मनास्लु क्षेत्रका होटलमा मूल्य निर्धारण «

मनास्लु क्षेत्रका होटलमा मूल्य निर्धारण

मनास्लु पदमार्गका होटलको मेनुरेट निर्धारण गरिएको छ । होटल व्यवसायीले पर्यटकलाई खान बस्न दिएबापत जथाभावी शुल्क लिएको गुनासो बढ्न थालेसँगै एमक्यापको सक्रियतामा सिर्दीबासदेखि सामागाउँ र छेकम्पारसम्मका होटलमा खाना तथा कोठाका लागि मूल्य निर्धारण गरिएको हो ।
सिर्दीबासदेखी सामागाउँ र छेकम्पारसम्मका विभिन्न ३४ ठाउँका होटलका लागि २० प्रकारका खानाको मूल्य निर्धारण गरिएको हो । स्थानीय होटल व्यवसायीसँग छलफल गरेर पहिलो पटक मेनुरेट निर्धारण गरेको एमक्यापका प्रमुख नरेन्द्र लामाले बताए । उनले भने, “ढुवानी भाडालाई आधार मानेर हामीले खानाका परिकारको मूल्य निर्धारण गरेका छौं । जति माथि गयो, उति बढी मूल्य पर्छ ।
२ वर्षसम्म रेट बढाउन नपाउने गरी आउने अक्टोबरबाट यो मेनुरेट कार्यान्वयन गर्ने होटल व्यवसायीसँग सहमति भएको छ ।” पर्यटकले बढी खोज्ने विभिन्न २० प्रकारका खानाको मूल्य निर्धारण गरिएको हो । सुप, अण्डा, पाउरोटी, चपटी, प्यानेकक, तरकारी, चाउचाउ, म्याक्रोनी, पास्ता, मम, स्प्रिङ रोल, पिज्जालगायतका खानाका परिकारको मूल्य निर्धारण गरिएको एमक्यापले जनाएको छ । निर्धारण गरिएको शुल्कअनुसार सिर्दीबासको जगत र सल्लेरीका लागि एउटै मूल्य छ ।
त्यसपछि हरेक ट्रान्जिट पोइन्टमा खानाका परिकारका लागि थप ५ /५ रुपैयाँ बढी मूल्य छ । जसअनुसार फिलीममा चाउचाउ सुप मात्रै प्रतिकचौरा ३ सय रुपैयाँ पर्छ । यसलाई धर्मशाला तथा मुगुम्बामा ३ सय ५० रुपैयाँ तिर्नुपर्छ । सडक सुविधा नपुगेको मनास्लु क्षेत्रमा आरुघाट गाउँपालिकाको आर्खेतदेखि खच्चडले सामान ढुवानी गरेर लैजानुपर्ने भएकाले बढी महँगो भएको हो ।
आर्खेतबाट सिर्दीबासको फिलीमसम्म प्रतिकिलो ४५ र सामागाउँ र छेकम्पारसम्म प्रतिकिलो १ सय १० रुपैयाँ ढुवानी मूल्य पर्छ । अब गाउँपालिका स्तरीय पर्यटन व्यवस्थापन उपसमिति गठन गरेर सोही समितिले मेनुरेट कार्यान्वयन गराउने एमक्याप प्रमुख लामाले बताए । उनले भने, “हामी पनि अनुगमन गर्छौं ।
पर्यटन उपसमितिले पनि यो मेनुरेट कार्यान्वयन गराउँछ । यदि कसैले कार्यान्वयन नगरेको भेटेमा कारबाही गर्छौं ।” ढुवानी मूल्यका कारण खानाको मूल्य फरक परे पनि होटलमा बास बस्ने पर्यटकका लागि कोठाको मूल्य भने सबैतिर एउटै छ ।
सिंगल बेडको ४ सय, डबल बेडको ६ सय, ट्रिपल बेडको आठ सय र एटेच रुमको १ हजार निर्धारण गरिएको छ । गोरखाको चुमनुब्री गाउँपालिकाको ७ वडा सिर्दीबास, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, र सामागाउँ मनास्लु संरक्षण क्षेत्रभित्र पर्छन् । मनास्लु पदमार्ग क्षेत्रमा हाल ८१ होटलले पर्यटकलाई खाने बस्ने सुविधा दिँदै आएका एमक्यापले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्