मन्दिर नै चोरीमा ! «

मन्दिर नै चोरीमा !

नेपाल विद्युत् प्राधिकरणले झापाको गौरादहमा राजनीतिक संरक्षणको आडमा वर्षौदेखि विद्युत् चोरी गरिरहेका ४३ वटा मन्दिरको लाइन काटेको छ ।
नेपाल विद्युत् प्राधिकरणको दमक वितरण केन्द्रले हुकिङ गरी विद्युत् चुहावट गरिएका
झापा गौरादहका राधाकृष्ण मन्दिर, शिव मन्दिर, पञ्चेश्वर शिवालय मन्दिर, गुप्तेश्वर शिवालय मन्दिर, गणेश मन्दिर, सिद्धेश्वर मन्दिर, पुत्रपाञ्चायन मन्दिर, प्रणामी मन्दिर, दुर्गा मन्दिरसहित ४३ वटा मन्दिरको लाइन काटेको दमक वितरण केन्द्र प्रमुख राजीव सिंहले बताए ।
प्रहरी सुरक्षासतिह गस्तीमा गएको नेपाल विद्युत् प्राधिकरणको दमक वितरण केन्द्रको टोलीले राजनीतिक संरक्षणको आडमा वर्षौदेखि विद्युत् चोरी गरिरहेका मन्दिरको लाइन काटेको सिंहले बताए । विद्युत् चोरी गर्ने शिवसताक्षी नगरपालिकाका मन्दिरका लाइन पनि काटिने सिंहले बताए । विद्युत् चोरी गर्ने मन्दिरका पुजारी र सञ्चालकलाई मिटर राखेर विद्युत् सेवा लिन आग्रह गरिएको छ ।
मन्दिरको लाइन काटिएको बारे वितरण केन्द्रले गौरादह नगरपालिकाका प्रमुखलाई जानकारी गराएको छ । मन्दिरका सञ्चालक तथा पुजारीले प्रस्ताव गरेमा नगरपालिकाले महसुल तिरेर मिटर जडान गर्ने प्रतिबद्धता जनाएको पनि वितरण केन्द्र प्रमुख सिंहले बताए ।
यसैगरी टोलीले बैगुनधुरामा हुकिङ गरेर सञ्चालन गरिएका ५ थान सिँचाइ मोटर पनि बरामद गरेको छ । बरामद भएका मिटरबाट एक लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रको प्रणालीबाट हाल १९.५ प्रतिशत विद्युत् चुहावट भइरहेको छ । चोरी चुहावट नियन्त्रण अभियान सञ्चालन गरेर चालू आर्थिक वर्षमा १८.८४ मा झार्ने लक्ष्य रहेको केन्द्र प्रमुख सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्