स्थानीय सरकारको एक वर्ष ; तनहुँमा अपेक्षा धेरै काम थोरै «

स्थानीय सरकारको एक वर्ष ; तनहुँमा अपेक्षा धेरै काम थोरै

स्थानीय तहको निर्वाचन भएको एक वर्ष पूरा भएको छ । २०७४ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनबाट तनहु का ४ नगरपालिका र ६ गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएका थिए ।
२० वर्षसम्म कर्मचारीले स्थानीय निकाय हाँक्दा अपेक्षाअनुसारको काम हुन सकेन । नयाँ संविधानअनुसार गत वर्ष वैशाख ३१ गते भएको निर्वाचनले जनताले आफ्नो घर आँगनमै सरकार पाएका छन् । संविधानले परिकल्पना गरेको तीन तहको सरकारमध्ये स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार बनेको छ । तर त्यस माथिको दुई वटा सरकार प्रदेश र संघीय सरकारको कानुन निर्माणमा ढिलाइ हुँदा त्यसको मार स्थानीय सरकारले भोग्नुपरेको छ । प्रदेश कानुन नबन्दा स्थानीय तहका जनप्रतिनिधिहरू यो एक वर्षको अवधिसम्म बिना पारिश्रमिक काम गर्न बाध्य भएका छन् ।
बल्ल प्रदेशले जनप्रतिनिधिको सेवा र सुविधासम्बन्धी कानुन पारित गरेको छ । अब केही महिनाभित्रै स्थानीय तहका जनप्रतिनिधिले पनि पारिश्रमिक पाउने भएका छन् । एक वर्षको अवधिको समीक्षा गर्दा अधिकांश जनप्रतिनिधि जनताको अपेक्षाअनुसारको काम गर्न नसकिएको बताउँछन् तर त्यसको दोष फेरि पनि प्रदेशको कानुन बन्न नसकेको कुरालाई नै ठान्छन् ।
निर्वाचनमा धेरै महात्वाकांक्षी योजनाहरु घोषणापत्र मार्फत जनतासमक्ष लगे पनि त्यो पूरा गर्न नसकिने निष्कर्षमा केही जनप्रतिनिधि पुगेका छन् । बजेटको अभाव र अन्य कानुनी जटिलताको कारण पनि जनतासमक्ष बाचा गरिएका सबै प्रतिबद्धता पूरा गर्न
नसकिने निष्कर्ष उनीहरूको छ ।

अब योजना कार्यान्वयन हुन्छ
बैकुण्ठ न्यौपाने
व्यास नगर प्रमुख
अबको ४ वर्ष योजना कार्यान्वयनको वर्षको रूपमा हामीले लिएका छौं । निर्वाचन सम्पन्नपछिको पहिलो एक वर्षमा आन्तरिक कानुन निर्माण र योजनाहरू तर्जुमामा बढी ध्यान गएको हुँदा अब जनताले प्रत्यक्ष देख्ने गरेर विकासको काम हुनेछ । यो एक वर्षको अवधिमा पनि व्यास नगरपालिकाले धेरै काम गरिसकेको छ । विगतको नगरपरिषद् र गाउँपरिषद्ले पारित गरेको ११ सय वटा योजनामध्ये वैशाख मसान्तसम्म ९ सयभन्दा बढी योजना सम्पन्न भइसकेको र अन्य बाँकी योजना बाँकी अवधिभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । तर पनि जनताको अपेक्षा निकै ठूलो रहेको हामीले महसुस गरेका छौं । सरकारकै रूपमा स्थानीय तह रहेको हुँदा संघीय सरकारले गर्ने जस्तै काम पनि स्थानीय सरकारले गरोस् भन्ने अपेक्षा जनतामा छ । व्यास नगरपालिकाको विकासको गुरुयोजना निर्माण भइसकेको हुँदा अब सोही योजनाअनुसार धमाधम काम हुने र जनताले विकासको महसुस गर्न सक्नेछन् । व्यास नपाको विकासलाई सघाउन एकीकृत सहरी विकास योजनासमेत निर्माण भई कार्यान्वयनको क्रममा छ । नगरपालिकाले खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको र खानेपानीसँगै बजारको ढल व्यवस्थापन, फोहरमैला व्यवस्थापन, शिक्षा, स्वास्थ्य र सडकलाई पनि उच्च प्राथमिकतामा राखेको छ । जनताले व्यास नगरपालिकामा आएर गर्ने गुनासोलाई कतै न कतै सम्बोधन गरिएकै छ । कुनै पनि जनताले गुनासो गर्ने अवस्था आउन नदिनतर्फ नै हामी लागेका छौं ।

समृद्ध देवघाट बनाउँछौं
दुर्गाबहादुर थापा
देवघाट गाउँपालिका अध्यक्ष
‘हाम्रो देवघाट समृद्ध देवघाट’ मुख्य नारा बनाई गाउँपालिकाले सोही अनुसारको काम गरिरहेको छ । गाउँपालिकालाई समृद्ध बनाउन सबैभन्दा पहिलो शर्तको रूपमा रहेको सडक निर्माण कार्यलाई पहिलो वर्ष उच्च प्राथमिकतामा राखेका छौं । तनहँुको कर्णालीको रुपमा चिनिने देवघाटका कोटा, छिपछिपे र बैदीलगायत सबै वडामा सडक सञ्जाल पु¥याउन हामी सफल भएका छौं । सडक सञ्जालसँग सबै वडा र बस्ती जोडिएपछि त्यसैको माध्यमबाट जनताले आफ्नो उत्पादन बजारसम्म ल्याउन सक्ने र त्यसले जनताको आर्थिक समृद्धि हुनेछ । युवाहरूको रोजगारीको सबैभन्दा ठूलो समस्या देवघाटमा रहेको छ । गाउँगाउँमा होमस्टे सञ्चालन, कृषिमा युवालाई आकर्षण र देवघाटलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको क्षेत्रको रूपमा विकास गर्न सकेमा बेरोजगार समस्या हल हुने भएकाले देवघाट धार्मिक गुरुयोजना, कृषि गुरुयोजना र लघुउद्यम गुरुयोजना निर्माण गरिएको छ ।
देवघाटले धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन र कृषि पर्यटनमा पनि विशेष जोड दिएको छ । चुनावमा धेरै महात्वाकांक्षी योजना र प्रतिबद्धताहरु जनता समक्ष प्रस्तुत गरिएपनि त्यो सबै पूरा गर्न सम्भव नहुने रहेछ ।

उज्ज्यालो बन्दिपुर प्राथमिकतामा
पूर्णसिंह थापा
अध्यक्ष, बन्दिपुर गाउँपालिका
स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक वर्षको अवधिमा आफूले जनतासमक्ष गरेको प्रतिबद्धता सबै पूरा गर्न सकिने अनुमान मैले गरेको छु । पहिलो वर्ष बनाइएका योजनामध्ये हालसम्म ९० प्रतिशतभन्दा बढी पूरा भइसकेको र बाँकी पनि पूरा हुने क्रममा रहेकाले बाँकी अवधिमा पनि सोहीअनुसारको योजना तर्जुमा र कार्यान्वयन हुनेछ । बन्दिपुरमा पहिलो वर्ष जनताले देख्ने र अनुभव गर्न सक्ने गरी भएको प्रगतिमध्ये सडक निर्माण एउटा हो । हरेक वडा र बस्तीमा सडक सञ्जाल पुगेकोले अबको बाँकी वर्ष उक्त सडकलाई सके कालोपत्रे गर्ने नसके बाह्रै महिना सजिलोसँग जस्तोसुकै सवारीसाधन चल्न सक्ने बनाउने लक्ष्य छ । बन्दिपुर ऐतिहासिक र पर्यटकीय क्षेत्र भएको हुँदा यहाँको ऐतिहासिकतालाई जोगाएर पर्यटनको सम्भावना अझ बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको र त्यसलाई आगामी वर्ष पनि निरन्तरता दिइनेछ । बन्दिपुर गुरुयोजना निर्माण भईरहेको हुँदा उक्त गुरुयोजना निर्माण सम्पन्न पछि विकासको कामले लय समात्नेमा विश्वस्त छांै । ‘घर घरमा डाक्टर र उज्यालो बन्दिपुर’ अबको प्राथमिकता भएकोले महिनाको एक पटक प्रत्येक घरमा डाक्टर पु¥याउने उद्देश्य छ । उज्यालो बन्दिपुरको लक्ष्य आगामी असोज महिनाभित्रै पूरा हुनेछ । अहिले निर्माण गरिएका सडकलाई रिङरोडको रूपमा विकास गरेर उक्त सडकमा नगरबस सञ्चालन गर्ने उद्धेश्य पनि राखेका छौं ।

कृष्ण न्यौपाने

प्रतिक्रिया दिनुहोस्