कर्मचारी नहुदा स्थानीय तहको कामकाज ठप्प «

कर्मचारी नहुदा स्थानीय तहको कामकाज ठप्प

बाजुराका स्थानीय तहमा कार्मचारी नहुदा दैनिक कामकाजमा समस्या भएको स्थानीयले गुनासो गरेका छन् । चार नगरपालिका र पाँच गाउँपालिकामा ६९ वटा वडा छन् । वडा सचिव हुनु टाढाकै कुरा भयो नगर र गाउँपालिकामै नै कर्मचारी छैनन् । कर्मचारी नहुदा स्थानीयको काममा समस्या भएको छ ।
बाजुराका अधिकांश वडा कार्यालय सचिवविहीन भएपछि स्थानीयवासीको कामकाज ठप्प भएको स्थानीयले गुनासो गरेका छन् । सचिव नहुदा जन्म, मृत्यु, विवाह दर्ताजस्ता काम वडामा नभएको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीले बताए । कर्मचारी अभावबारे केन्द्र र प्रदेशलाई थाहा नै छ ।
गाउँपालिकाभरि एकैजना कर्मचारीलाई जिम्मा दिँदा वडापालिकाबाट पाउनु पर्ने सेवा सुविधा नपाएको बूढीगंगा नगरपालिका–७ का स्थानीय तपेश रावलले बताए । वडासचिव नभएपछि जन्म, मृत्यु विवाह दर्ता, योजना अनुगमन र पञ्जीकरण सम्बन्धी काममा बाधा भएको बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले बताए । वडासचिव नहुदा साविकको गाविसभन्दा पनि स्थानीयलाई सेवा सुविधा टाढा भएको मेयर बडुवालले बताए । बडिमालिका नगरपालिकामा आठ र नौ वडामा महिला तथा बालबालिका कार्यालयबाट दुईजना आएकाले जिम्मा दिएको र अन्य वडालाई नगरपालिकाबाटै सेवा दिनुपर्ने बाध्यता भएको बडुवालले बताए । आफूले प्रशासनिक कर्मचारी राख्न नपाउने प्रदेश सरकार बनेको छ, केही गर्ला भन्ने आशामा रहेको बताए । आफूले राख्न पाउने प्राविधिक राखिसकेका छौं ।
बूढीगंगा नगरपालिकामा १० वडा छन् । एकजना पनि सचिव छैनन् । प्राविधिकहरूलाई काम चलाउ बनाएर राखिएको मेयर दिपकविक्रम शाहले बताए । कर्मचारीका लागि केन्द्र र प्रदेश सरकारलाई कुरा गर्दा समायोजनपछि हुने कुरा बताएको र आफू त्यसैको प्रतीक्षामा रहेको नगर प्रमुख दिपकविक्रम शाहले बताए । हाल बूढीगंगा नगरपालिका ७, ८, ९ र १० वडा कार्यालय संयुक्त रूपमा साविकको बाह्रबिस गाविसको भवनमा वडा कार्यालय स्थापना गरिएको छ । कृषि प्राविधिक दिपक थापालाई जिम्मा दिएको र अन्य बाँकी वडा नगरपालिकाबाटै सेवा दिने गरेको शाहले बताए । कर्मचारी छैनन् कुनै काम सिफारिशका लागि वडाध्यक्ष खोज्न गाउँ जानुपर्ने बाध्यता रहेको ९ नम्बर वडाका डम्बर सिंहले बताए ।
यता खप्ताड छेडेदह गाउँपालिकाका सात वडामा दुईजना नायब सुब्बाले काम गरिरहेका छन् । कर्मचारी अभावले कामको गुणस्तरमा प्रश्न चिन्ह खडा भएको गाउँपालिकाका अध्यक्ष नरबहादुर रावलले बताए ।

प्रतिक्रिया दिनुहोस्