सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी शिक्षा «

सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी शिक्षा

लालीगुराँस नगरपालिकाले नगरका सबै सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी माध्यमको पढाइका लागि चालू आर्थिक वर्षका लागि ३३ लाख बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ । सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी शिक्षा लागू भएसँगै अंग्रेजी माध्यमको पढाइकै लागि अभिभावकले बजार बस्नुपर्ने, बढी शुल्क तिर्नुपर्ने, न्यून आय भएकाले पढाउन नसक्ने जस्ता समस्याको समाधानका हुने बताइएको छ । नौ वटा वडा रहेको लालीगुराँस नगरपालिकामा बाल कक्षासमेत गरी ३३ वटा सामुदायिक विद्यालय सञ्चालित छन् ।
निजी विद्यालयहरुमा मात्र अंग्रेजी शिक्षा दिने गरेको मान्यतालाई तोड्दै जिल्लाको लालीगुराँस नगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी माध्यमको पठनपाठन सुरु गरेको छ । नगर क्षेत्रका सबै विद्यालयमा यसै शैक्षिक सत्रबाट एकै किसिमको पाठ्यक्रम लागू गरी अंग्रेजी माध्यमको पठनपाठन सुुरु गरिएकोे मेयर अर्जुन माबोहाङले बताए ।
“अभिभावक र विद्यार्थीको ध्यान अंग्रेजी माध्यमले खिचेको छ,” माबोहाङले भने, “सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर पनि खस्किँदै गएकाले सरकारी शिक्षालाई प्रभावकारी बनाउन अंग्रेजी माध्यमको पठनपाठन सुुरु गरिएको हो ।”
पठनपाठन सुरुसँगै नगर क्षेत्रका स्थानीयहरुले निजी विद्यालयहरुको साट्टा सामुदायिक विद्यालयमा आफ्ना नानीहरु भर्ना गर्न थालेका छन् । चर्काे शुल्क तिर्दै अंग्रेजी शिक्षाका लागि भौतारिरहेका यहाँका स्थानीयलाई नगरपालिकाको अभियानले राहत मिलेको बसन्तपुरका रवीकिरण मादेनले बताए । सामुदायिक विद्यालयमा अंग्रेजी शिक्षा सुरु भएसँगै विद्यार्थीको संख्या बढ्दो रहेको विद्यालयले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्