भाजपा सांसदको अभिव्यक्तिप्रति एमालेको आपत्ति «

भाजपा सांसदको अभिव्यक्तिप्रति एमालेको आपत्ति

सत्तारुढ दल नेकपा एमालेले भारतीय जनता पार्टीका सांसद कीर्ति आजदले जनकपुरबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । एमालेको वैदेशिक मामिला विभागले आइतबार विज्ञप्ति जारी गर्दै आजदको जनकपुर भारतमा फर्काउनुपर्छ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।
एमालेले नेपाल–भारत सम्बन्ध सुधारको प्रयत्न भइरहेको अवस्थामा आजादको यस्तो अभिव्यक्ति आउनु निन्दनीय भएको बताएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेका बेला सत्तारुढ दलकै सांसदबाट नेपालका विरुद्धमा आएको उक्त अभिव्यक्ति दुई देशको सम्बन्धमा दरार ल्याउने दुराशयबाट प्रेरित भएको एमालेको ठहर छ । दुई देशबीचको मित्रवत् सम्बन्धमा खलल पुर्याउने यस्ता अभिव्यक्ति आइन्दा प्रकट नहुने व्यवस्था मिलाउन विज्ञप्तिमा सरकारको ध्यानाकर्षण गराइएको छ ।
“नेपालको अस्मिता र भौगोलिक अखण्डतामाथि प्रहार हुने गरी भारतका जिम्मेवार पदमा रहेका व्यक्तिबाट आएको उक्त उत्तेजनापूर्ण अभिव्यक्तिको नेपाल भ्रमणमा रहँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपालको अखण्डता एवम् स्वाभिमानका पक्षमा व्यक्त अभिव्यक्तिले स्वतः खण्डित भएको छ,” विदेश विभाग सचिव यादव शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मोदी नेपाल भ्रमणमा रहेकै बेला भाजपा सांसद आजादले ट्वीट गरेका गर्दै भनेका थिए, “जनकपुर सुगौली सन्धिका कारण दुई सय वर्षका लागि नेपाललाई दिइएको हो र अब प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा फर्काउनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्