ययोजना तयार गर्न बोर्ड लागिपरेको बताउँदै जोशीले नेपाल धार्मिक पर्यटनको गन्तव्य बनाउन सकिनेमा सबै सरोकारवालाहरू एकमत रहेको बताए । 

विशेष गरेर वर्षाको समयमा पदयात्रा तथा साहसिक क्षेत्रमा जाने पर्यटक नआउने भएकोले धार्मिक पर्यटककै भरमा पर्यटन क्षेत्र धानिँदै आएको छ । विशेषगरी पशुपति, गोसाइकुण्ड, हलेसी, पाथीभरा तथा तिब्बतको मानसरोवर जाने मुख्य सिजन भएकोले पनि भारतीयहरू नेपालमा धेरै आउने गरेका छन् । 

सम्भावनाको क्षेत्र धार्मिक पर्यटन
नेपालमा ट्रेकिङ र हिमाल आरोहणपछि सबैभन्दा बढी धार्मिक पर्यटक आउने गरेकाले पनि धार्मिक पर्यटन नेपालको थोरै लगानीमा धेरै फाइदा लिन सकिने क्षेत्र बन्दै गएको होटल एसोसिएसन नेपाल (हान) का महासचिव विनायक शाह बताउँछन् । 

पर्यटन उद्यमीहरूका अनुसार काशी, विश्वनाथ, पशुपतिनाथ र मुक्तिनाथलाई जोडेर ‘शिव सर्किट’ बनाउन सकिन्छ, जसका लागि नेपालबाट बुद्ध एयरले बनारस–काठमाडौं उडान गरिसकेकोे छ । नेपालमा यी दुवै ‘सर्किट’हरूलाई सँगसँगैै अगाडि बढाउन सके धार्मिक पर्यटनमा नेपालले छलाङ मार्ने महासचिव शाह बताउँछन् । 

पछिल्लो समय ‘बुद्धिष्ट सर्किट’का माध्यमले दक्षिण एसियालाई जोड्न सकिने चर्चा चलिरहेको बेला नेपालमा शिव सर्किटसमेत चर्चा सुरु हुनुले नेपालको धार्मिक पर्यटनमा नयाँ आशा पलाएको छ ।

‘बुद्धिष्ट सर्किट’सँगै ‘शिव सर्किट’को चर्चा सुरु भएको छ । यदि यी सञ्जालहरूको सही व्यवस्थापन हुन सकेमा विश्वका बौद्ध धर्माबलम्बीका साथै हिन्दूको गन्तव्य नेपाल र भारतमा पर्नेछ ।  

नेपालमा हिन्दूका आरध्य देवालयहरूमध्ये पनि महत्वपूर्ण स्थानहरू छन् । धार्मिक पर्यटनको हिसाबले पनि पशुपतिनाथ, मनकामना, जनकपुरधाम, मुक्तिनाथलगायत क्षेत्रलाई जोड्न सकिन्छ । 

भारतबाट मात्र नेपालका हिन्दू धार्मिक तीर्थस्थलमा बर्सेनि लाखौंको संख्यामा पर्यटकहरू आइरहेका छन् । तर, अहिलेसम्म पशुपतिसहित काठमाडौंका अन्य तीर्थस्थल र उपत्यका बाहिरका जनकपुरलगायतका केही सीमित स्थानमा मात्र उनीहरूको धार्मिक यात्रा सीमित छ ।

नेपालका प्रायः भौगोलिक क्षेत्रहरूमा धार्मिक तीर्थस्थलको कुनै कमी छैन । पूर्वको पाथीभरा, चतराधाम होस् वा हलेसीदेखि पश्चिमको मुक्तिनाथ, स्वर्गवारीदेखि, खप्तड, बडिमालिकासम्म यी क्षेत्रमा भारतीय पर्यटकको निकै आकर्षण पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्