मिसनमा नेपाली हवाई सैनिक पठाउन अमेरिकी प्रस्ताव «

मिसनमा नेपाली हवाई सैनिक पठाउन अमेरिकी प्रस्ताव

अमेरिकाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा हवाई सैनिक फौज पठाउन नेपाललाई प्रस्ताव गरेको छ । त्यसका लागि आवश्यक पर्ने प्राविधिक सहायता आफैंले गर्ने अमेरिकाको प्रस्ताव छ ।
नोभेम्बर १४ देखि १६ (कात्तिक २८ र २९) सम्म क्यानडाको भ्यान्कुभरमा सम्पन्न ‘युनाइटेड नेशन्स पिसकिपिङ डिफेन्स मिनिस्टेरियल कन्फ्रेन्स’ र अन्य अनौपचारिक छलफलका क्रममा अमेरिकाले राष्ट्रसंघको माली स्थित ‘मिनुस्मा’ मिसनका लागि हवाई सैनिक पठाउन आग्रह गरेको हो ।
यसको सम्भाव्यता अध्ययन, हेलिकप्टर मर्मतसम्भार-तालिम, अन्य सहयोगको प्रकृति र आवश्यकता निक्र्योल गर्न केही महिनाभित्रै अमेरिकी सेनाको विशेष टोली काठमाडौं आउने रक्षा मन्त्रालयले जनाएको छ ।
तर, नेपाली सेनाले अमेरिकाको प्रस्ताव बमोजिम तत्काल हवाई साधनसहितको फौज शान्ति मिसनमा पठाउन नसकिने स्पष्ट पारेको छ । अमेरिका नेपाल र नेपाली सेनाको क्षमता अभिवृद्धि लगायतका क्षेत्रमा सहयोग गर्ने प्रमुख दातृ राष्ट्रकै रुपमा समेत रहेको छ ।
मालीमा सैनिक प्रहरी, स्टाफ अधिकृत र अब्जर्भर गरी १ सय ५६ नेपाली शान्ति सैनिक तैनाथ छन् । अमेरिका आफैंले भने शान्ति मिसन अन्तर्गत एसीया, अफ्रिका, मध्यपूर्वी राष्ट्र, युरोपलगायत द्वन्द्वबाट ग्रस्त क्षेत्रमा हवाई फौज पठाएको छैन ।
सन् १९५८ मा मिलिटरी अब्जर्भरको रूपमा लेवनान स्थित राष्ट्रसंघीय शान्ति मिसनबाट विश्वशान्ति स्थापनामा खटिएको नेपाली सेना त्यसयताको ५९ वर्षमा हवाई सैनिक बाहेक ४२ वटा मिसनमा भाग लिइसकेको छ ।
अहिले राष्ट्रसंघ अन्तर्गतका १३ शान्ति मिसनमा सेनाका स्टाफ अफिसर्स ५३ र अब्जर्भर ११७ सहित ४ हजार ४ सय ६५ सैनिक फौज तैनाथ छन् । सैनिक प्रवक्ता सहायक रथी नैनराज दाहालले अहिलेकै अवस्थामा हवाई सैनिक फौज राष्ट्रसंघका कुनैपनि मिसनमा पठाउन सकिने अवस्था नरहेको बताए ।
“अन्य मुलुकहरुमा जस्तो हामीसँग एयरफोर्सको व्यवस्था पनि छैन र अमेरिकाको प्रस्ताव अनुसार तत्काल शन्ति मिसनमा सैनिक हेलिकप्टर सहितका जनशक्ति पठाउने सम्भावना पनि छैन,” प्रवक्ता दाहालले भने, “आगामी दिनमा हवाई साधनस्रोतसम्पन्न भएको अवस्थामा यस विषयमा सोच्न सकिन्छ ।”
नेपालको निजी हवाई सेवा कम्पनी श्रीएयरले ग्लोवल टेन्डरबट अफगानिस्तान र बुरुन्डी स्थित शान्ति मिसनमा आफ्नो सेवा दिँदै आएको छ । रुस, इथियोपिया, बंगलादेश, इटलीलगायत मुलुकका सेना हवाई साधन सहित विभिन्न शान्ति मिसनमा खटिँदै आएका छन् ।
नेपाली सेनासँग १८ वटा साना-ठूला जहाज तथा हेलिकप्टर रहेकोमा अहिले चालू अवस्थामा भने १३ वटामात्रै छन् । केहीमहिना अघिमात्रै सेनाको एउटा जहाज दुर्घटना भइसकेको छ ।
आन्तरिक खपत र व्यवस्थापनमा पर्याप्त हवाईसाधन र जनशक्ति अपुग भइरहेका बेला राष्ट्रसंघीय मिसनमा पठाउन सम्भव नदेखिएको प्रवक्ता दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्