स्थानीय तहमा बेथिती : घुस र भाले भोजको बिगबिगी

जुम्लाको पातारासी गाउँपालिकामा संचालन गरिएका योजनाको बजेटमा स्थानीय तहका कर्मचारी र उपभोक्ता समितिले मनपरी गरेको पाइएको छ । फिल्डमा आउने प्राविधिक कर्मचारीहरुले समितिबाट सीधै रकम माग्ने र उपभोक्ता समितिले कर्मचारीपिच्छे कुखुराको भाले खुवाउने गरेका छन् ।
योजना निरीक्षण, योजना पारिएको भन्दै भन्दै उपभोक्तासँग घुस समेत मागिएको छ । गाउँपालिकाका सवओभरसियर मानबहादुर बिष्टले उपभोक्ता समितिबाट सीधै घुस मागेको खुलेको छ । उनले वडा नम्बर ६ स्थित उर्थु ग्रामिण सडक मर्मत उपभोक्ता समितिको निरीक्षण पश्चात २० हजार रुपैयाँ घुस मागेका थिए ।
गाउँपालिकाले गरेको सार्वजानिक सुनुवाईमा समिति अध्यक्ष पन्नबहादुर विष्टले घुस मागेपछ चेक काटेर दिएको बताए । “घुस मागेपछि आफ्नै हातले चेक काटेर दिएँ”, बिष्टले भने, “निरीक्षण पछि मानबहादुरले मलाई अलि खर्च दिनुस् भनेपछि आफूले यत्तिमा चित्त बुझाउनुस् भन्दै २० हजार रुपैयाँ दिएको हुँ ।”
गाउँपालिका कै कर्मचारीको यस्तो क्रियाकलाप प्रति गाउँपालिका गम्भीर भएको अध्यक्ष लछिमन बोहोराले बताए । उनले घुस लिने कर्मचारीलाई छानविन गरी कार्वाही गरिने बताए । प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले प्राविधिक बिष्ट अहिले जिल्ला बाहिर रहेकोले फर्किए लगत्तै यर्थाथ बुझेर कानुनी प्रक्रियमा जाने बताए ।
उता सुर्खेतमा रहेका बिष्टसँग सम्र्पक गर्दा उनले उपभोक्ता समितिमार्फत २० हजार रुपैयाँ बुझेको स्वीकारेका छन् ।
घुुस दिनु उनको गैरजिम्मेवारी कार्य भएको सार्वजनकि सुनुवाइका सहभागितले बताए । कर्मचारी र उपभोक्ता समितिको गलत नियत देखिएको स्थानीय दलबहादुर बुढ्थापाले बताए ।
योजनापिच्छे भाले भोज
कर्मचारी र उपभोक्ताको मिलोमतोमा योजनापिच्छे कुखुराको भाले काटेर भोज पनि गरिएको छ । वडा नम्बर ७ का गोर बहादुर रोकायले गाउँ आएका ईन्जिनियरलगायतको प्राविधिकको टोलीलाई उपभोक्ता समितिले कुखुराको भाले काटेर खुवाउनु बेइमानी काम भएको बताए । “खाने भए आफ्नै बजेटबाट खानुपर्छ,” उनले भने, “योजनाको एक पैसा पनि चलाउनु भ्रष्टचार हो, समिति नै विलासी देखिएको छ ।”
“हामी गाउँमा पुगेकै हुदैनौ, समितिले भाले तयार गरेको हुन्छ । प्राविधिकको नाम बेचेर समितिले स्थानीयलाई ठगेको छ”, इन्जिनियर जीवन कठायत भन्छन्, “हामीले भाले चाहियो भनेर कतै भनेका छैनौं । भाले खुवाएर स्वागत गर्ने भन्ने गलत प्रवृत्तिले समस्या भएको छ ।”