धानकोे समर्थन मूल्य तोक

चालू आर्थिक वर्ष चुनावी वर्ष भएकाले सरकारका तर्फबाट हुने पुँजीगत खर्च न्यून स्तरमा रहे पनि चुुनावी खर्चले गर्दा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने संकेतहरू देखिएका छन् । चुनावी वर्षमा आर्थिक वृद्धिदर माथि चढेको विगतको अनुभवका आधारमा यो वर्ष पनि सरकारद्वारा प्रक्षेपित ७.२ प्रतिशतकै वृद्धिदर हासिल हुने अर्थमन्त्रालयका अधिकारीहरूले विश्वास गरेका छन् । नेपाल राष्ट्र बैंकद्वारा हालै सार्वजनिक गरिएको वर्तमान आर्थिक स्थितिमा पनि साउन–भदौ महिनामा पर्याप्त वर्षा भएकाले कृषि उत्पादनमा वृद्धि हुने, ऊर्जाको सहज आपूर्ति र चमेलियालगायतका केही जलविद्युत् आयोजनाहरू सम्पन्न हुने क्रममा रहेकाले उद्योगहरूको क्षमता उपयोग बढ्ने, होटलहरूमा बुकिङ तथा अकुपेन्सी दर वृद्धि भएसँगै पर्यटन क्षेत्रलगायत सम्बन्धित सेवाक्षेत्रको विस्तार हुने र सिमेन्ट तथा फलामे छडलगायतका निर्माण सामग्री आयातमा भएको वृद्धिले निर्माण कार्यले गति लिने आधारमा आर्थिक वृद्धिमा आशावादी हुने ठाउँ रहेको उल्लेख गरेको छ । नेपालमा पर्यटनले कुल गार्हस्थ्य उत्पादनमा तीन प्रतिशतभन्दा कमैको योगदान राख्ने तथा औद्योगिक क्षेत्रको योगदान पनि ६ प्रतिशतभन्दा कमै रहेकाले कृषि र सेवा क्षेत्रमा हुने विस्तार नै सकारात्मक आर्थिक वृद्धिदरको आधार रहँदै आएको छ । हाल सेवाक्षेत्रले अर्थतन्त्रमा करिब ५५ प्रतिशतका योगदान राख्न थालिसकेको छ भने कृषिको योगदान २८ प्रतिशतमा झरिसकेको भए पनि यो नै आर्थिक वृद्धिमा सकारात्मक योगदान राख्ने क्षेत्र बन्दै आएको छ ।
यसको अर्थ के हो भने जुन वर्ष कृषिको उत्पादन सकारात्मक रहन्छ, त्यस वर्ष आर्थिक वृद्धिदर पनि सकारात्मक रहेको देखिन्छ । आव ०७२÷७३ मा ऋणात्मक आर्थिक वृद्धिदर हासिल भएकोमा गत आर्थिक वर्षमा देशभरि आर्थिक क्रियाकलापमा भएको सुधारसँगै वृद्धिदर ७ प्रतिशत पुगेको थियो, जसमा कृषिको उल्लेख्य भूमिका रह्यो । चालू वर्ष पनि कृषिमा निकै सुधार आएको छ । गत असार साउन महिनामा घनघोर वर्षा, त्यसका कारणले भएको डुबान र बाढीको प्रकोपले कृषिक्षेत्रमा नकारात्मक असर पारेको अनुमान गरिएको भए पनि कृषि मन्त्रालयको तथ्यांकले भने उल्टै धानबालीमा वृद्धि भएको देखाउँछ । धानबालीले कृषि अर्थतन्त्रमा २० प्रतिशतको योगदान राख्छ । धानको उत्पादनमा वृद्धि हुँदा कृषिको वृद्धिदर पनि विस्तार हुन्छ र त्यसले समग्र आर्थिक वृद्धिदरलाई माथि उकास्छ ।
चालू आर्थिक वर्षमा ५५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ, गत वर्ष ५२ लाख ३२ हजार टन धान उत्पादन भएको थियो । धानको उत्पादनमा वृद्धि भए पनि अहिलेसम्म समर्थन मूल्य नतोकिँदा कृषकहरू अन्योलमा परेका छन् । निर्वाचनका कारण जनाउँदै अन्य विकाससम्बद्ध गतिविधिमा असर पारे पनि धानको समर्थन मूल्य तोक्नेजस्तो बिलकुल प्रशासनिक विषयमा सरकारले समयमा निर्णय गर्न नसक्नुले किसानहरू निराश भएका छन् । धानको समर्थन मूल्य तोक्ने काम नेपाल खाद्य संस्थान र जिल्लास्थित मूल्य निर्धारण समितिको हो । अहिले धानबाली काट्ने र भियाउने क्रम चलिरहेको छ । यही बेलामा समर्थन मूल्य तोक्न सकिएन भने त्यसको असर किसानले पाउने मूल्यमा पनि पर्ने भएकाले बिनाकुनै विलम्ब तत्कालै धानको मूल्य तोकिहाल्नुपर्छ ।