Logo

गोविन्दपुरमा नयाँ होमस्टे

बर्दिया- बर्दियाको ठाकुरबाबा नगरपालिका ५ गोविन्दपुरमा नयाँ होमस्टे सञ्चालनमा आएको छ । ग्रामीण पर्यटनलाई जोड दिएर स्थानीय कला र संस्कृतिको जगेर्ना गर्नुका साथै स्थानीयस्तरमै स्वरोजगार सृजना गर्ने उद्देश्यले बर्दिया राष्ट्रिय निकुन्ज नजिकै जैविकमार्गमा होमस्टे सञ्चालन भएको हो ।
होमस्टेमा आउने पाहुनाका लागि स्थानीय थारु परिकारका साथै लोकल कुखुरासहितको खाना, सुरक्षित बास, थारु कला संस्कृति, नमुना वन अवलोकन गराउने योजना होमस्टे सञ्चालक समितिको रहेको छ । त्यसैगरी निलगाई, चित्तल लगायतका वन्यजन्तुको अवलोकन, पोखरीमा बल्छी लगाएर माछा मार्न पाइनेलगायत आकर्षक सुविधा रहने होमस्टे सञ्चालक समितिका अध्यक्ष वीरबहादुर कुश्माले बताए ।
गाउँमा होमस्टे सञ्चालन हुनुले स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै जिल्लाको पर्यटन क्षेत्रमा समेत योगदान पुग्ने उनको भनाइ छ । होमस्टे सञ्चालनका लागि ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ का स्थानीय र तराई भूपरिधि कार्यक्रम तालले सहयोग गरेको छ । होमस्टेमा आउने पाहुनाको सत्कारका लागि थारु समुदायका विविध सांस्कृतिक कार्यक्रमसमेत गरिने होमस्टे सञ्चालक लक्ष्मी थारुले बताइन् ।
जिल्लाको पर्यटकीय क्षेत्र ठाकुराद्वारा नजिकै पर्ने सो गाउँमा हाल १२ घरले होमस्टे सञ्चालन गरेका छन् । पर्यटकको मागअनुसार थप घरमा समेत होमस्टे सञ्चालन गर्न सकिने होमस्टे सञ्चालक समितिले जनाएको छ । होमस्टेको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले आइतबार उद्घाटन गरेका थिए । बर्दियामा यसअघि जैविकमार्ग होमस्टे डल्लागाउँ, जनकनगर होमस्टे, सतखलुवा होमस्टे सञ्चालनमा छन् ।
-लक्ष्मण ढुंगाना

प्रतिक्रिया दिनुहोस्