परिश्रमी महिला «

परिश्रमी महिला

राप्ति गाउँपालिका– २, लालमटियाकी लोकमाया चौधरी (तामाङ) ले कहिल्यै सफल व्यवसायी बन्ने कल्पनासम्म पनि गरेकी थिइनन् । अरूको घरमा काम गर्दै आएकी उनले अहिले व्यवसाय गर्दै आएकी छिन् । आम्दानीबाट उनले जग्गा किनेर घरसमेत निर्माण गरिन् । उनी परिवारमा रमाएर बसेकी छन् । २०६६ सालमा आफ्नी दिदीको घरमा बसेर बोइलर पालनबाट व्यवसाय सुरु गरेको उनले बताइन् । सुरुमा उनले ५ हजार रुपैयाँबाट बोइलर पालन सुरु गरेकी थिइन् ।
अन्तरजातीय विवाह गरेका कारण उनलाई घरपरिवार तथा माइतीबाट समेत राम्रो व्यवहार भएन । दिदीको घरमा बसेर भए पनि उनले व्यवसाय सुरु गरिन् । बोइलर पालनबाट व्यवसाय सुरु गरेकी उनले केही रकम फाइदाबाट र केही महिला समूहबाट ऋण लिएर बोइलर पालन व्यवसाय बढाएकोे लोकमाया बताउँछिन् । बोइलर पालन व्यवसायबाट आम्दानी राम्रो हुँदै गएपछि उनले ११ कट्टा जग्गासमेत खरिद गरेको बताइन् । हाल उनले १२–१५ सय कुखुरा पालन गर्ने तीनवटा खोर निर्माण गरिसकेकी छन् भने फेस हाउस तथा किराना पसलसमेत सञ्चालन गर्दै आएको उनले बताइन । उनको ४ जनाको परिवार छ । उनको परिवारले हाल मासिक करिब ६० हजार कमाइ गर्ने गरेको लोकमायाले बताइन् । उनलाई उनका श्रीमानले समेत सघाउँदै आएका छन् भने छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउने गरेकी छन् ।
“अरूको घरमा काम गर्न जाँदा छोराछोरीलाई पढाउन सकिएला भनेर सोचको पनि थिइनँ,” लोकमायाले भनिन् । पहिले आर्थिक अभावका कारण पनि हरेक दिन झगडा हुने गरेको उनको भनाइ छ । तर अहिले उनको परिवारमा द्वन्द्वसमेत हुँदैन । पहिले ऋण माग्दा नदिनेहरू अहिले उनीसँग सापट माग्न आउने गरेका छन् ।
“म ऋण माग्दा पाउँदिनथें, तर अहिले सापट माग्न आउँदा आफूसँग रहेको दुई–चार पैसा दिएर सहयोग गर्ने गरेको छु,” लोकमायाले भनिन् । मेहनतका साथ व्यवसाय गरेमा सफल भइन्छ भन्ने आफूले व्यावहारिक रूपमा सिकेको उनले बताइन् । “मेहनतका साथ अगाडि बढे सफल भइन्छ भन्ने मैले भोगें,” उनले भनिन् । महिलाहरूले पनि अरूको मुख ताक्नुभन्दा आर्थिक आर्यआजनका लागि आफैं अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै लमही– ८ की गीता चौधरीले पनि आठ वर्ष पहिले १५ सय रुपैयाँबाट व्यवसाय सुरु गरेकी थिइन् । उनले १५ सय रुपैयाँले ३ वटा बङ्गुर किनेर व्यवसाय सुरु गरेको बताइन । पछि बङ्गुरबाट भएको आम्दानी तथा महिला समूहबाट ऋण लिएर उनले किराना व्यवसाय सुरु गरेको बताइन् । अहिले किराना पसलसँगै बङ्गुरपालन गर्दै आएको गीताले बताइन् । यसैबाट भएको आम्दानीले ८ जनाको परिवारको खर्च चलाउने तथा पढाइमा समेत खर्च गर्ने गरेको उनले बताइन् । झुपडीबाट सुरु गरेको उनको व्यापारले अहिले घरसमेत निर्माण गरिसकेको उनी बताउँछिन् । उनले गरेको व्यवसायबाट अहिले मासिक २५ हजारभन्दा बढी कमाइ हुने गरेको छ । “पहिले ऋण लिन डर लागेको थियो, तर व्यवसाय गर्दै जाँदा आत्मविश्वास बढेको छ,” गीताले भनिन । निश्चित योजना बनाएर अगाडि बढे सफल भइने उनको अनुभव छ । “आत्मविश्वासका साथ मेहनत गरेर अगाडि बढेमा सफल भइन्छ,” गीताले भनिन । मेहनतका साथ अगाडि बढ्न समेत उनको सबैसँग आग्रह छ । सानो रकमबाट सुरु गरेको व्यवसाय केही मात्रामा भए पनि सफल भएपछि अहिले उनको आत्मविश्वास समेत बढेको छ । पहिले आफूले पैसा सापटी माग्न जाँदा नदिनेहरूले अहिले आफूसित सापटी माग्न आउने गरेको गीता पनि बताउँछिन् । उनले आफूसँग भएको रकम सहयोग गर्ने गरेको बताइन् । अहिले उनीहरूजस्तै जिल्लाका धेरै महिला व्यवसायी बन्न सफल भएका छन् ।
अमरराज आचार्य

प्रतिक्रिया दिनुहोस्