जेफ बेजोस बने डलर खर्बपति

विश्वकै ठूलो खुद्रा बिक्रेता कम्पनी अमेजनका संस्थापक पहिलो डलर खर्बपति भएको ब्लूमबर्गले जनाएको छ । ब्लूमबर्गले बेजोसको सम्पत्ति पहिलो पटक १ खर्ब डलर पुगेको जनाएपनि अर्को मूल्यांकन गर्ने पत्रिका फोब्सले उनको सम्पत्ति ९९.६ अर्ब डलर पुगेको जनाएको छ ।
शुक्रबार अमेजनको सेयर मूल्यमा २.५ प्रतिशतको वृद्धि भएको थियो । यसले बेजोरलाई थप उचाइ चढ्नक लागि मद्दत गरेको छ ।
गत वर्षको तुलनामा यस वर्षको थ्याङ्सगिभिङ र ब्ल्याक फ्राइडेका दिनको किनमेल १८ प्रतिशतले वृद्धि भएको छ । शुक्रबार एक दिनको अवधिमा मात्रै बेजोसका सम्पत्तिमा २.४ अर्ब डलरको वृद्धि भएको थियो । बेजोसले अमेजनमा ९३.६ अर्ब डलर मूल्य पर्ने ७ करोड ८९ लाख सेयर लिएका छन् । यद्यपि उनको स्वामित्वमा रहेको वासिङटन पोष्ट र अन्तरिक्ष पर्यटन कम्पनी ब्लू ओरिजिनको भूमिका भने त्यती उत्साहजनक हुन सकेको छैन ।
यो वर्ष मात्रै अमेजनको सेयरमा ५८ प्रतिशतको वृद्धि भएको छ । यसले बेजोसलाई ३४ अर्ब डलर बढीको मालिक बन ाएको छ । उनको १ दिनको आम्दानी अर्थात् २.४ अर्ब डलरले मात्रै पनि उनलाई फोब्र्सको विश्वका १ हजार धनी मानिसको सूचीमा पार्नका लागि पर्याप्त भएको छ ।
बेजोस यसै वर्षको जुलाईमा विश्वकै धनी मानिस भएका थिए । उक्त समयमा उनले बिल गेट्सलाई पछि पारेका थिए । उनी फेर अक्टुबरमा गेट्स भन्दा पछि परे । माइक्रोसफ्टका संस्थापकको सम्पत्ति हाल ८९ अर्ब डलर मात्रै भएको फोब्र्स र ब्लूमबर्गले जनाएको छ ।