विनियोजन विधेयकको प्राथमिकता स्पष्ट नभएको आरोप

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले पेश गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको प्राथमिकता स्पष्ट नभएको बताएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले साना आयोजनामा बजेट नछुट्याइने भनिए पनि प्राथमिकताहरू कनिका छरेजस्तो खालको भएको बताए । उनले सिद्धान्तमा विमति राख्नुपर्ने ठाउँ नभएको तर कुन क्षेत्रलाई प्राथमिकता दिएर बजेट आउँदैछ भन्ने बारेमा अनुमान गर्न नसकिएको बताए ।
सांसद् कार्कीले अर्थमन्त्री डा युवराज खतिवडामाथि आफूमात्र जान्नेसुन्ने भएको देखाउन सस्तो प्रचारबाजीमा लागेको आरोप लगाउँदै उनले मुलुकको ढुकुटी बढाउन विगतका सबैजसो अर्थमन्त्रीले भूमिका खेलेको स्मरण गराए । तर खतिवडाले त्यसलाई नजरअन्दाज गर्न खोजेको आरोप पनि उनले लगाए ।
यस्तै, नेपाली कांग्रेसका नेता प्रदीप गिरिले विप्रेषणबाट चलेको नेपालको अर्थव्यवस्था कुनै पनि दिन ध्वस्त हुने बताए । संसद् बैठकमा बजेटको विनियोजन सिद्धान्तमाथिको छलफलमा नेता गिरिले अहिलेको नेपाली अर्थव्यवस्था संवेदनशील अवस्थामा रहेको समेत टिप्पणी गरे ।
सांसद गिरिले भने, “रोजगारी दिएको देशले नाकाबन्दी गरेमा, कामदार लिन बन्द गरेमा वा रोजगार खोसिएको अवस्थामा अर्थतन्त्र कसरी सञ्चालन हुन्छ ?”
विदेशीले बनाएको सिद्धान्तकै आधारमा बजेट निर्माण हुन लागेको भन्दै सांसद गिरिले नेपालमा आफैंले सिद्धान्त निर्माण नगरी विदेशीको भर पर्ने गरिएकाले समस्या निम्तिएको उनले बताए । “बेलायतमा जन्मेका एडम स्मिथले अर्थशास्त्रको यस्तो सिद्धान्त लेखे,” उनले भने, “त्यो नेपालका लागि कामलाग्दो छ वा छैन भन्ने खोजी नै गरिएन ।” उनले नेपालको सन्दर्भमा गाउँमा लगानी गर्ने नीति लिनुपर्नेमा जोड दिए । शहर दलाल र पुँजीपतिको बसोबास हुने क्षेत्र भएकाले गाउँमा बजेट लगानी गरी श्रम गर्ने मानिसलाई सुविधा दिने नीति लिनुपर्नेमा पनि उनले जोड दिए ।
गिरिले गाउँहरू आर्थिक रुपमा मजबुत भएमा शहर पनि धानिने र अर्थतन्त्र बलियो हुने बताए । तराईको उर्वर भूमि रहेको २ नम्बर प्रदेश समेत कृषिको भरमा नचलेको गिरिको भनाइ थियो ।
अब विकासको अवधारणा परिर्वतन हुन जरुरी रहेको औंल्याउँदै उनले मुलुकको उन्नतिको एकमात्र मापदण्ड आर्थिक वृद्धिदर मात्र हुन नहुने उनले बताए । बजेटको प्राथमिकता हेर्दा उच्च आर्थिक वृद्धिदर हासिल हुने भनेर जोड दिइएको भन्दै उनले समानता ल्याउन पनि बजेट छुट्याउन अर्थमन्त्रीलाई आग्रह गरे ।
छलफलमा सहभागी सत्तारुढ नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले ठूला आयोजनाहरूलाई अगाडि बढाउने र बन्ने सुनिश्चिततासहित बजेट तर्जुमा गर्न अर्थमन्त्रीलाई आग्रह गरे ।
उनले अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको आगामी बजेटको सिद्धान्त र प्राथमिकतामा केही कुराहरू छुटेको भन्दै प्रत्यक्ष बैदेशिक लगानी (एफडिआइ) नल्याइ विकास गर्न गाह्रो भएकोले सरी ल्याइने एफडिआइ राष्ट्रिय हित र आवश्यकताका आधारमा आउनु पर्ने बताए ।
यसअघि पौडेल अर्थमन्त्री हुँदा खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए। उपाध्यक्षका रुपमा उनले पौडेलको बजेट लेखनमा सघाएका थिए । अर्थमन्त्रीमाथि थुप्रै चुनौतीहरू थपिएको बताउँदै पौडेलले कुनै पनि आयोजना निर्धारित समयमा नबनेको, प्रक्षेपित लागतमा पनि नबनेको, गुणस्तरीय पनि नभएको कारण खोजेर निराकण गर्नु पर्ने बताए ।
छलफलमा सहभागी सत्तारुढ माओवादी केन्द्रका सांसद जनार्दन शर्माले भने अर्थमन्त्री खतिवडाले पेश गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संविधानको भावनाअनुसार रहेको भन्दै प्रशंशा गरे । उनले मुलुकको आर्थिक समृद्धि नै अबको लक्ष्य भएको भन्दै त्यो लक्ष्य हासिल गर्नका लागि सबै तह र तप्कालाई क्रियाशिल गराउन तथा सरकारी योजना कार्यान्वयन गर्ने संरचनाहरूको सुधारमा बजेट केन्द्रित हुनुपर्ने बताए ।
छलफलमा राष्ट्रिय जनता पार्टी नेपालका सांसद अनिलकुमार झाले सांसद्हरूले निर्वाचन क्षेत्र विकास र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममा विगतका वर्षमा भन्दा धेरै बजेट पाउनुपर्ने बताए । उनले जनप्रतिनिधि जति जवाफदेही र पारदर्शी अरु कोही नहुने भन्दै निर्वाचन क्षेत्रमा भूगोल बढेकाले बजेटको आकार बढाइनुपर्ने बताए । सांसद्हरूले बोल्ने क्रम नसकिएकाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका लागि प्रतिनिधिसभाको बैठक सोमबार बोलाइएको छ ।