Logo

जलजलामा फेरि केन्द्र विवाद

उत्तरी पर्वतको जलजला गाउँपालिकाको कार्यालय स्थानान्तरणको विरोधमा स्थानीय आन्दोलित बनेका छन् ।
गत वैशाख १४ गतेदेखि साविकको कार्यालयबाट स्थानान्तरण गरी गाउँपालिकाको वडा नं. ४ लामाखेतमा स्थानान्तरण गरेको विरोधमा स्थानीय आन्दोलित बनेका हुन् । उनीहरूले नागरिक संघर्ष समिति नै खडा गरी साविककै कार्यालयमा सार्न आग्रह गरेका छन् । केन्द्र स्थानान्तरण गरी लामाखेतमा सार्न राजपत्रमा प्रकाशन भएपछि स्थानीय १५ जनाले सर्वोच्च अदालतमा २०७४ फागुन २९ गते रिट हालेका थिए । उक्त रिट विचाराधीन रहेकै अवस्थामा गाउँपालिकाको कार्यालय साविक कार्यालयबाट लामाखेतमा सारिएको भन्दै वडा नं. १, २, ३, ४ र ५ का बासिन्दा आन्दोलनमा उत्रिएका हुन् । विरोधमा उत्रिएको नागरिक संघर्ष समितिले अदालतबाट फैसला नभएसम्म साविककै कार्यालयबाट सेवा प्रदान गर्न आग्रह गरेको छ । साथै सरोकारवाला पक्षसँग अविलम्ब वार्ताको पहल गर्न समेत माग गरेको छ ।
सार्वजनिक सूचना टाँस वा प्रकाशन नगरिकन अध्यक्षलगायत केही पदाधिकारीले सुटुक्क सामान सारेर लैजाँदा सेवाग्राही मर्कामा परेको संघर्ष समितिका संयोजक टेकबहादुर घर्ती क्षेत्रीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यता गाउँपालिकाको दुई तिहाइ बहुमतबाट गाउँसभाले गरेको निर्णय, संघीय सरकारको मन्त्रिपरिषद्को निर्णय र राजपत्रमा प्रकाशन भएको सूचनाअनुसार स्थायी केन्द्र लामाखेतमा वैशाख १५ गते कार्यालय स्थानान्तरण गरिएको थियो । अहिले लामाखेतमा दुईवटा घर भाडामा लिएर स्थापना गरिएको कार्यालयबाट सेवा प्रवाह हुँदै आएको छ ।
यही वैशाख ९ गते गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सहमतिमा कार्यालय स्थानान्तरण गर्ने निर्णयसमेत गरेको थियो । पहिलो गाउँसभामा दुई तिहाइ बहुमत सदस्यको समर्थनमा भएको निर्णय र गत फागुन तेस्रो साता राजपत्रमा प्रकाशित सूचनाअनुसार लामाखेतमा केन्द्र स्थापना गरिएको ८ नम्बर वडा नाग्लिवाङका अध्यक्ष हरिविकास जिसीले बताए ।
यसअघि तत्कालीन स्थानीय तहको संख्या, सिमाना र नामांकनका लागि बनेको आयोगले साविकका बाँसखर्क, माझफाँट, लेकफाँट, शालिजा, धाइरिङ, नाग्लिवाङ र बनौ गाविसलाई समेटेर बनेको जलजलाको अस्थायी केन्द्र वडा नं ३ स्थित साविक माझफाँट गाविसलाई कायम गरेको थियो । ७ नम्बर वडा मिलनचोक र ३ नम्बर मल्लाजमा केन्द्र कायम हुनुपर्ने दुई पक्षको विवाद, दबाब र आन्दोलनका बीच भएको स्थानीय तह निर्वाचनपछि गाउँसभाले बहुमतको आधारमा लामाखेत केन्द्र तोक्ने निर्णय गरेको थियो ।
यसैबीच अस्थायी केन्द्र रहेको मल्लाजका बासिन्दाले कार्यालय स्थानान्तरणमा अवरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्