बहुआयामिक सम्भावनाको प्रदेश «

बहुआयामिक सम्भावनाको प्रदेश

भौगोलिक क्षेत्रफलको हिसाबले सबैभन्दा सानो, प्रदेश नम्बर २ उद्योग कलकारखाना र अन्नको भण्डारमात्रै होइन यहाँ बहुआयामिक आर्थिक विकासका सम्भावनाहरू पाइन्छ । छिमेकी मुलुक भारत तथा तेस्रो मुलुकको व्यापारका लागि छोटो दूरीको पारवहन सेवा पनि वीरगन्ज नाका नै भएकोले नेपालको प्रमुख प्रवेशद्वार वीरगन्ज वि.सं २०१३ साल कात्तिकमा तराईका सबै बजार अड्डालाई भन्सार कार्यालयमा परिणत गरेपछि वीरगन्ज बजार अड्डा वीरगन्ज भन्सार कार्यालयमा परिणत भयो ।
पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नं.१६ इनर्वामा अवस्थित यस भन्सार कार्यालयले वि.सं. २०१९ सालमा भन्सार ऐन जारी भएसँगै आधुनिक भन्सार कार्यालयको रूपमा आफ्नो कार्य गर्दै आएको छ । जलस्रोत बाहेकका सबै स्रोत साधन रहेको प्रदेश नम्बर २ अहिले उद्योग र कृषिमा प्रसिद्ध रहेको छ । घोषित रूपमा सप्तरीको राजविराजमा औद्योगिक क्षेत्र रहेको भएपनि अहिले अधिकांश उद्योगहरू बारा र पर्सामा रहेका छन् । यद्यपि पूर्वपश्चिम राजमार्ग नजिक सप्तरीदेखि पर्सा सम्म नै साना ठूला उद्योगहरू संचालनमा रहेका छन् । प्रदेश नम्बर २ उद्योग र कृषिले मात्रै होईन यहाँ भएका बहुआयामिक क्षेत्रको विकासको संभावना बोकेको प्रदेशको रूपमा लिन सकिन्छ । धार्मिक पर्यटकीय हिसाबले पनि यहाँको विकासको संभावनाहरू देखिएको छ । हिन्दुहरूको धार्मिक आस्थाको केन्द्र ऐतिहासिक जानकी मन्दिर जनकपुर, सप्तरीकै छिन्नमस्ता मन्दिर, महोत्तरीको टुटेश्वर, सर्लाही र रौतहटको सीमामा पर्ने नुनथर बाराको सिम्रोनगढ, झरोखर, डढेको चामल, विश्वप्रसिद्ध गढीमाई मन्दिर पनि धार्मिक पर्यटनको संभावना बोकेका स्थानहरू हुन् । यसलाई व्यवस्थित र विकास गर्न सके यहाँ आन्तरिक तथा वाह्य पर्यटकहरू आकर्षित गर्न सकिने सम्भावना रहेको छ । भारत सरकारले अगाडि ल्याएको रामायण सर्किटले पनि प्रदेश नम्बर २ को धार्मिक पर्यटनको विकास हुने देखिन्छ ।
त्यस्तै पर्सामा रहेको दूग्धेश्वरनाथ मन्दिर, ठोरीको मनोरम पर्यटकीय क्षेत्रहरूले गर्दा पनि पर्यटकीय गन्तव्यको रूपमा यसलाई विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको छ । प्रदेश नम्बर २ को अर्को मुख्य स्रोतको रूपमा रहेको पर्सा राष्ट्रिय निकुञ्ज पनि हो । पर्सा राष्ट्रिय निकुञ्ज पर्सा, बारा र मकवानपुर जिल्लाको भागहरू समेटिएर बनेको निकुञ्ज हो । यहाँ रैथाने हात्तीको वासस्थान, पाटे बाघ, एकसिंगे गैडालगायतका दुर्लभ वन्यजन्तुहरू पनि पाइने भएकाले पर्यटकीय विकासको ठूलो सम्भावना बोकेको क्षेत्र मान्न सकिन्छ । पर्सा राष्ट्रिय निकुञ्जदेखि ठोरीसम्मको जंगल क्षेत्रमा थुप्रै वन्यजन्तुको वासस्थान रहेकाले ठोरीसम्मको जंगल सफारी गर्न सकिने छ । यहाँ सुविधा सम्पन्न चारतारे होटलदेखि साधारण बस्ने खाने व्यवस्थित होटलहरूको स्थापना र संचालनले पनि यहाँको पर्यटकीय विकासमा सम्भावना देख्न सकिन्छ । जस्ले गर्दा आन्तरिक र बाह्य पर्यटकहरूका लागि गन्तव्य बन्न सक्छ । पर्सामा रहेको गहवामाई मन्दिर, विन्ध्यवासिनीमाई मन्दिर, बौद्ध धर्मावलम्बीहरूको भिस्वा बौद्ध स्तुप, सीख समुदायको गुरुद्वारालाई पनि यहाँको धार्मिक पर्यटकसँग जोडेर विकास गर्न सके पर्यटन क्षेत्रबाट पनि आर्थिक विकास गर्न सकिने सम्भावनाहरू छन् । तराई काठमाडौं जोड्ने निजगढ–काठमाडौं द्रुतमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, वीरगन्ज महानगरपालिकाभित्र रहेको एकीकृत भन्सार जाँच चौकी, सिर्सिया सुक्खा बन्दरगाह पनि यहीं भएकाले कामको सिलसिलामा आउनेहरूलाई घुम्न योग्य स्थानहरू निर्माण गर्न सके पर्यटनको प्रशस्त संभावना रहेको छ । त्यस्तै खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी, राष्ट्रिय स्तरको रंगशाला तथा क्रिकेट मैदान पनि यहाँ रहेको छ । भौतिक पूर्वाधारले पूर्ण रहेको वीरगन्जलाई मात्रै विकास गर्न सके पनि यहाँको विकासमा बाहिर हात फैलाइरहनुपर्ने आवश्यकता देखिँदैन । राष्ट्रिय गौरवका आयोजनाहरूका कारणले पनि यसक्षेत्रको तीब्र विकास हुनेमा कुनै द्विविधा रहेन ।

शिक्षा-स्वास्थ्य
प्रदेश नम्बर २ को वीरगन्ज औद्योगिक सहरमात्रै होइन अब शिक्षा र स्वास्थ्यको पनि हब बन्दै गएको छ । छिमेकी भारतसँगको सीमा जोडिएको जिल्लाहरू भएकोले यहाँ स्वास्थ्य क्षेत्रमा पनि उक्तिकै विकासका सम्भावनाहरू रहेका छन् । प्रदेशको सबैभन्दा पुरानो मेडिकल कलेज नेसनल मेडिकल कलेजमा विभिन्न देशहरूबाट अध्ययन गर्न आउने भएकाले बिदाको दिनमा उनीहरूका लागि यहाँका धार्मिक तथा पर्यटकीय स्थलहरू घुम्न जाने गन्तव्य बन्छ । बंगलादेश, पाकिस्तान, भुटानलगायतका देशबाट मेडिकल शिक्षा अध्ययनका लागि वीरगन्ज आएकाहरूलाई यहाँको विभिन्न पर्यटकीय स्थलहरूमा स्थलगत रूपमै घुम्न लैजाने र पर्यटन क्षेत्रको बारेमा जानकारी गराउने हो भने यहाँ पर्यटन विकासको संभावना हुन्छ । गरिबदेखि हुनेखाने, स्वदेशीदेखि विदेशी नागरिकहरूको लागि उपचार गर्ने थलोको रूपमा रहेको एकमात्र उपक्षेत्रीय अस्पतालको स्वास्थ्य सेवा गुणस्तरीय बनाउन सके यहाँ उपचारका लागि आउने बिरामीहरू पनि अन्यत्र जानुपर्दैन । स्वास्थ्य क्षेत्रमा सम्भावना देखेर नै विभिन्न स्थानमा चिकित्सकीय पेशामा रहेकाहरू अहिले वीरगन्जमा धमाधम अस्पताल तथा नर्सिङ होमहरू खोल्ने र संचालन गर्न थालेका छन् । हाडजोर्नीसम्बन्धी, महिलाहरूको स्वास्थ्य तथा प्रजनन्सम्बन्धी अलग्गै रोगहरूका लागि पनि अलगअलग अस्पतालहरू स्थापना भएका छन् । विशेषज्ञ चिकित्सक सहितको अस्पतालहरूको स्थापनाले पनि आर्थिक विकासको सम्भावना रहेको संकेत गरेको छ । काठमाडौं, भरतपुरका अस्पतालहरू जस्तै नाम चलेका अस्पतालहरू पनि निर्माण भईरहेका छन् ।
काठमाडौंको वयोधा अस्पताल र वीरगन्जका उद्योगी व्यवसायीहरूको संयुक्त लगानीमा वीरगन्ज वयोधा अस्पताल, इम्प्याक्ट नेपालको सहयोगमा कान अस्पताल निर्माण सम्पन्न हुन गइरहेको छ भने, औद्योगिक घराना केडिया अर्गनाइजेसनको लगानीमा केडिया आँखा अस्पताल यसक्षेत्रमा आँखाको उपचारका लागि निकै परिचित अस्पतालको रूपमा रहेको छ । यहाँ भारतीय नागरिकहरू दैनिक रूपमा आँखाको उपचार गराउन आउने गरेका छन् । छिमेकी देश भारतको रक्सोल, मोतिहारी, रामगढवा, सुगौली मात्रै होइन मुजफ्फरपुरदेखि आँखाका रोगीहरू उपचार गराउन आउने गरेका छन् । त्यस्तै निर्माणाधीन अवस्थामा रहेको कान अस्पतालमा पनि पटनाबाहेक अन्य सहरमा कानको उपचार गर्ने अस्पताल नभएकोले भारतीय नागरिकहरू नेपालमै आउनेछन् । यसबाहेकका अन्य सुविधा सम्पन्न अस्पतालहरू पनि यहाँ सञ्चालनमा रहेका छन् । त्यस्तै केडिया समूहले नै दाँत अस्पतालको स्थापना गरेको छ भने एसिया डेण्टल कलेज पनि यही स्थापना भएको छ । नेसनल मेडिकल कलेज र एसिया डेण्डल कलेजबाहेक सिटीईभिटीबाट मान्यता प्राप्त अन्य प्राविधिक शिक्षालयहरू पनि वीरगन्जमा रहेका छन् । यसले दक्ष जनशक्ति उत्पादन गरी बजारमा पनि जनशक्तिको पूर्ति गर्ने विश्वास लिइएको छ ।
त्यस्तै त्रिभुवन विश्वविद्यालयपछिको सबैभन्दा पुरानो क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पस जुन क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरू अहिले प्रधानमन्त्रीदेखि देशका उच्च ओहोदामा पुग्न सफल भएका छन् । यसलाई विश्व विद्यालयको रूपमा विकास गर्न सकेमा वार्षिक रूपमा अध्ययनको शिलसिशलामा बाहिरिएको करोडौंको रकम रोक्न सकिन्छ । औद्योगिक प्रतिष्ठानहरू धेरै भएकोले यहाँ ती उद्योग प्रतिष्ठानमा दक्षजनशक्ति उत्पादन गर्ने वीरगन्ज पब्लिक कलेज, नेसनल इन्फोटेकजस्ता प्लस टु कलेजहरूबाट उत्पादित जनशक्ति पनि यही उद्योग कलकारखानामा लगाउन सकिने छ । वीरगन्ज पब्लिक कलेजमा अध्ययन गरेका धेरै जनशक्तिहरू विभिन्न राष्ट्रियस्तरका बैंक तथा वित्तीय संस्थामा कार्यरत रहेका छन् । बहुराष्ट्रिय कम्पनीमा पनि कार्यरत रहेको वीरगन्ज पब्लिक कलेजका निर्देशक प्रा.डा. दिपक शाक्य बताउँछन् । जनशक्ति उत्पादन गरिए पनि यहाँ विश्वासिलो वातावरण नबन्दा यहाँको जनशक्ति पलायन हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ । स्थानीयस्तरमा उत्पादन भएका दक्षजनशक्तिलाई यहीं काममा लगाउनसके यहाँको विकासले गति लिने उनले बताए ।
फिल्म सिटी
आर्थिक तथा औद्योगिक सहरमात्रै होइन वीरगन्जलगायत प्रदेश नम्बर २ मा फिल्मी सिटीको रूपमा विकास गर्न सकिने सम्भावना पनि रहेको छ । यहाँका जिल्लाहरूमा विभिन्न पर्यटकीय स्थलहरूमा पछिल्लो समयमा चलचित्रकर्मीहरूको लागि छायांकन गर्ने स्थल पनि बन्न थालेको छ । यहाँका होटल, अपार्टमेण्ट, जंगललगायत धार्मिकस्थलहरू छायांकन गर्ने रोजाइको स्थानमा परेका छन् । नेपाली तथा भोजपुरी फिल्मका दर्शक तथा स्रोताहरू रहेकोले यहाँका विभिन्न स्थानमा दर्जनौ नेपाली तथा भोजपुरी फिल्महरू छायांकन भइसकेका छन् । भोपुरी फिल्ममा यहाँका उद्योगीहरूले लगानी पनि गरेका छन् । यहाँ छायांकन गरिएका फिल्महरू प्रदर्शन भएपछि यहाँको बारेमा जानकारी हुने र पर्यटकहरू आउने तथा फिल्मी सिटी बनाउन सकेमा स्वतः यहाँको पर्यटकीय विकास हुन सक्नेमा राधिका मुभिज प्रालिका निर्माता एवं वीरगन्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष रवीन्द्र वर्णवालको तर्क छ । उनी भन्छन्, “चलचित्र उद्योगको यस्तो उद्योग हो, जहाँ उधारोको कारोबार हुँदैन । नगद कारोबार हुन्छ, यहाँ छायांकन गरिएका फिल्महरू राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पनि प्रदर्शन हुने र यहाँको बारेमा जानकारी हुन्छ । त्यति मात्रै होइन भारतको झारखण्ड, उत्तराञ्चललगायतका प्रदेश सरकारले त्यहाँको सिनहरू छायाँंकन गर्ने फिल्महरूलाई ६० प्रतिशत सहुलियत दिएर प्रोत्साहन गर्छ, यहाँ पनि यस्तो व्यवस्था भयो भने चलचित्र उद्योगको पनि प्रदेश नम्बर २ मा सम्भावना धेरै छ ।” म यहाँ एउटा ठूलो स्टुडियोमा पनि लगानी गर्न लागि रहेको छु । यसले जति पनि नेपालमा चलचित्रहरू निर्माण हुन्छ यहि रेकर्डिङ हुने भयो भने नेपालको पैसा नेपालमै रहन्छ । अहिले धेरै चलचित्र रेकर्डिङ र डबिङका लागि भारत गइरहेको छ । प्रदेश नम्बर २ लाई पनि अब बम्बई जस्तै फिल्मी सिटी बनाउनुपर्छ । यसअघिका अग्नी ज्वाला, कव होई मिलनवा हमारलगायतका भोजपुरी फिल्मदेखि लिएर पछिल्लो समयको एसपी खरेल, अहिलेको चर्चित चलचित्रहरू मेला, धनपति, शत्रुगते, फाटेको जुत्तालगायतका दर्जनौ फिल्महरू पनि यहाँ छायाँकन भइसकेकोले फिल्मी सिटीको विकास हुने सम्भावना देख्नुहुन्छ निर्माता तथा निर्देशक हरि पन्त ।
देश संघीयतामा गएपछि फिल्म दर्ता गर्ने र सेन्सरसीप पनि यहीबाट भयो भने र फिल्म बनाउँदा आवश्यक पर्ने उपकरणहरू पनि यही उपलब्ध भयो भने प्रदेश नम्बर २ को वीरगन्ज नै फिल्म सिटी बन्न सक्ने उनको तर्क छ । उपकरणहरू भएमा यही प्राविधिकहरूको पनि उत्पादन हुने रोजगारी पाउने तथा रेकर्डिङ, डबिङ पनि यही गर्न सकियो भने बाहिर जानुपर्ने बाध्यता नहरने र यहाँको पैसा यहीको विकासका लागि खर्च गर्न सकिन्छ जस्ले गर्दा प्रदेश २ को विकास हुन्छ, पन्त भन्छन् । छायांकनको लागि यहाँ दृष्यहरू खोज्न टाढा जानु पर्दैन । जस्तै रेलको दृष्य लिनुपर्यो भने, ड्राईपोर्टमा गएर लिन सकिन्छ अध्यागमनमार्फत समन्वय गरेर रक्सोलको रेल्वे स्टेशनमा नै जान पनि सकिन्छ । जंगलको दृष्य चाहिएमा अगाडि पथलैया आधाभारसम्म जान सकिन्छ । मधेसको परिवेश देखाउनुपर्यो भने सबै वातावरणहरू यही छ । त्यसैले पनि यसलाई फिल्मी सिटीको रूपमा विकास गर्ने प्रशस्त सम्भावना देख्नुहुन्छ फिल्म निर्माता एवं निर्देशक हरि पन्त । फिल्म निर्माता नन्दु श्रीवास्तवको बुझाइमा पहिले नेपाली फिल्महरूमा तराई मधेसका दृष्यहरू कम देखाइने गरेकाले यहाँको वस्तुस्थिति बुझ्न गाह्रो थियो । उनले आर्मी, जंगे, अग्निज्वालालगायतका फिल्महरूमा तराईका दृष्यहरू राख्न थालेपछि अन्य फिल्महरू पनि यता आएर छायांकन हुन थालेको बताउछन् । धेरै फिल्महरू यता छायांकन भएमा कलाकार लगायतका फिल्म युनिटहरू आउन थाल्छन् र यहाँको पर्यटनमा विकास हुने श्रीवास्तव बताउछन् ।
पुराना र ऐतिहासिक महत्वका स्थानहरू पनि प्रदेश नम्बर २ मा रहेकाले यसलाई संरक्षण र संवद्र्धन गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने यहाँका बुद्धिजीवीहरूको भनाइ छ । अब राजनीतिक स्थिरता भइसकेकोले स्थानीय सरकार र प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम गरेर प्रदेशलाई समृद्ध बनाउनेतर्फ अगाडि बढ्नुपर्नेमा उनीहरूको जोड छ । सधैं केन्द्रलाई मात्रै दोष देखाइरहने भन्दा पनि अब सबै आफैंले गर्ने भएपछि यसलाई प्रदेशका जनताले अनुभूति हुने गरी विकास हुने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्