१ करोड २५ लाखमा फेवाताल किनारामा फनपार्क «

१ करोड २५ लाखमा फेवाताल किनारामा फनपार्क

पोखराको फेवाताल किनारामा बालबालिकादेखि युवाहरूलाई लक्षित गरी फनपार्क सञ्चालनमा आएकोे छ । पोखराका युवाउद्यमी वसन्त लिगलसहित तीन जनाको लगानीमा फेवाताल किनारा खहरेमा पोखरा डिज्निल्यान्ड फनपार्क सञ्चालनमा आएको हो ।
पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई मनोरन्जन दिलाउने उद्देश्यले आफूहरूले उक्त फनपार्क सञ्चालनमा ल्याएको सञ्चालक मध्यका एक वसन्त लिगतले बताए । लिगलसहित टेकबहादुर कार्की र विकास लामिछानेको सहायक लगानी रहेको उक्त फनपार्क पहिलो चरणमा सञ्चालनमा ल्याउँदा मात्र करिब १ करोड २५ लाख लगानी भएको सञ्चालक लिगलले बताए ।
औपचारिक रूपमा शनिबारदेखि उक्त फनपार्क सञ्चालनमा ल्याउने तयारी भएको छ । खेलौं, खाऔं र रमाऔं नाराका साथ सञ्चालनमा आएको उक्त फनपार्क फेवाताल किनारामा भएकाले यसको छुट्टै महत्व हुने भएको लिगलको दाबी छ । प्रबेश निःशुल्क रहेको उक्त फनपार्कमा विभिन्न मनोरन्जनात्मक खेलहरू रोटे पिङ, डुंगा पिङ, चारतारा पिङ, ब्रेक डान्स, वाटर वललगायतका रहेका छन् ।
उद्घाटनको अवसरमा एक सातासम्म विभिन्न खेलमा ५० प्रतिशत छुट हुने भएको छ । न्यूनतम १० रुपैयाँदेखि १ सय रुपैयाँसम्मका खेलहरू रहेको सञ्चालक लिगलले जनाए । भाडामा लियर सञ्चालन गरिएको उक्त फनपार्क सबै उमेर समूहलाई लक्षित गरीएको सञ्चालकले जनाए । एकै पटकमा २ सय जनाको क्षेमता रहेको फनपार्कमा विभिन्न खेल खेल्नेहरूको समेत बिमा गरिएको आयोजकको दाबी छ ।
१५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त फनपार्कमा हाल ३० जनाले रोजगारी पाएका छन् । मध्याह्न १२ः०० बजे पछि बेलुका ८ः०० बजेसम्म सञ्चालन हुने उक्त फनपार्कमा आउने विभिन्न स्कुल, कलेज, संघसंस्था तथा समूहमा जान विशेष छुटको व्यवस्था गरिने भएको छ । फनपार्कमा ठेकी क्याफेसमेत सञ्चालन भएकोले पार्कमा मनोरन्जन लिएसँगै विभिन्न परिकारका खानाको समेत व्यवस्था हुने भएको लिगलले जनाए ।

प्रतिक्रिया दिनुहोस्