निसीखोलाका ६० प्रतिशत परिवार विपन्न «

निसीखोलाका ६० प्रतिशत परिवार विपन्न

यहाँको एक स्थानीय तहमा ६० प्रतिशतभन्दा बढी घर–परिवार गरिबीको रेखामुनि रहेको पाईएको छ । जिल्लाकै दुर्गम स्थानीय तहका रूपमा हेरिने निसीखोला गाउँपालिकामा रहेका १ हजार ४ सय ५२ घरपरिवार मध्य ८ सय ७४ परिवार गरिबीको रेखामुनि रहेको भेटिएको हो ।
नेपाल सरकारले २०६९ सालमा परिवारको वार्षिक आयलाई आधार मानेर गरिब घरपरवारको पहिचान गरेको थियो । सोही तथ्याङ्कका आधारमा छनोटमा परेका परिवारलाई गाउँपालिकाले गरिबी पहिचान परिचयपत्र उपलब्ध गराएको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील पनेरुले बताए ।
“गरिबीलाई तीन तहमा विभाजन गरेर परिचय पत्र वितरण गरेका छौँ,” पनेरुले भने, “गरिबीलाई अति, मध्यम र सामान्य गरी तीन खण्डमा विभाजन गरिएको छ ।” गरिबीको रेखामुनि रहेका परिवारमध्ये अति गरिब परिवारको संख्या ५ सय ३२, मध्यम गरिब परिवारको संख्या २ सय २० र सामान्य गरिब परिवारको संख्या १ सय २५ रहेको अधिकृत पनेरुले बताए ।
निसीखोला गाउँपालिकाका सातवटा वडामा १ हजार ४ सय ५२ घर–परिवार बसोबास गर्दछन । तीमध्ये ८ सय ७४ परिवार गरिबीको सूचीमा सूचीकृत छन् । यो गाउँपालिकाभित्र बसोबास गर्ने कुल परिवार संख्याको ६० प्रतिशत हो । गाउँपालिकाभित्र रहेका गरिब घरधुरी परिचयपत्र वितरण कार्यक्रमअन्तर्गत पहिलो चरणको अभियान सम्पन्न भएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए ।
“२०६९ सालमा नेपाल सरकारको तथ्याङ्कअनुसार वार्षिक आयका आधारमा छनौटमा परेका गाउँपालिकाका नागरिकलाई परिचयपत्र उपलब्ध गराइएको हो,” पौडेलले भने । अध्यक्ष पौडेलका अनुसार वितरण गरिएको परिचयपत्रमा अति गरीब रातो, मध्यम गरिब पहेंलो र सामान्य गरिब परिवारका लागि नीलो कार्ड उपलब्ध गराइएको छ ।
रातो परिचयपत्र लिएका घरपरिवारले निःशुल्क रूपमा स्वास्थ्य बिमाबापतको सेवा लिन पाउनेछन् । तर, पहेंलो र नीलो परिचयपत्र प्राप्त गर्ने परिवारका लागि तत्काल कुनै सुविधा दिन नसकिएको अध्यक्ष पौडेलले बताए । “अति विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बिमाको सुविधा दिन सके पनि मध्यम र सामान्य गरिब परिवारका लागि तत्काल कुनै सुविधा दिन सकेका छैनौं,” पौडेलले भने, “गाउँपालिकाले तिनै प्रकारका गरिब परिवारलाई सुविधा पुग्ने गरी योजना बनाएर अगाडि बढ्नेछ । सिंगो गाउँपालिकामा देखिएको गरिबीको तह उकास्ने गरी दीर्घकालीन योजना तयार गर्न गाउँपालिकाको कार्यालय लागिपरेको छ । ‘गाउँपालिकालाई विपन्नताबाट सम्पन्नतातर्फ धकेल्न आत्मनिर्भरता र स्वरोजगारका कार्यक्रम ल्याउनेछौं,” अध्यक्ष पौडेलले भने, “शिक्षा, स्वास्थ्य र रोजगारीलाई केन्द्रमा राखेर अगाडि बढ्दै छौं ।” गाउँपालिकाले हालसम्म वडा नं. १ मा १ सय ४४, वडा नं. २ मा १ सय ८०, वडा नं. ३ मा ८०, वडा नं. ४ मा १ सय २०, वडा नं. ५ मा १ सय ५२, वडा नं. ६ मा ९० र वडा नं. ७ मा १ सय ८ घरपरिवारलाई परिचयपत्र उपलब्ध गराइसकेको छ ।
त्रिलोचन रिजाल

प्रतिक्रिया दिनुहोस्