मनमोहक मालिका «

मनमोहक मालिका

म्याग्दी – प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृष्य अवलोकनको संगमस्थल म्याग्दीको मालिका धुरी पूर्वाधार, प्रचारप्रसार र पर्यटकको पखाईमा छ । मालिका गाउँपालिकाको ७ र ६ तथा रघुगंगा गाउँपालिका ६ को सिमानामा समुन्द्र सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा अवस्थित मालिकाबाट २० भन्दा बढी हिमशृङ्खला, सुर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु, पन्छाीहरूको अवलोकन गर्न सकिन्छ ।
सहज पदमार्ग, आवास, खानेपानीलगायत सुविधाको अभावका साथै प्रचारप्रसारको कमीले मालिकामा पर्यटक भित्रन नसकेको रघुगंगा गाउँपालिका ६ पाखापानीका भेषकुमार शेरपुञ्जाले बताए ।
लालीगुराँसको जंगलको बीचमा रहेको मालिकादेखि सिस्ने, गुर्जा, मानापाथी, धौलागिरी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खला, सुर्योदय, म्याग्दीका अधिकांश बस्तीहरूको अवलोकन गर्न सकिन्छ । म्याग्दीको सदरमुकाम बेनीदेखि सवारी साधनमार्फत एकै दिन र पैदलयात्रा गर्दा दुई दिनमा पुगिने मालिका क्षेत्रको जंगलमा पाईने वन्यजन्तु, पन्छी, विभिन्न प्रजातीका फूल, जडिवुटी र वन पैदावार थप आकर्षण भएको मालिका ७ बाईन्दफाँटका चन्द्र जुक्जालीले बताए ।
चण्डी पूणर््ीिमा, जेष्ठ पूर्णिमा, भाइटीका र बालाचर्तुदर्शीमा विशेष मेला लाग्ने मालिकाको पूजाआजा र दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका मन्दिरमा भाकल पूरा भएमा बोका र परेवाको बली चढाउने चलन छ । म्याग्दी, बागलुङ, पर्वत, कास्की लगायतका ठाउँबाट वर्षको चार दिन पूजाआजाका लागि आएका भक्तजनको चहलपहल हुने मालिका अन्य समय सुनसान हुन्छ ।
केही भक्तजनले मालिकामा निजी लगानीमा सत्तल निर्माण र खानेपानी सुविधाको व्यवस्था गरिदिएका छन् । २०६८ मा स्थापना भएको मालिका क्षेत्र विकास कोषले पूजा व्यवस्थापनका साथै मन्दिर, पदमार्ग र सत्तल निर्माण गरेको छ । मालिका र रघुगंगा गाउँपालिका मार्फत अन्य सरकारी निकायमा समन्वय गरेर थप पूर्वाधार निर्माणका लागि पहल गरिएको मालिका गाउँपालिका ७ का वडाध्यक्ष रेशम जुक्जालीले बताए ।

मालिका गाउँपालिकाले पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा पन्ध्र लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष श्रीप्रसाद रोकाले बताए । रघुगंगा गाउँपालिकाले बिनियोजन गरेको तीन लाख रुपैयाँमा ठाडाखानीका बासिन्दाले करिब तिन किलोमिटर पदमार्ग निर्माण गरेका छन् ।
पर्यटन मन्त्रालयले बेनी–जगन्नाथ–टोड्के–मालिका–धौलागिरि आधार शिवीर जोड्ने पदमार्ग सञ्चालन गर्ने उद्देश्य सहित ठेक्का मार्फत करोडौंका योजना सञ्चालन गरेपनि पारदर्शी, प्रभावकारी र गुणस्तरीय काम हुन नसकेको स्थानीयको गुनासो छ ।

मालिकालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न व्यवस्थित पदमार्ग, आवास सुविधाका लागि नजिकैका बस्तीमा होमस्टे, सामुदायीक लजको व्यवस्थासँगै धार्मिक महत्व र प्राकृतिक सौन्दर्यको प्रचारप्रसारमा जोड दिनुपर्ने देखिएको छ ।

म्याग्दी भ्रमण वर्ष २०७५ सुरु
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि म्याग्दी भ्रमण वर्ष २०७५ सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघले स्थानीय तह र सम्बद्ध सरकारी निकायसँगको सहकार्यमा भ्रमण वर्ष मनाउन सुरु गरेको हो ।
प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक र पौराणिक महत्वका सम्पदाको पहिचान, संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक आगमन वृद्धि गर्ने उद्देश्यले २०७५ लाई म्याग्दी भ्रमण वर्षको रुपमा मनाउन लागिएको संघका अध्यक्ष उत्तम कर्माचार्यले बताए ।
आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्लाका पर्यटकीय स्थलमा घुम्ने वातावरण बनाउन प्रचारप्रसार गर्ने र पूर्वाधार निर्माणमा सरकारी तथा निजी क्षेत्रको लगानी भित्र्याउन पहल गर्ने भ्रमण वर्षको मुख्य उद्देश्य रहेको कर्माचार्यले बताए । जिल्लामा धौलागिरी, अन्नपूर्ण चक्रिय पदमार्ग, अन्नपूर्ण धौलागिरी सामुदायिक पदमार्ग, गुरिल्ला, धौलागिरी आईसफल, धौलागिरी सेञ्चुरी, पश्चिम धौलागिरी, अन्नपूर्ण आधार शिविर, तातोपानी कुण्ड, घोडेपानी, खोप्रा, मोहोरडाँडा, टोड्के, रुईसे, संसारकै गहिरो अन्ध गल्छीलगायत दर्जनौ पर्यटकीय स्थल छन् ।
भ्रमण वर्षको बेनीमा उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले म्याग्दीलाई टे«कीङ रुटको राजधानी बनाउने घोषणा गर्दै पदमार्ग निर्माणमा प्राथमिकता दिने बताए । “धौलागिरि, अन्नपूर्ण, गुर्जा हिमालमा पर्यटक भित्र्याउन सरकारले पदमार्ग बनाउँछ,” मन्त्री अधिकारीले भने, “निजी क्षेत्रले लगानी भित्र्याउनुहोस् । समुदायले पर्यटक र लगानी आउने वातावरण बनाउनुहोस् ।” गत आर्थिक वर्ष २०७३÷७४ मा सत्तरी हजार विदेशी पर्यटकले भ्रमण गरेको म्याग्दीमा भ्रमण वर्षको अवसरमा दोब्बर पर्यटक भित्र्याउने लक्ष्य राखिएको संघका महासचिव लिलाराम गौतमले बताए ।
अन्नपूर्ण र धौलागिरी हिमालको काखमा रहेको म्याग्दीको पर्यटन विकासका लागि पदमार्ग निर्माण, होटल तथा लज, सुरक्षा र लगानीमैत्री वातावरणको आवश्यकता रहेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्