नगरवासीलाई निःशुल्क नक्सा «

नगरवासीलाई निःशुल्क नक्सा

भूकम्पले भत्केको घर बनाउन गोरखा नगरवासीले निःशुल्क नक्सा बनाउन पाउने भएका छन् । भारत सरकारको सहयोगमा यूएनडीपी नेपाल आवास पुनर्निर्माण परियोजना अन्तर्गत गोरखा नगरपालिकामा स्थापना गरेको सामाजिक प्राविधिक सहजीकरण नक्सा पास स्टुडियोमार्फत निःशुल्क नक्सा बनाइने भएको हो ।
गोरखा नगरपालिका कार्यालय परिसरमा स्थापना गरिएको स्टुडियोको मेयर राजनराज पन्त र यूएनडीपीका असिस्टेन्ट कन्ट्री डाइरेक्टर विजय सिंहले संयुक्त रूपमा उद्घाटन गरे । सोही स्टुडियोमार्फत घर बनाउन बाँकी भूकम्पपीडितले निःशुल्क नक्सा बनाउन सक्ने परियोजनाका जिल्ला संयोजक राम सापकोटाले बताए । उनले भने, “नक्सा पास स्टुडियोमार्फत हामी गोरखा नगरपालिकाभित्रका घर बनाउन बाँकी भूकम्पपीडितका लागि नक्सा बनाउँछौ । सरकारले भूकम्पपीडितका लागि जारी गरेको १७ प्रकारका नक्साबाहेक उहाँहरूले बनाउन चाहेको डिजाइनअनुसार मापदण्डभित्र रहेर निःशुल्क नक्सा बनाइदिन्छौं ।”
नगरपालिकाभित्र घर बनाउन बाँकी भूकम्पपीडितको एक साताभित्र तथ्यांक संकलन गर्ने उनले बताए । उनले भने, “कति घर बन्न बाँकी छ त्यसको डाटा कलेक्सन गर्दैछौ । एक सातामा रिर्पोट आउँछ । किन घर बन्न सकेन त्यसबारे पनि खोजी गरेर उहाँहरूलाई घर बनाउन समन्वय गर्ने पनि हाम्रो उद्देश्य हो ।” नक्सापास स्टुडियोमा पुनर्निर्माण सम्बन्धी सबै तथ्यांक पनि अद्यावधिक गरिने भएको छ । निर्माणाधीन घरहरूको पनि अनुगमन गरेर सरकारी निर्देशिका अनुसार घर बनाउन भूकम्प प्रभावितलाई प्राविधिक सल्लाह दिने पनि सापकोटाले बताए । उनले भने, “मापदण्डअनुसार भएन भनेर धेरै घर अनुदानका लागि पनि पास हुन सकेका छैनन् । अब ती घरलाई कसरी मापदण्डअनुसार बनाउन सकिन्छ भन्ने बारे पनि हामीले प्राविधिक सहयोग गर्छौ । प्राविधिक सहयोग हामी गर्छौ आवश्यक सामान घरधनीले जुटाउन पर्छ ।”
स्टुडियोमा पुगेका भूकम्प प्रभावितलाई बढीमा एक सातामा नक्सा तयार गर्ने परियोजना संयोजक सापकोटाले बताए । नक्सापास स्ुटडियोमा एकजना स्ट्रक्चर इन्जिनियर, २ जना आर्किटेक्चर इन्जिनियरसहित ७ जनाको टिम कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्