नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सम्बन्ध पछिल्लो समय चिसिएको छ । गत असोज १७ गते पार्टी एकता गर्ने गरी चुनावी तालमेल गरेका दुई पार्टीबीच सात महिनासम्म एकता त भएको छैन नै, सम्बन्धसमेत चिसिँदो अवस्थामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी सशंकित बनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीको पेल्ने प्रवृत्तिबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल तर्सिएका छन् । “खास गरी प्रधानमन्त्रीको हेपाहा प्रवृत्तिले शंका उत्पन्न गराएको छ,” एक नेताले भने, “यसबाट अध्यक्ष पनि तर्सिनुभएको छ । कतै एकता भाँड्ने योजना अनुरुप त प्रधानमन्त्रीले त्यसो गरिरहुनुभएको छैन ?” दुई पार्टीबीच अविश्वास बढ्नुमा प्रधानमन्त्रीको कार्यशैली नै कारक रहेको माओवादी नेताहरू बताउँछन् । पार्टी एकतामा विलम्ब भइरहँदा प्रधानमन्त्रीको पलेरै अघि बढ्ने नीतिले विश्वासको वातावरण धरमराएको उनीहरूको बुझाइ छ । केही दिनअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफू र पार्टी एकताका बारेमा एमालेले प्रचारबाजी गरेको आरोप लगाएका थिए । उनले एकीकृत पार्टीको महाधिवेशनपछि आफूले अध्यक्ष खोजेको र ओलीसँग एकता प्रक्रियामा मिल्न नसकेका चार बुँदामा सहमति भएको भनेर एमाले पंक्तिले भ्रम छरेको बताएका थिए । यही बीचमा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि दाहाल थप असन्तुष्ट रहेको स्रोत बताउँछ । ओलीले मोदीलाई नागरिक अभिनन्दनका नाममा चाकडी गरेको र भारतसँग लम्पसार परेको माओवादीको ठहर छ । मोदीको भ्रमणमा ओलीले आफूहरूलाई बाइपास गरेको ठहर माओवादीले गरेको छ । मोदीको सुरक्षाका लागि भारतीय सुरक्षा फौज नेपाल ल्याइएको बारेमा माओवादी सांसदले संसद्मा प्रश्नसमेत उठाएका छन् । सोमबारको बैठकमा प्रवक्ता समेत रहेकी पम्फा भुसालले ठूलो संख्यामा भारतीय सुरक्षा कमाण्डो ल्याएर मुलुकको सुरक्षामा प्रश्न खडा गर्न खोजिएको बताएकी थिइन् । ओलीले सत्ता सझेदारसँग मोदी भ्रमणका बारेमा छलफल नगरेको र अरुण तेस्रोको शिलान्यासमा ऊर्जामन्त्री वर्षमान पुनलाई टोलीमा समावेश नगरेको प्रति माओवादी असन्तुष्ट छ । यतिमात्रै होइन, ओलीप्रति माओवादीका अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहतमा लगेकोदेखि सचिव सरुवाका असन्तुष्टि पहिलेदेखि नै थिए । यस्तै, बजेट निर्माणमा ओलीले एकलौटी गरेको आरोप पनि केही दिनपहिले माओवादी मन्त्रीले संसदीय दलको बैठकमा लगाएका थिए । दाहाल नयाँ समीकरण बनाउन लागेको आशययुक्त ट्वीट ओलीको ह्याण्डलबाट गरिएको विषयले समेत माओवादी रुष्ट बनेको बताइन्छ । यता, एमाले नेताहरू भने दाहालले महाधिवेशनपछि आफू अध्यक्ष हुने कुरामा अहिले नै सुनिश्चिता खोजेकाले समस्या थपिएको बताउँछन् । दाहालको यो कुरामा एमाले सहमत हुन नसक्ने उनीहरूको भनाइ छ । “एकतामा किन विलम्ब भइरहको छ भन्ने बारेमा बुझ्न सकिएको छैन,” एक एमाले नेताले भने, “दाहालले अहिले नै अध्यक्षको सुनिश्चितता खोजेकाले मतभेद बढाएको छ ।” यद्यपि स्रोतका अनुसार एकताका बारेमा दुई पार्टीबीच छलफल भने भइरहेको छ । तर, के विषयमा कुरा भइरहेको छ भन्ने बारेमा चाहिँ केही बताइएको छैन । ओली र दाहालबीच औपचारिक रुपमा भने केही समययता छलफल भएको छैन । दुई पार्टीबीच अविश्वास बढ्दै जाँदा एकता हुनेमै आशंका देखिएको विश्लेषण भइरहेको छ । यद्यपि नेताहरू भने एकताबाट भाग्ने ठाउँ नरहेको बताउँछन् । “एकताबाट भाग्ने छुट कसैलाई पनि छैन । अहिले देखिएको अविश्वासको खाडल पुरेर अघि बढ्नुपर्छ,” एक माओवादी नेता भन्छन्, “त्यसका लागि प्रधानमन्त्रीले कार्यशैली सुधार गर्नुपर्छ । प्रधानमन्त्रीले पेलेरै अघि जाने नीति लिइरहने हो भने उहाँ एकताको विपक्षमा भएको भनेर बुझ्नुपर्ने हुन्छ ।” ओली र दाहाल सहमति खोज्नुको साटोे एकले अर्कोलाई झुकाउने बाटोमा अघि बढेको स्रोतको दावी छ । जसका कारण गतिरोध तत्काल सुल्झने संकेत देखिँदैन । एमाले र माओवादी केन्द्रबीच वैशाख ९ मा नै पार्टी एकता गर्ने भनिए पनि अहिलेसम्म एकता हुन सकेको छैन । एकता घोषणाको नयाँ मितिसमेत तय हुन सकेको छैन ।
ओली र दाहाल सहमति खोज्नुको साटोे एकले अर्कोलाई झुकाउने बाटोमा अघि बढेको स्रोतको दाबी छ, जसका कारण गतिरोध तत्काल सुल्झने संकेत देखिँदैन । एमाले र माओवादी केन्द्रबीच वैशाख ९ मा नै पार्टी एकता गर्ने भनिए पनि अहिलेसम्म एकता हुन सकेको छैन ।