Logo

नगरसभाबाट विभिन्न विधेयक स्वीकृत

सिन्धुलीको कमलामाई नगरपालिकाको दोस्रो नगरसभा मंगलबार सम्पन्न भएको छ । नगरसभाले विभिन्न विषयगत समितिमार्फत नगरपालिका सञ्चालनमा आवश्यक विधेयक सर्वसहमतिबाट स्वीकृत भएको हो ।
नगरसभाबाट कमलामाई नगरपालिका शिक्षा विधेयक २०७५, सहकारी विधेयक २०७५, कृषि व्यवसाय प्रवद्र्धन विधेयक, २०७५ संशोधनसहित स्वीकृत भएको कमलामाई नगरपालिकाका प्रवत्ता कर्णबहादुर घिसिङले जानकारी दिए । प्रशासकीय कार्यविधि नियमित गर्ने विधेयक २०७५, संघसंस्था दर्तासम्बन्धी विधेयक २०७५, न्यायिक समिति कार्यविधिसम्बन्धी विधेयक २०७५, सडक तथा सार्वजनिक मापदण्ड विधेयक २०७५ र संघ संस्था दर्ता विधेयक, २०७५ सर्वसम्मत स्वीकृत भएको प्रवत्ता घिसिङले बताए ।
यस्तै दोस्रो नगरसभाबाट विभिन्न योजनाहरूको बजेट विनियोजनका लागि प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको समेत घिसिङले बताए ।
यस्तै नगरसभाबाट कमलामाई नगरपालिकाको नगर पाश्र्वचित्र तयार गर्ने कार्य अनुमोदन भएको छ । निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरूले अनिवार्य रूपले लगाउने र विशिष्ट पाहुनालाई चिनोको रूपमा उपहार दिनका लागि नगरपालिकाको पहिचान झल्कने सिन्धुलीगढी दरबार, बीपी राजमार्ग, कमलामाई मन्दिर र नगरपालिकाको नाम भएको ब्याच तयार गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्