कर्मचारी तानातानले कम्पनी तनावमा

कर्मचारी एक कम्पनीबाट अर्को कम्पनीमा जानु सामान्य प्रक्रिया हो । स्वभावले नै मानिस आफनो वृत्तिविकास गर्न चाहन्छ । अवसर पाउनेवित्तिकै मानिस चलायमान हुन रुचाउँछ । निजी कम्पनीका लागि यस्ता घटना स्वाभाविक नै हुन् । तर, अहिले बिमा कम्पनीका कर्मचारीको ‘मुभमेन्ट’ले कम्पनीको टाउको दुखाइ भएको छ । बजारमा नयाँ कम्पनी आएसँगै कर्मचारी तानातान हुन थालेपछि पुराना कम्पनीहरू तनावमा परेका छन् ।
बिमा समितिमा बिमा व्यवसाय सञ्चालन गर्नका निवेदन दिएका कम्पनीमध्ये ६ वटा जीवन बिमा कम्पनी सञ्चालनमा आइसकेका छन् । अन्य तीनवटा जीवन र तीनवटा निर्जीवन बिमा कम्पनी भने सञ्चालनमा आउने तयारी गरिरहेका छन् । नयाँ कम्पनीहरू थपिएसँगै कर्मचारीको खोजी हुन थालेको छ । तर, बजारमा बिमा सम्बन्धी दक्ष जनशक्ति नभएपछि कर्मचारी तानातानको अवस्था सृजना भएको हो । नयाँ कम्पनीहरूले पनि अनुभवी कर्मचारी नै खोज्न थालेपछि पुराना कम्पनीका कर्मचारीको मुभमेन्ट बढ्न थालेको हो ।
कर्मचारीको मुभमेन्ट बढ्नु सामान्य भए पनि कम्पनीहरूले आवश्यताभन्दा बढी जिम्मेवारी र पारिश्रमिक दिएर अनुभवी कर्मचारीलाई आकर्षित गर्ने गरेको बिमकहरू बताउँछन् । कतिपय कम्पनीका कर्मचारी आफैले नै सामुहिक रूपमा नै कम्पनी परिवर्तन गर्ने शर्तमा पारिश्रमिक र तहको बार्गेनिङ्ग गरेको समेत कम्पनीहरू बताउँछन् ।
नयाँ कम्पनीको आगमनसँगै पुराना कम्पनीहरूले कर्मचारीसँग कडा करार गरेका छन् । निश्चित समयसम्ममा काम गर्नुपर्ने र नगरेमा जरिवानासमेत तिर्नुपर्ने शर्त राख्न थालेका छन् । यसका बाबजुद पनि कतिपय कम्पनीहरूका कर्मचारीहरूले करारमा तोकिएको समय अगावै नै कम्पनीमा राजीनामा दिएका छन् । तर, कम्पनीहरूले राजीनामा स्वीकृति नगरेपछि कम्पनी र कर्मचारीबीच विवाद बढेको छ ।
कम्पनीसँग गरिएको करार अवधि अगावै राजीनामा दिए पनि करारमा किटान गरिएको अर्को शर्तअनुसार एक महिना अगाडि नै सूचना दिएर राजीनामा दिँदा समेत कम्पनीले राजीनामा स्वीकृत नगरेको एक कम्पनीका शाखा कार्यलय प्रमुखले गुनासो गरे । “मलाई सो कम्पनीमा काम गर्ने मन नै छैन, मैले करार अनुसार एक महिना अगाडी नै सूचना पनि दिएको हो । तर, कम्पनीले मेरो राजीनामा स्वीकृत गरेको छैन,” उनले भने, “म नयाँ कम्पनीमा जान चाहन्छु । तर, राजीनामा स्वीकृत नभएकै कारण अर्को कम्पनीले समेत नियुक्ती पत्र दिइएको छैन ।” उनी भन्छन् “मैले आफनो करिअरको लागी पनि जम्प गर्नुपर्छ । सधै एउटै कम्पनीमा बसेरै मात्र पनि कहाँ हुन्छ । त्यसमा पनि मैले प्रचलित कानुनी प्रक्रिया पूरा गरेकै छु,” उनले भने ।
त्यस्तै, कम्पनीले तोके अनुसार दुई महिनाअगाडि नै सूचना दिएर जरिवाना भुक्तानी गर्दा समेत कम्पनीले राजीनामा स्वीकृत नगरिदिएको अर्को एक कम्पनीका कर्मचारीले बताए । “करार अवधिपछि कम्पनी नछोड्न हामी तपाई बाध्य पार्न सक्दैनौ । तर, तपाइँहरूको करिअर पनि बर्बाद गर्छौ भन्ने खालको व्यवस्थापकले धम्की दिएका छन्,” उनले भने । बजार विभागमा कार्यरत उनलाई कम्पनीले जबरजस्ती कागजपत्रहरूमा हस्ताक्षर गर्न लगाउने गरेकाले कम्पनीको काम प्रति सन्तुष्ट भइ कम्पनी छोड्न खोजेको उनले बताए ।
राजीनामा दिएपनि कम्पनीले स्वीकृत नगरेपछि समितिमा गुनासो लिएर जाने कर्मचारीको संख्या बढ्न थालेको छ । उपत्यकाभित्र तथा बाहिरका कर्मचारीहरूले समेत यस्तो गुनासो गर्ने गरेको समितिले बताएको छ । यस्तै केही कम्पनीका कर्मचारीले श्रम अदालतमा समेत उजुर दिएका छन् । तर, कर्मचारी नियुक्तिमा सबै कम्पनीको आफ्नै विनियमावली हुने भएकाले यस बिषयमा समितिले भने हस्तक्षेप गर्न नमिल्ने समितिले बताएको छ । कर्मचारीको मुभमेन्ट बढ्नुमा दुवै पक्षको कमजोरीको रहेको समितिको भनाइ छ । कर्मचारीलाई धान्न नसक्नु कम्पनीको कमजोरी हो भने अवसर पाए भन्दैमा करार अवधिअगावै राजीनामा दिनु कर्मचारीको बदमासी भएको समितिले बताएको छ ।
करारअनुसार राजीनामा दिए कुनै पनि समयमा आफूले कर्मचारीको राजीनामा स्वीकृत गरिदिने युनाईटेड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले बताए । “राजीनामा दिएपछि जबरजस्ती कर्मचारीलाई राख्नु कम्पनीको लागी हितकारी छैन । तर, नियम भन्दा बाहिर गएर कुनै पनि कर्मचारीको राजीनामा स्वीकृत गर्न मिल्दैन,” उनले भने ।
समितिले जारी गरेको बिमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका अनुसार कुनै पनि कम्पनीका कर्मचारीको राजीनामा स्वीकृत नभएसम्म अर्को कम्पनीमा नियुक्ती पत्र लिन पाइँदैन । सोही आधारमा राजीनामा नपाएपछि धेरै कर्मचारी अलपत्रमा परेका छन् ।
तलिम केन्द्र सञ्चालन गर्दै समिति
कम्पनी र कर्मचारीबीच बढ्दै गएको असमझदारीको प्रमुख कारण भनेकै दक्ष कर्मचारीको उपलब्धता नहुनु हो । पुरानो कर्मचारीले एकै पटक छाडिदिँदा पुराना कम्पनी समस्या पर्छन् । त्यस्तै, नयाँ कम्पनीले अधिक पारिश्रमिक भुक्तान गरेर पुराना कर्मचारी नियुक्त गर्दा कम्पनीको खर्च बढ्छ । तसर्थ एउटा तहभन्दा माथि गएर कर्मचारीको मुभमेन्ट बढ्नु बिमा क्षेत्रकै लागि घातक हो । त्यसैले यस समस्यालाई समाधान गर्न समितिले नयाँ कर्मचारीका लागी आधारभूत तालिम सञ्चालन गरेको छ । त्यस्तै, समिति र कम्पनीहरूको सहकार्य तालिम सञ्चालन केन्द्र सञ्चालनका लागी सैद्धान्तिक सहमति समेत भइसकेको छ । त्यस्तै, अधिक पारिश्रमिक दिएर कर्मचारी नियुक्त गरेको भेटेमा कारवाही समेत हुने समितिले बताएको छ । साथै करार गरिएको अवधि भन्दा अगाडि नै कम्पनी नछोड्न समितिले कर्मचारीहरूलाई निर्देशनसमेत दिइसकेको छ ।