भारतीय दूतावासअगाडि नेविसंघको प्रदर्शन «

भारतीय दूतावासअगाडि नेविसंघको प्रदर्शन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारका गतिविधि राष्ट्रघाती भएको भन्दै मंगलबार राजधानीमा प्रदर्शन गरेको छ । अध्यक्ष नैनसिंह महरको नेतृत्वमा भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको हो ।
अध्यक्ष महरले सरकारका पछिल्ला गतिविधिहरु राष्ट्रघाती देखिएको भन्दै त्यस्ता कदमहरुलाई नत्थी लगाउनुपर्ने बताए । “राष्ट्रवादीको नारा दिएर जनमत पाए पनि सरकारका पछिल्ला गतिविधिहरु राष्ट्रघाती देखिएको छ,” उनले भने, “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सरकारले लम्पसारवादी चरित्र प्रस्तुत गरेको छ । ” उनले मोदीको भम्रणका क्रममा सरकारले भारतीय सेनालाई प्रवेश दिनु, अरुण तेस्रो भारतलाई सुम्पिनुलगायत गतिविधिहरु राष्ट्रघातको प्रमाण भएको बताए ।
भारतीय दूतावास अगाडि नेविसंघले जनकपुर भारतको भएको भन्दै दिएको अभिव्यक्तिविरुद्ध चर्को नारावाजी गरेका थिए । त्यस्तै, महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा बिहान त्रिचन्द्र क्याम्पस र दिउँसो शंकरदेव क्याम्पसबाट जुलुस निस्किएको थियो । “नेपाली आकाशमा अहिलेसम्म उडिरहेका छन् भारतीय सेनाको हेलिकप्टर । भाषाको राष्ट्रवाद र व्यवहारको लम्पसारवाद केपी सरकार खबरदार ! २४ घण्टाभित्र विमान फिर्ता गरियोस्,” विरोध जुलुसपछि महामन्त्री काफ्लेले भने, “ भारतीय संसद किर्ती आजादलाई कारबाहीको लागि कूटनीतिक पहलको यथाशीघ्र थालनी होस् । ”आजादको भनाइलाई लिएर नेपाली कांग्रेसले सोमबार विज्ञप्ति जारी गरेरै आपत्ति जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्