डिजेलको खपत अत्यधिक बढ्दो «

डिजेलको खपत अत्यधिक बढ्दो

सवारीसाधनको बढ्दो प्रयोगसँगै बजारमा डिजेलको खपत अत्यधिकरूपमा बढ्दै गएको छ । सडक विस्तारसँगै विकास निर्माणको काम तीब्र गतिमा अगाडि बढेकाले डिजेलको खपत दिनप्रतिदिन बढ्दै गएको हो ।
पछिल्लो समय सडक विस्तारको काम तीव्ररूपमा अगाडि बढिरहेको छ । पेट्रोेलको तुलनामा डिजेल खपत झन्डै चार गुणा बढी रहेको नेपाल आयल निगमको भनाइ छ । निगमका अनुसार कुल खपतमध्ये ७० प्रतिशत डिजेल मात्र खपत हुने गरेको छ । आर्थिक वर्षको अन्त्यतिर विकास निर्माणको काम दुत्तगतिमा अगाडि बढेकाले पनि डिजेलको खपतदर बढ्दै गएको हो । निगमका कार्यकारी निर्देशक सुशील भट्टराई डिजेलको खपतदर दिनप्रतिदिन बढ्दै गएको बताए । “मुलुक आर्थिक समृद्धितर्फ उन्मुख भएको देखिन्छ,” कार्यकारी निर्देशक भट्टराईले भने, “यसले गर्दा पनि इन्धनको खपतदर बढेर अहिले मासिक डेढ लाख किलोलिटरसम्म पुगेको छ ।” दैनिक ५ हजार ५ सय किलोलिटर डिजेल खपत हुने गर्छ ।
निगमका अनुसार १० महिनामा ११ लाख ९२ हजार ४७ किलोलिटर डिजेल आयात भएको छ । सो अवधिमा तिन लाख ७६ हजार ८ सय १७ किलोलिटर पेट्रोल आयात भएको निगमको तथ्याङक छ । एक लाख ५७ हजार पाँच सय ८० किलोलिटर हवाई इन्धन र १६ हजार ८ सय ५६ किलोलिटर मटीतेल भित्रिएको छ ।
निगमका अनुसार जुलाई महिनामा ५३ हजार ७ सय ७८ किलोलिटर, अगस्त महिनामा ८४ हजार २ सय १५, सेप्टेम्बर ८३ हजार १ सय ७७ किलोलिटर, सेप्टेम्बरमा ८३ हजार १ सय ७७ किलोलिटर डिजेल खपत भएको छ । यस्तै, अक्टोबर महिनामा १ लाख ४ सय ४७ किलोलिटर, नोभेम्बर महिनामा १ लाख ४१ हजार ५४ किलोलिटर, डिसेम्बर महिनामा १ लाख ३८ हजार १ सय ८७ र जनवरी महिनामा १ लाख ४९ हजार ६ सय १९ किलोलिटर डिजेल खपत भएको निगमको तथ्यांक छ । यस्तै फेव्रुअरी महिनामा एक लाख ४३ हजार ७ सय २१, मार्चमा १ लाख ४६ हजार ३९ र अप्रिलमा १ लाख ५१ हजार ८ सय १९ किलोलिटर आयात डिजेल आयात भएको निगमले जानकारी दिएको छ ।
निगमका अनुसार वार्षिक रूपमा डिजेल खपत २० प्रतिशत, पेट्रोल १२ देखि १५ , हवाई इन्धन १० र खाना पकाउने एलपीजी ग्यास १५ प्रतिशतका दरले बढ्दै गएको छ । बजारमा डिजेल प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पदै गएको छ । पछिल्लो दुई महिनायता लगाताररूपमा इन्धनको मूल्य बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्