पर्यटकीय केन्द्रका रूपमा बाटुलेचौर र ठूलीपोखरीलाई विकास गरिँदै «

पर्यटकीय केन्द्रका रूपमा बाटुलेचौर र ठूलीपोखरीलाई विकास गरिँदै

पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बाटुलेचौर मन्दिरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने भएको छ । मर्मत संहार र प्रचार–प्रसारको अभावका कारण ओझेलमा परेको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा अवस्थित बाटुलेचौर क्षेत्रलाई विकास गर्न थालिएको हो । त्यस्तै मानव निर्मित नेपालकै सबैभन्दा ठूलो पोखरी ठूलीपोखरीलाई पनि संरक्षण गरिने भएको छ । भने कुश्मा नगरपालिका–१३ खौलालाकुरीमा अवस्थित खौलाकोटको संरक्षण र विकासका लागि विस्तृत सर्भेक्षण गरिएको छ ।
जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहरबी पौडेल, जिल्ला इन्जिनियर जगदीश शर्मा सहितको टोलीले स्थलगत अध्ययन गरी उक्त क्षेत्रको विकासका लागि बृहत् योजना निर्माण गर्ने तयारी गरेको हो ।
ठूलीपोखर, बाटुलेचौर, देवीस्थान मन्दिर र खौला कोटको विस्तृत ऐतिहासिक पृष्ठभूमि सहितको पर्यटन प्रस्ताव तयार पार्न थालिएको छ भने ठूलीपोखरिमा बाह्रै महिना पानीले भर्ने र साना साना डुंगासहित वरिपरि पार्क र मन्दिरसमेत नर्माण गरी पर्यटकीय स्थलको रूपमा विकास गर्न लागिएको स्थानीय एमाले नेता मेघनाथ सुवेदीले जानकारी दिए ।
चालू आर्थिक वर्षभित्र विस्तृत अध्ययन गर्ने र आगामी आर्थिक वर्षदेखि कुश्मा नगरपालिका, पर्यटन मन्त्रालयलगायतबाट आवश्यक बजेटको व्यवस्थापन गरेर पूर्वाधार निर्माणलगायतका कामहरू गरिने उनले जानकारी दिए ।
पर्यटकीय सम्भावना भएर पनि पूर्वाधारको कमी र प्रचार–प्रसारको अभावमा ओझेलमा परेका यी क्षेत्रको विकास गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकहरू उल्लेख्य मात्रामा वृद्धि हुने कुश्मा नगरपालिका–१२ का अध्यक्ष राजेन्द्र पौडेलले बताए । पोखरा बागलुङ सडकदेखि ७ किलोमिटर कच्ची सडकको यात्रापछि यी स्थानहरूमा पुग्न सकिन्छ ।
प्रसिद्ध बाटुलेचौरमा रहेका शिव तथा देवी मन्दिरहरू संरक्षणको अभावमा संकटमा समेत पर्न थालेका छन् । स्थानीयवासी तथा स्थानीय निकाय र प्रशासनले चासो नदिँदा पुरातात्विक महत्वका विभिन्न सामान र मूर्तिहरूसमेत हराएका छन् ।
राजा दशरथले आफ्ना भाञ्जा श्रवण कुमारको हत्या गरेको पाप मोचन गर्न बाटुलेचौरमा आएर यज्ञ गरेको र सोही समयदेखि सो स्थानमा पूजा आजा तथा मन्दिरहरूको निर्माण गरिएको स्थानीयवासीहरूको भनाइ छ । भृगु ऋषिको तपस्या स्थलसमेत मानिने सो ठाउँमा रहेका विभिन्न सम्पदाहरूको समेत संरक्षण नहुँदा चोरी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्