भारतीय सांसदको ट्विट आपत्तिजनक : परराष्ट्रमन्त्री «

भारतीय सांसदको ट्विट आपत्तिजनक : परराष्ट्रमन्त्री

नेपाल सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला सत्तारुढ भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको निन्दा गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सत्तारुढ भारतीय जनता पार्टीका सांसद आजादको अभिव्यक्ति निन्दनीय र भत्र्सनायोग्य रहेको भन्दै आपत्ति जनाएका हुन् ।
सोमबार प्रतिनिधिसभामा सांसदहरुले भारतीय सांसद आजादले ‘जनकपुर भारतमा फर्काउनुपर्छ’ भनेर ट्वीट गरेकोमा आपत्ति जनाएपछि परराष्ट्रमन्त्री ज्ञवालीले सो सम्बन्धमा भारत सरकारको गम्भीर ध्यानाकर्षण गराउने जानकारीसमेत दिए । उनले नेपाल–भारत सम्बन्ध बिगार्नेगरी सांसद आजादले गलत मनसाय राखेको पनि बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीको जनकपुरमा नागरिक अभिनन्दन गर्नेक्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति पनि संविधान र कूटनीतिक मर्यादाविपरीत भएको स्वीकार गर्दै आइन्दा त्यस्तो गल्ती हुन नदिन सरकार सचेत रहेको पनि स्पष्ट पारे । उनले संघीय सरकारले परराष्ट्र सम्बन्धलाई हेर्ने काम गर्छ भन्ने हेक्का राख्न पनि मुख्यमन्त्री राउतलाई सचेत गराए ।
मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन गर्ने क्रममा ‘संविधानविरुद्ध संघर्ष गरिरहनु परेको’ सार्वजनिक अभिव्यक्ति दिएका थिए । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोही धारणाप्रति आपत्ति जनाउँदै सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए । मन्त्री ज्ञवालीले आइन्दा त्यसो हुन नदिन सरकार सचेत रहेको बताए

प्रतिक्रिया दिनुहोस्